Monday 12th of October | २०८३ असोज २६ सोमबार

न्यूज अभियान
हरेक खबर विशेष खबर

बालेन सरकारकविरुद्ध जति चिच्याए पनि सरकार कानमा तेल हालेर बसेको छ

न्यूजअभियान | प्रकाशित मिति : २०८३ असोज २६ सोमबार | राजन कार्की
newsabhiyan

काठमाडौं । स्थानीय निर्वाचनको ६ महिना अघि देखि नै रास्वपालाई निर्वाचन लागिसकेको छ । कुनै पनि कमजोरी नराखी उमेदवारहरुको छनौट गरेर चुनावमा जाने तैयारी रास्वपाको छ ।

रास्वपास्रोतका अनुसार जसरी संसदको निर्वाचनमा दुईतिहाइ जनादेश प्राप्त भयो, त्यसैगरी स्थानीय निर्वाचनलाई स्वीप गरेर प्रतिपक्षीलाई बढार्ने तयारी रास्वपाले गरिरहेको छ ।

हुन पनि गत फागुन २१ को निर्वाचनमा प्रतिपक्षी र स्थापित ठूला दलहरु कांग्रेस, एमाले, नेकपा लगायतका दलहरुले ऐया पनि भन्न भ्याएनन् ।

उनीहरुले कल्पनै नगरेको तरिकाले नतिजा आयो, जनताले पुराना र स्थापित दलहरुलाई नकारिदिए । देशै रास्वपामय भयो । जसको कारण प्रतिपक्षीहरु संसद, सडक र सामाजिक सञ्जालमा रास्वपा र बालेन सरकारका विरुद्ध जति चिच्याए पनि सरकारले कानमा तेल हालेर बसेको छ ।

आलोचना गर्ने दलहरु थाकेका छन् । प्रम बालेन साहले बोल्दै नबोली काम गरिरहेका छन् । जनताले खोजेको नतिजा हो र बालेन सरकार नतिजा दिने गरी काम गरिरहेको बताउँछ । यद्यपि जनताको अपेक्षाअनुसार काम गर्न सरकारले सकेको देखिदैन ।

जनताको विश्वास प्राप्त भएको र सरकार भ्रष्टाचारबाट अलग रहेकाले पनि हुनसक्छ, रास्वपा स्थानीय चुनावका लागि हौसिएको छ । रास्वपा पालिका, प्रदेश र राष्ट्रिय सभामा शुन्य छ भने सरकारहरुमा एक्लै छ, संघमा एक्लैको दुई तिहाई मत छ ।

एक्लै ५ वर्ष चलाउने कि ७६१ सरकारमै रास्वपाको दबदबा कायम गरेर परिवर्तित राजनीतिक परिदृश्यको मूलधार बन्ने ? रास्वपाले निर्णय गर्ने समय यही हो । निर्णय गरेर नै रास्वपा चुनावमा होमिने होमवर्क गरिरहेको देखिन्छ ।

फागुन चैत अर्थात् ६ महिनापछि स्थानीय चुनाव छ । स्थानीय चुनाव भनेको सबैतिर प्रभाव पार्ने चुनाव हो । जसरी जनताले विश्वास गरेर संघीय निर्वाचनमा जनताले मतपत्र खन्याइदिए, रास्वपाले राजनीतिक शक्तिहरुसँग संवाद, सहमति र सहकार्य गरेर अघि बढ्ने नीति लियो भने सबैतिर एकछत्र रजगज गर्न सक्ने वातावरण बन्नसक्छ । स्थानीय निर्वाचनमा रास्वपाले संसदमा जसरी जनताको मत पाउन सक्ने वातावरण कायमै छ ।

बालेन सरकारको अवधि ६ महिना भएको छ । ६ महिना नै प्रम बालेन सार्वजनिक नहुने, संसद पनि नजाने र कम बोल्ने गरेका छन् । आफ्ना कुराहरु सामाजिक सञ्जालमार्फत व्यक्त गर्दै चुपचाप काम गर्दै आएका प्रम बालेन नेपालको इतिहासमै रहस्यमय खालका प्रम देखिन्छन् ।

यता रास्वपा सभापति रवि लामिछानेलाई रास्वपा र सरकार विरुद्धका प्रतिपक्षीले हानेका तीरहरु पन्छाउँदै फुर्सद छैन । तथापि रास्वपा एक छ र एक हुन्जेल बालेन सरकार दह्रो भइरहनेछ । हुन पनि कांग्रेसको अधिवेशनमा सभापति रवि लामिछानेले भनिदिएका छन्, आजै सरकार ढल्छ, भोलि नै सरकार ढल्छ, दशै तिहारपछि सरकार ढल्छ ।

