Thursday 8th of October | २०८३ असोज २२ बिहीबार

न्यूज अभियान
हरेक खबर विशेष खबर

मधेसमा विद्युत् चुहावट घट्दै, दुई महिनामा २० करोडभन्दा बढी बक्यौता असुली

न्यूजअभियान | प्रकाशित मिति : २०८३ असोज २२ बिहीबार |

जनकपुरधाम, २२ असोजः पछिल्ला केही वर्षयता मधेस प्रदेशमा विद्युत् चुहावट निरन्तर घट्दै गएको छ । 

    विद्युत् चुहावट नियन्त्रण अभियान, हुकिङ नियन्त्रण, ग्राहकको बिलिङमा सुधार, लामो समयदेखि बन्द रहेका मिटर परिवर्तन तथा विद्युत् रिडिङमा सुधारलगायतका कारण चुहावट घट्दै गएको नेपाल विद्युत् प्राधिकरण मधेस प्रदेश प्रादेशिक कार्यालयले जनाएको छ ।

    सो कार्यालयका अनुसार चालु आर्थिक वर्ष २०८३÷८४ को पहिलो दुई महिनामा गत आव २०८२÷८३ को सोही अवधिको तुलनामा विद्युत् चुहावट १ दशमलव ६१ प्रतिशतले घटेको छ । 

    गत आवको साउन र भदौमा २२ दशमलव ५६ प्रतिशत विद्युत् चुहावट भएकामा चालु आवको सोही अवधिमा २० दशमलव ९५ प्रतिशतमा झरेको हो ।

    चालु आवको साउनमा २० दशमलव ०९ प्रतिशत र भदौमा २१ दशमलव ७६ प्रतिशत विद्युत् चुहावट भएको कार्यालयले जनाएको छ । गत आवको साउनमा २५ दशमलव ६७ प्रतिशत र भदौमा २३ दशमलव ५२ प्रतिशत चुहावट भएको थियो ।

    सबैभन्दा कम बाराको सिमरा वितरण केन्द्रमा २ दशमलव ९४ प्रतिशत चुहावट भएको छ भने सबैभन्दा बढी रौतहटको मौलापुर वितरण केन्द्रमा ४७ दशमलव ७७ प्रतिशत विद्युत् चुहावट भएको प्राधिकरण मधेस प्रदेश प्रादेशिक कार्यालय जनकपुरधामका प्रमुख इञ्जिनियर शम्भु कुसियैतले जानकारी दिनुभयो ।

    प्रमुख कुसियैतका अनुसार विद्युत् चुहावटका दृष्टिले रौतहटको मौलापुर र गौर क्षेत्र तथा सर्लाहीको मलङ्गवालगायत क्षेत्रमा समस्या बढी देखिएको छ । औद्योगिक ग्राहकको सङ्ख्या धेरै रहेकाले बाराको सिमरा वितरण केन्द्रमा भने विद्युत् चुहावट तुलनात्मक रूपमा कम रहेको उहाँले बताउनुभयो ।

    चालु आवको पहिलो दुई महिनामा विद्युत् महसुल नतिर्ने आठ हजार ७८२ ग्राहकको लाइन काटिएको छ । लाइन काटिएकामध्ये आठ हजार २३४ ग्राहकले पुनःविद्युत् जडान गराएका छन् । उहाँहरूबाट रु २० करोड नौ लाख ७७ हजार बक्यौता असुल भएको प्राधिकरणले जनाएको छ ।

    मिटर लिएर विद्युत् उपभोग गर्ने तर लामो समयसम्म महसुल नतिर्ने प्रवृत्ति बढेकाले लाइन काट्ने अभियान सञ्चालन गरिएको प्रमुख कुसियैतले बताउनुभयो । गत आवमा ४२ हजार ६६४ ग्राहकको लाइन काट्दा रु एक अर्ब ४७ लाख बक्यौता असुल भएको थियो ।

    मधेस प्रदेशमा ५९ प्रतिशत औद्योगिक र ३१ प्रतिशत घरेलु ग्राहक रहेको प्राधिकरणले जनाएको छ । मधेस प्रदेशका ९९ दशमलव ९९ प्रतिशत घरधुरीमा विद्युत् सेवा पुगेको र बाँकी क्षेत्रमासमेत निरन्तर विद्युत् जडानको काम भइरहेको प्रमुख कुसियैतले बताउनुभयो । मधेस प्रदेशका जिल्लामा करिब १० प्रतिशत सिँचाइको विद्युतीकरण भएको जनाएको छ ।

रासस

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

न्यूज अभियान डट कमको एन्ड्रोइड एपका लागि यहाँ क्लिक गर्नुहोस् । हरेक खबर विशेष खबरका लागि अफिसियल फेसबुक र ट्वीटर मार्फत जोडिनुहोस् ।


न्यूज अभियान TV - ग्यालेरी

View All
newsabhiyan
newsabhiyan
newsabhiyan
newsabhiyan
newsabhiyan
newsabhiyan
newsabhiyan
newsabhiyan
newsabhiyan
newsabhiyan