कार्यकर्ताको सम्मान र पार्टीभित्रको लोकतन्त्र
काठमाडौं । राजनीतिक दलको इतिहासमा असंख्य कार्यकर्ताको योगदानको कदर नहुँदा पार्टीको आन्तरिक लोकतन्त्र कमजोर बन्दछ । कार्यकर्ताको सम्मान संस्थागत अधिकार, निष्पक्ष अवसर र नेतृत्वको आत्मीय व्यवहारमा निर्भर रहन्छ ।
योगदानको मूल्यांकन, अवसरको बाँडफाँट र नेतृत्व चयनमा निष्पक्षता कायम भएमा मात्र पार्टीभित्रको लोकतन्त्र सुदृढ हुन्छ । राजनीतिक दलको इतिहासमा केही नाम ठूला अक्षरमा लेखिन्छन् । तर, त्यो इतिहास टिकाउने असंख्य मानिसको नाम कतै लेखिएको हुँदैन।
उनीहरूले बैठकका लागि आफ्नो घर खोलेका हुन्छन्, अप्ठ्यारो समयमा साथीको परिवार सम्हालेका हुन्छन्, निर्वाचनको पराजयपछि पनि गाउँमा पार्टीको पक्षमा उभिएका हुन्छन्। नेतृत्वको अनुपस्थितिमा संगठनको उपस्थिति जोगाउने तिनै मानिस हुन् ।
राजनीतिक दलको नैतिक जग उनीहरूको विश्वास र निरन्तरतामा अडिएको हुन्छ । त्यस्तो कार्यकर्ता आफ्नै पार्टीको कार्यालयमा पुग्दा कसरी सम्बोधित हुन्छ ? उसको कुरा कसले सुन्छ ? निर्णयमा उसको अनुभवको कति मूल्य हुन्छ ?
फरक धारणा राखेपछि पनि उसले उही सम्मान र अवसर पाउँछ कि पाउँदैन? राजनीतिक दलको आन्तरिक लोकतन्त्रको वास्तविक अवस्था यिनै सामान्य प्रश्नको उत्तरमा भेटिन्छ । नेपाली कांग्रेसको १५औँ महाधिवेशनले यो विषयलाई आफ्नो बहसको केन्द्रमा राख्नुपर्छ।
कांग्रेसको भविष्य संगठनको आकारसँगै त्यस संगठनभित्र मानिसले अनुभव गर्ने मर्यादामा निर्भर छ। कार्यकर्ताले पार्टी आफ्नो पनि हो भन्ने अनुभूति गर्न सके मात्र संगठनमा अपनत्व रहन्छ ।
नाम सदस्यता अभिलेखमा हुने तर आवाज निर्णयसम्म नपुग्ने अवस्था लम्बियो भने सक्रियताको आवरणभित्र उदासीनता जम्न थाल्छ । कार्यकर्ताको सम्मान उसले नेताबाट पाउने आत्मीयतासँगै संस्थाभित्र पाउने अधिकारमा सुरक्षित हुनुपर्छ । नेतृत्वको आत्मीय व्यवहारको आफ्नै महत्त्व छ ।
दुःखमा सम्झनु, बिरामी हुँदा सोधखोज गर्नु र वर्षौँको योगदान चिन्नु राजनीतिक सम्बन्धका मानवीय पक्ष हुन्। यस्ता सम्बन्धले संगठनलाई जीवन्त बनाउँछन्। तर कार्यकर्ताको सम्पूर्ण राजनीतिक भविष्य व्यक्तिगत सम्बन्धमा निर्भर रह्यो भने सम्मान अस्थिर हुन्छ ।
नेता फेरिँदा अवसर फेरिने, समूह बदलिँदा योगदानको मूल्य घट्ने र प्रश्न उठाउँदा निकटता समाप्त हुने अवस्थाबाट संस्थागत सुरक्षा चाहिन्छ । यहीँ सम्मान र आन्तरिक लोकतन्त्र एकअर्कासँग जोडिन्छन् ।