ढल्छ भन्नेहरु बेहोस भएर ढल्नेछन्, सरकार ढल्दैन । एकपल्ट फेरि विपक्षीहरुको मुखमा बुजो कोचिदिएका छन्, रवि लामिछानेले । प्रम बालेन र रविको सुरुकै सम्झौता थियो कि बालेनले सरकार चलाउने, रविले पार्टी । अहिलेसम्म यो सम्झौता कायमै छ । प्रतिपक्षीहरु सभापति रविलाई उक्साएर फाटो ल्याउने अनेक प्रयत्न गरिरहेका छन्, सकेका छैनन् ।

अब स्थानीय चुनाव घोषणा हुनमात्र बाँकी छ । सर्वोच्चले संसदबाट मात्र होइन, राष्ट्रिय सभाबाट पनि दुई तिहाइले पास गरेमात्र संविधान संशोधन हुनसक्छ भनेको छ । यसकारण पनि रास्वपाले स्थानीय निर्वाचन जित्न जरुरी छ ।

जसको प्रभाव राष्ट्रिय सभा र प्रदेशमा समेत पर्नेछ, अन्य स्थानीय निकायमा रास्वपाको उपस्थितिले सरकार दर्विलो हुनसक्छ । रास्वपाले पाएको जनसमर्थनको असली परीक्षा स्थानीय निर्वाचन हो ।
संसदमा दुई तिहाइ सिट जितेको छ रास्वपाले ।

सरकार रास्वपाले चलाएको छ । राष्ट्रिय सभामा समेत एकसिट रास्वपाको छैन । यद्यपि रिक्त दुई सिटमा राष्ट्रपतिबाट रास्वपाले हात पार्न सक्छ । पहिले चुनावमै जाने र जनादेश लिने नीति रास्वपाभित्र देखिन्छ । हो, राजनीति गर्नकै लागि बालेन र रवि एक भएका हुन् ।

जनताले बुढा पुराना दलका नेताको अनुहार नै नहेर्ने निधो भनेकै गत फागुन २१ को निर्वाचन परिणाम हो । तथापि स्थापित कांग्रेसका सभापति देउवा, एमालेका अध्यक्ष ओली र नेकपाका अध्यक्ष प्रचण्ड नेतृत्व पुस्तान्तरण र हस्तान्तरण गर्न तैयार छैनन् ।

रास्वपाले बुद्धि पु¥याएर खासगरी राजतन्त्र र हिन्दुराष्ट्रवादीहरुसँग संवाद, सहमति र सहकार्य गरेर चुनावमा गयो भने जस्तो चुनाव परिणाम गत फागुनमा देखिएको थियो, त्यस्तै आश्चर्यपूर्ण नतिजा देख्न पाइनेछ । रास्वपाले यो बाटो लिन्छ लिदैनन्, विदेशी प्रभाव र दबाबको पनि असरबाट प्रभावित हुनसक्नेछ ।

हलचल देखिन्छ, रास्वपाले स्थानीय चुनाव लड्न उमेदवारको छनौट प्रकृया सुरु गरिसकेको छ । पुरै तयारीका साथ चुनाव जाने रास्वपाको निर्णयले पालिका र राष्ट्रिय सभामा समेत प्रभाव पार्नसक्छ ।

पुराना दलहरु पनि कम्मर कसेर स्थानीय निर्वाचनमा आफ्नै होल्ड कायम राख्न अग्रसर भएका छन् । चुनावकै लागि दशैतिहार पछि सडक तताउने आन्दोलनको कुरा गरिरहेका छन् ।

अब हेर्नुछ, स्थानीय निर्वाचनमा पुराना दलहरुले आप्mनो बर्चस्व र संगठन कायम राख्न सक्नेछन् कि रास्वपाले यिनलाई बढार्ने हो ? हुन पनि पुराना बुढो नेतृत्व ५ वर्ष कुर्नसक्ने मनस्थितिमा देखिदैनन् ।

उनीहरु छिटोभन्दा छिटो रास्वपालाई कमजोर पारेर सत्तामा उक्लन चाहन्छन् । तर त्यो सम्भाबना कम छ भन्छन्, विश्लेषकहरु । बालेनको युवा नीतिका सामु पुराना दलहरु नतमस्तक छन् भनिदैछ ।

सांसदजस्तै, स्थानीय निर्वाचनमा रास्वपाले जित्न सकेन भने रास्वपा केन्द्रमा मात्र एक्लो बृहस्पतिका रुपमा रहनेछ । फेरि पुरान दलहरु बलवती बन्नेछन् । रास्वपा संघीय सरकारमा मात्र कायम रहने कि आफ्नो राजनीतिक प्रभाव बिस्तार गर्ने सक्ने हो ? यो यक्ष प्रश्न हो ।

रास्वपाको परीक्षा यही स्थानीय निर्वाचनले गर्नेछ । रास्वपाप्रति जनताले देखाएको ऐतिहासिक विश्वास अहिलेसम्म स्खलित नभएको राजनीतिक विश्लेषण छ ।

