Wednesday 14th of October | २०८३ असोज २८ बुधबार

न्यूज अभियान
हरेक खबर विशेष खबर

रेशमी मार्गको विरासत धानेको च्याङ्ग्रा व्यापार

न्यूजअभियान | प्रकाशित मिति : २०८३ असोज २८ बुधबार | रासस
newsabhiyan

सन्तोष गौतम 
मुस्ताङ, २८ असोजः प्राचीन रेशमी मार्गसँग जोडिएको मुस्ताङको च्याङ्ग्रा व्यापारले पुस्र्तौंदेखि निरन्तरता पाउँदै आएको छ । कुनै बेला हिमालपारिको व्यापारमा ऊन र नुनको कारोबार गर्ने मार्गको विरासत दसैँंका बेला हिमाली च्याङ्ग्रा बजार झार्ने परम्पराले धानेको छ । 

    मुस्ताङको घरपझोङ गाउँपालिका–५ ठिनीका च्याङग्रा व्यापारी निरज थकालीले प्राचीन रेशमी मार्ग, मुस्ताङी च्याङ्ग्रा र पोखरा क्षेत्रको दसँैको हजाराँ वर्ष पुरानो सम्बन्ध रहेको बताउनुभयो । 

    “रेशमी मार्गमा नुन र ऊनको व्यापार इतिहास बने पनि दसैँमा मुस्ताङी च्याङ्ग्रा बेच्न बजार झर्ने चलनले रेशमी मार्गको विरासत धानेको छ,” उहाँले भन्नुभयो, “मुक्तिनाथ आएका तीर्थयात्रीको माध्यमबाट मुस्ताङी च्याङ्ग्राको मासुको स्वाद देशभर फैलिएको इतिहास छ ।”

    मुस्ताङका लेकाली खर्कबाट सुरु भएको च्याङ्ग्राको यात्रा म्याग्दी, पर्वत, बागलुङ, चितवन, काठमाडौँ, पोखरा, बुटवल, स्याङ्जा, नुवाकोटलगायत देशका ठूला सहरसम्म फैलिएको छ । 

    विगतमा वस्तु र संस्कृतिको आदानप्रदान हुने यस भेगमा आज पनि च्याङ्ग्राको व्यापारले हिमाल र सहरबीचको सम्बन्धलाई जीवन्त राखेको नेपाल पशु चौपाया व्यापार सेवा सङ्घका संस्थापक अध्यक्ष ज्ञानकुमार श्रेष्ठले बताउनुभयो । 

    “ऊन र नुनको पुरानो व्यापार हराउँदै गए पनि दसैँमा मुस्ताङी च्याङ्ग्रा बजार झार्ने परम्पराले भने निरन्तरता पाएको छ,” उहाँले भन्नुभयो, “यही परम्पराले हिमाली जीवनशैली, स्थानीय अर्थतन्त्र र पोखराको दसैँलाई पनि एउटै धागोमा उनेको छ ।”

    हिमाली भेडाच्याङ्ग्राको बथान बजार झर्न थालेपछि सर्वसाधारणलाई दसैँ भित्रिएको महसुस गराउँछ । लोमान्थाङ गाउँपालिका–१ छोसेरका आङग्याल गुरुङ यस वर्ष दसैँका लागि ७०० च्याङ्ग्रा बिक्री गर्न बजार झर्नुभएको छ । “पुर्खाले गर्दै आएको च्याङ्ग्रा व्यापारको पेसालाई निरन्तरता दिएको छु,” उहाँले भन्नुभयो, “च्याङ्ग्रा पालेका किसानबाट खरिद गर्ने र आफ्नै गोठमा पालेका च्याङ्ग्रा बेच्न दसँैको समयमा बजार झर्ने हाम्रो पुरानो चलन हो ।”

    उपल्लो मुस्ताङका किसानका लागि च्याङ्ग्रा पालन परम्परागत पेसा र आम्दानीको प्रमुख आधार हो । वारागुङ मुक्तिक्षेत्र गाउँपालिका–१ तेताङका पेम्बा गुरुङले विगत ३० वर्षदेखि च्याङ्ग्राको व्यापार गर्दै आउनुभएको छ । किसानबाट च्याङ्ग्रा खरिद गरेर दसैँका बेला बजारमा बिक्री गर्ने उहाँको व्यवसाय पुस्र्तौंदेखि चलिआएको छ ।

    नेपाल पशु चौपाया व्यापार सेवा सङ्घका संस्थापक अध्यक्ष श्रेष्ठ पनि छ दशकदेखि च्याङ्ग्राको व्यापारमा आबद्ध हुनुहुन्छ । बुबाले सुरु गरेको व्यवसायलाई निरन्तरता दिँदै आउनुभएका उहाँले यस वर्ष काठमाडौँ पठाउन एक हजार च्याङ्ग्रा मुस्ताङबाट सात दिन हिँडाएर म्याग्दीको रघुगङ्गा गाउँपालिका–२ बैसरीमा ल्याउनुभएको छ । उहाँले यस व्यवसायबाट १६ जनालाई मौसमी रोजगारी दिनुभएको छ । 