कार्यकर्ताले सदस्यता पाउने स्पष्ट प्रक्रिया, अधिवेशनमा भाग लिने निष्पक्ष अवसर, निर्णयबारे जानकारी र अन्याय भएको अनुभूति हुँदा सुनुवाइ खोज्ने भरपर्दो बाटो पाउनुपर्छ । यी व्यवस्था व्यक्तिगत सदाशयताबाट प्राप्त हुने सुविधा ठानिनु हुँदैन ।
लोकतान्त्रिक संस्थाको सदस्य हुनुको अर्थ यस्ता अधिकारको प्रयोग गर्न पाउनु हो । कांग्रेसजस्तो लामो राजनीतिक यात्राबाट आएको दलमा योगदानका स्वरूप अनेक छन्। कसैले प्रतिकूल समयमा संगठन जोगाएको छ । कसैले बौद्धिक श्रम दिएको छ ।
कसैले सामाजिक सेवाबाट विश्वास कमाएको छ। कसैले सार्वजनिक पदमा बसेर राम्रो काम गरेको छ । योगदानको मूल्यांकन गर्दा पदमा पुगेकाको अभिलेख देखिने र चुपचाप काम गर्नेको श्रम हराउने अवस्था आउन सक्छ। संस्थाले आफ्नो स्मृति फराकिलो बनाउनुपर्छ ।
इतिहासमा स्थान पाउन पहुँच आवश्यक पर्ने संस्कारले निष्ठाको मूल्य घटाउँछ । तथापि योगदानको सम्मान र भविष्यको जिम्मेवारी एउटै निर्णय होइनन्। लामो सेवा आदरको आधार हो। नयाँ जिम्मेवारी दिँदा त्यससँग सम्बन्धित क्षमता, कामको तयारी, सार्वजनिक विश्वसनीयता र उत्तरदायित्व पनि हेर्नुपर्छ।
वर्षौँको योगदानलाई बिर्सनु अन्याय हुन्छ। योगदानकै आधारमा अनिश्चितकालसम्म पदको अधिकार स्थापित गर्नुले नयाँ अवसरको ढोका साँघुरो बनाउँछ। परिपक्व संस्थाले अनुभवको सम्मान र जिम्मेवारीको आवधिक नवीकरणबिच न्यायपूर्ण सम्बन्ध बनाउँछ ।
त्यसका लागि योगदानको अभिलेख राख्ने, प्रशिक्षणमा अवसर दिने, अनुभव हस्तान्तरण गर्ने र जिम्मेवारीका स्पष्ट मापदण्ड बनाउने अभ्यास उपयोगी हुन्छ । अग्रजलाई सम्झने ठाउँ सम्मान समारोहमा सीमित हुनु आवश्यक छैन ।
उनीहरूको अनुभव संगठनको अध्ययन, विवाद समाधान र नयाँ नेतृत्वको मार्गदर्शनमा उपयोग हुन सक्छ। नयाँ पुस्ताको प्रवेश पनि पुरानो पुस्ताको अपमानमा आधारित हुनु पर्दैन । जिम्मेवारी बाँड्ने निष्पक्ष प्रक्रियाले पुस्ताबिचको आशंकालाई सहकार्यमा बदल्न सक्छ ।
आन्तरिक लोकतन्त्रबारे चर्चा गर्दा निर्वाचनलाई स्वाभाविक रूपमा महत्त्व दिइन्छ । नेतृत्व चयनको निष्पक्ष निर्वाचन अनिवार्य छ। तर दुई अधिवेशनबिच सदस्यको भूमिका के रहन्छ भन्ने प्रश्न पनि उत्तिकै महत्त्वपूर्ण हुन्छ ।