यही विश्लेषणको आधारलाई रास्वपाले एकतावद्ध भएर कायम राख्न सक्यो भने रास्वपाले स्थानीय निर्वाचनमात्र होइन, राष्ट्रियसभासम्म प्रभाविलो प्रतिनिधित्व कायम राख्न सक्नेछ ।

सम्भवतः यहीकारण गर्दा पनि पुराना र स्थापित तर संसदको चुनावमा जनताबाट बढारिएका दलहरु स्थानीय निर्वाचनमा रास्वपालाई हराउनका लागि एक भएर अघि बढ्ने तयारी गरिरहेका छन् ।

सायद स्थानीय चुनाव जित्नका लागि समेत बालेन सरकार पुराना भ्रष्टाचारका फाइलहरु खोल्दै आफूविरुद्धका साजिसहरु उखेल्न थालेका संकेतहरु सार्वजनिक भइरहेका छन् ।

चोलेन्द्र र दीपक भट्ट यसैका उदाहरण हुनसक्छन् । बालेन सरकारले जघन्य राजनीतिक अपराध, शासन प्रशासनबाट भएका राष्ट्रिय स्तरका भ्रष्टाचार काण्डहरुमा रास्वपा सरकारले अनुसन्धान र कारवाही अघि बढायो भने निर्वाचनमा प्रत्यक्ष प्रभाव पर्नजानेछ ।

रास्वपाले ठूला ठूला काण्डमा ठूला ठूला नेताहरुलाई र स्थानीय स्तरका भ्रष्टाचारमा कारवाही सुरु ग¥यो भन जनताले रास्वपालाई साथ दिनेछन् । भ्रष्टाचारीमाथि कारवाही र सुशासनको सुरुआत, विकास, शान्ति र पुननिर्माण जनताको अपेक्षा रहेको छ ।

अबको चुनाव रास्वपाले पुराना भ्रष्ट छाप परेको कांग्रेस, एमाले र नेकपासँग लड्नुपर्ने छ । रास्वपा राजनीतिको मुलधारका रुपमा स्थापित हुने हो भने रास्वपाले गर्नैपर्ने काम भनेको एकतामा हालिएको भाँजोलाई असफल पार्दै बालेन सरकारलाई जतिसक्यो उति दह्रिलो बनाउनु पर्नेछ ।

रास्वपा र बालेन सरकारले यो सुशासनको वर्षमै भ्रष्टाचारलाई शून्य सहनशीलताका साथ काम कारवाहीको पद्धति बसाल्नुपर्नेछ र हिजोका भ्रष्टाचारका सबै फाइल खोलेर भ्रष्ट र षडयन्त्रकारीहरुलाई पाता कस्ने कानुनी वातावरण बनाउनु पर्ने छ ।

हो, न्यायालयमा समेत हुनेगरेका कुनै पनि प्रकारका भ्रष्टाचारको छानबिन हुनसक्ने कानुन निर्माण आजको पहिलो सर्त हो । न्यायाधीशहरुले कानुनलाई खेलौना बनाएका अनेक घटनाक्रम सार्वजनिक भइरहेकै छन् ।

बरिष्ठ अधिवक्ताहरुले समेत हामी घूस ख्वाउँछौं, न्यायाधीशहरु घूस खान्छन् भनेर सार्वजनिक बक्तव्य दिने गरेकाले जो कसैको सम्पत्ति छानबिन हुने र फैसलाहरुको निर्मम तरिकाले अनुगमन र छानबिन हुनुपर्ने जरुरी पनि देखिएको छ ।

त्यसपछि देशमा विद्यमान, बाढीपीडित, सहकारी पीडित, मिटरव्याज पीडित, लघुवित्त पीडित, सुकुम्वासी, भूमिहीन अनेक समस्याहरुलाई बालेन सरकारले तीब्र गतिमा न्याय दिने व्यवस्था गर्नुछ । सरकार यिनै कामको कसीमा घोटिदैछ ।

सरकार सफल पार्न र स्थानीय चुनावमा बर्चस्व स्थापित गर्न रास्वपा र बालेन सरकारले राजशक्तिसहितका राजनीतिक शक्तिहरुसँग संवाद, सहमति र सहकार्य गरेर अघि बढ्न सके त्यो लक्ष्य दुरुह र दुर्गम छैन भन्ने निष्कर्ष निकाल्न सकिन्छ । किनकि जनतामा रास्वपा र बालेन सरकारसँग अझै धेरै आशा र अपेक्षा कायमै रहेको छ । अभियानका साथमा ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

न्यूज अभियान डट कमको एन्ड्रोइड एपका लागि यहाँ क्लिक गर्नुहोस् । हरेक खबर विशेष खबरका लागि अफिसियल फेसबुक र ट्वीटर मार्फत जोडिनुहोस् ।


न्यूज अभियान TV - ग्यालेरी

View All
newsabhiyan
newsabhiyan
newsabhiyan
newsabhiyan
newsabhiyan
newsabhiyan
newsabhiyan
newsabhiyan
newsabhiyan
newsabhiyan