    श्रेष्ठका अनुसार यस वर्ष काठमाडौँका लागि तीन हजार च्याङ्ग्रा लैजाने तयारी गरिएको छ । चीनसँगको कोरला नाका बन्द रहेकाले यसपालि बजारमा आउने च्याङग्रा स्वदेशकै हुन् । एक महिनाअघि नै बुकीमा पुगेर नाम्ग्याल, छोसेर, यारा र घारालगायत क्षेत्रबाट च्याङ्ग्रा सङ्कलन गरिएको हो । 

    हाल बजारमा च्याङ्ग्राको मूल्य प्रतिगोटा रु ४० हजार देखि रु ५० हजारसम्म पर्छ । श्रेष्ठका अनुसार विगतमा प्रतिकिलो रु एक हजार ३५० देखि रु एक हजार ४०० सम्ममा च्याङ्ग्राको मासु बिक्री हुने गरेको थियो ।

    हिमाली बुकीमा पाइने जडीबुटी खाएर हुर्किने भएकाले च्याङ्ग्राको मासु पौष्टिक हुने मालिका गाउँपालिका–६ दरवाङका श्रीदत्त गौतमले बताउनुभयो । पाँच वर्षसम्म पालिएका च्याङ्ग्राको मासु स्वादिलो हुने व्यापारीको भनाइ छ । च्याङ्ग्राको शरीरबाट निस्कने भुवा पस्मिनाको कच्चापदार्थका रूपमा पनि प्रयोग हुन्छ ।

    उता च्याङ्ग्रापालन गर्ने किसानको सङ्ख्या भने घट्दै गएको छ । छोसेरमा पहिले २५ वटा च्याङ्ग्राका गोठ रहेकामा अहिले पाँचवटा मात्रै बाँकी रहेको किसान पनि रहेका च्याङ्ग्रा व्यापारी आङग्याल गुरुङले बताउनुभयो । हिउँचितुवाबाट च्याङ्ग्रा जोगाउनुपर्ने चुनौती, हिउँदमा चरन र आहाराको अभाव, गोठाला नपाइनु तथा युवा वैदेशिक रोजगारीमा जाने क्रम बढ्नुले परम्परागत व्यवसाय सङ्कटमा परेको स्थानीय बताउँछन् ।

    कृषि तथा पशु विकास कार्यालय मुस्ताङका अनुसार यस वर्ष जिल्लाबाट १३ हजार ८१७ भेडा च्याङ्ग्रा निकासी भएका छन् । कार्यालय प्रमुख लालमणि अर्यालले ११ हजार ७०० च्याङ्ग्रा र दुई हजार २१५ भेडाको स्वास्थ्य परीक्षण गरी निकासीका लागि अनुमति दिइएको बताउनुभयो । कार्यालयले स्वास्थ्य परीक्षणपछि स्वस्थ भेडाच्याङ्ग्रा मात्र निकासी हुने व्यवस्था मिलाएको छ । गत वर्ष मुस्ताङबाट १८ हजार भेडाच्याङ्ग्रा निकासी भएका थिए ।

    मुस्ताङका वारागुङ मुक्तिक्षेत्र, घरपझोङ, लोघेकर दामोदरकुण्ड र लोमान्थाङ गाउँपालिकामा करिब ५० हजार च्याङ्ग्रा पालिएका छन् । उपल्लो मुस्ताङका किसानको मुख्य आयस्रोतका रूपमा रहेको च्याङ्ग्रापालनले स्थानीय अर्थतन्त्रसँगै पुस्तौँदेखिको परम्परालाई धानेको छ ।

    यस वर्षको बाढीपहिरोले सडकमा क्षति पु¥याउँदा च्याङ्ग्रा बजार ल्याउन व्यापारीलाई कठिन भएको छ । च्याङ्ग्रा खरिद गर्न जाँदा सहज रहेको सडक फर्किने बेलासम्म बिग्रिएपछि कतिपय ठाउँमा जोखिमपूर्ण यात्रा गर्नुपरेको व्यापारीहरुले बताएका छन् । 

    बेनी–जोमसोम सडकका म्याग्दी खण्ड बाढी पहिरोले छियाछिया भएकाले च्याङ्ग्रा ओसारपसार चुनौतीपूर्ण बनेको छ । सडक छिटो सञ्चालनमा आएकाले ठूलो राहत मिलेको व्यवसायीले बताएका छन् । 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

न्यूज अभियान डट कमको एन्ड्रोइड एपका लागि यहाँ क्लिक गर्नुहोस् । हरेक खबर विशेष खबरका लागि अफिसियल फेसबुक र ट्वीटर मार्फत जोडिनुहोस् ।


न्यूज अभियान TV - ग्यालेरी

View All
newsabhiyan
newsabhiyan
newsabhiyan
newsabhiyan
newsabhiyan
newsabhiyan
newsabhiyan
newsabhiyan
newsabhiyan
newsabhiyan