चुनावको दिन मत दिने अधिकार भएको कार्यकर्ताले त्यसपछि वर्षौँसम्म निर्णयबारे जानकारी नपाउने अवस्था लोकतान्त्रिक सहभागिताको अपूरो रूप हो । निर्वाचन सकिएपछि मतभेद समाप्त हुन्छन् भन्ने अपेक्षा अव्यावहारिक हो। लोकतान्त्रिक एकताको आधार सबैले एउटै विचार राख्नुमा हुँदैन ।
फरक मतका बाबजुद साझा नियम मान्न सक्नुमा हुन्छ । बैठकको कार्यसूची कसरी तय हुन्छ, सुझाव कसरी संकलन गरिन्छ, निर्णयको कारण कसरी खुलाइन्छ र कार्यान्वयनको समीक्षा कहाँ हुन्छ भन्ने विषयले दैनिक लोकतन्त्र निर्माण गर्छन् ।
सदस्यले आफ्नो प्रस्ताव स्वीकृत नभए पनि त्यसको सुनुवाइ भएको र उत्तर पाएको अनुभव गर्न सक्छ। सबै मत स्वीकार गर्न सम्भव हुँदैन। हरेक मतलाई मर्यादापूर्वक व्यवहार गर्न भने सम्भव हुन्छ । लोकतान्त्रिक संगठनमा पराजित मतको पनि सम्मान बाँकी रहन्छ ।
महाधिवेशनमा प्रतिस्पर्धा हुन्छ। कसैले जित्छ, कसैले हार्छ । निर्वाचित नेतृत्वले निर्णय गर्ने वैध अधिकार प्राप्त गर्छ। त्यससँगै उसले समर्थन नगरेका सदस्यको पनि नेतृत्व गर्नुपर्ने जिम्मेवारी ग्रहण गर्छ ।
जितेको समूहका साथीलाई अवसर दिने र फरक पक्षका मानिसलाई क्रमशः बाहिर पार्ने अभ्यासले निर्वाचनलाई साझा संस्थाको नवीकरणबाट समूहगत नियन्त्रणको प्रक्रियातिर लैजान सक्छ । निर्वाचन सकिएपछि मतभेद समाप्त हुन्छन् भन्ने अपेक्षा अव्यावहारिक हो।
लोकतान्त्रिक एकताको आधार सबैले एउटै विचार राख्नुमा हुँदैन। फरक मतका बाबजुद साझा नियम मान्न सक्नुमा हुन्छ । बहुमतले निर्णय गर्न पाउनुपर्छ। अल्पमतले आफ्नो धारणा राख्न, अभिलेखित गर्न र वैधानिक प्रक्रियाबाट पुनर्विचार माग्न पाउनुपर्छ ।
नेतृत्वको जिम्मेवारी यी दुई अधिकारबिच सन्तुलन कायम गर्नु हो । यस सन्तुलनका लागि अनुशासनको अर्थ पनि स्पष्ट हुनुपर्छ । दलले सामूहिक निर्णय कार्यान्वयन गर्न अनुशासन खोज्छ ।
संगठन सञ्चालनमा त्यसको आवश्यकता छ। तर नेतृत्वप्रतिको असहमति र संस्थाविरुद्धको आचरण एउटै ठानियो भने अनुशासनको प्रयोग असुविधाजनक आवाज रोक्न हुन सक्छ।
कुन व्यवहार अनुशासनको विषय हो, जाँच कसले गर्छ र सम्बन्धित व्यक्तिले आफ्नो पक्ष कहाँ राख्छ भन्ने पूर्वनिर्धारित हुनुपर्छ । त्यसैगरी, आलोचना गर्ने अधिकारले तथ्यहीन आरोप, व्यक्तिगत अपमान वा सहकर्मीको चरित्रहत्या गर्ने छुट दिँदैन।
आन्तरिक लोकतन्त्रमा बोल्ने अधिकारसँग सत्य र मर्यादाप्रतिको जिम्मेवारी जोडिएको हुन्छ। आलोचना सुन्ने नेतृत्व र जिम्मेवार आलोचना गर्ने सदस्य दुवै आवश्यक छन्। नियम व्यक्तिको निकटता हेरेर लागू हुन थाल्यो भने अनुशासनमाथिको विश्वास कमजोर हुन्छ ।
गुटको प्रश्नलाई पनि यथार्थवादी ढंगले बुझ्नुपर्छ । ठुलो दलमा विचार, अनुभव, क्षेत्रीय सम्बन्ध र नेतृत्वप्रतिको विश्वासका आधारमा समूह बन्न सक्छन्। मतभेदको उपस्थितिलाई नै रोग मान्नु लोकतान्त्रिक विविधतालाई नबुझ्नु हो।
समस्या त्यतिबेला गहिरिन्छ, जब समूहले सदस्यको स्वतन्त्र विवेक नियन्त्रण गर्छ र अवसर प्राप्त गर्ने अनिवार्य ढोका बन्छ । कुनै कार्यकर्ताले आफूले योग्य ठानेको व्यक्तिलाई समर्थन गर्दा अर्को समूहमा गएको आरोप सहनुपर्छ भने स्वतन्त्र निर्णयको ठाउँ साँघुरिन्छ ।
विषयअनुसार फरक धारणा राख्न नपाउने अवस्था आयो भने नीति बहस कमजोर हुन्छ । संस्था सक्षम हुँदा सदस्यले विचारका आधारमा सहकार्य गर्न सक्छ । संस्था कमजोर हुँदा व्यक्तिगत संरक्षण खोज्न बाध्य हुन्छ। गुटबन्दीको सुधार त्यसैले नैतिक उपदेशसँगै निष्पक्ष प्रक्रियाको निर्माणबाट हुनुपर्छ।
पार्टीलाई नयाँ मानिसका लागि खुला राख्ने जिम्मेवारी पनि यहीँ छ । वर्षौँ योगदान गरेका कार्यकर्ताको चिन्ता जायज हुन सक्छ– नयाँ प्रवेश गर्ने व्यक्तिले पुरानो श्रमको मूल्य नबुझी अवसर पाउने हो कि भन्ने । यसको सबैभन्दा संवेदनशील क्षेत्र सदस्यता हो। सदस्यताले संगठनमा प्रवेश र प्रतिनिधित्वको आधार दिन्छ ।
त्यस प्रक्रियामा ढिलाइ, अस्पष्टता वा छनोटपूर्ण व्यवहार भयो भने त्यसको असर अधिवेशनको विश्वसनीयतासम्म पुग्छ । सदस्यता वितरण नवीकरणका मापदण्ड स्पष्ट, समयबद्ध र सबैलाई समान रूपमा लागू हुने हुनुपर्छ। विवाद उठ्दा सम्बन्धित पक्षले प्रमाण प्रस्तुत गर्न र निर्णयको कारण थाहा पाउन सक्नुपर्छ ।
पार्टीलाई नयाँ मानिसका लागि खुला राख्ने जिम्मेवारी पनि यहीँ छ। वर्षौँ योगदान गरेका कार्यकर्ताको चिन्ता जायज हुन सक्छ–नयाँ प्रवेश गर्ने व्यक्तिले पुरानो श्रमको मूल्य नबुझी अवसर पाउने हो कि भन्ने। अर्कोतिर, नयाँ सदस्यले आफ्नो क्षमता र प्रतिबद्धता देखाउन सधैँ कसैको संरक्षण खोज्नुपर्ने अवस्था पनि उचित हुँदैन।
पुरानो योगदानको उचित मूल्यांकन र नयाँ क्षमताको निष्पक्ष परीक्षण गर्ने संस्थागत बाटो चाहिन्छ । प्रतिनिधित्वमा देखिने समानता र सहभागितामा अनुभव हुने समानता पनि फरक हुन सक्छन्।
बैठकमा उपस्थित महिला सदस्यले बोल्ने वातावरण पाएकी छन् कि छैनन् ? आर्थिक रूपमा कमजोर कार्यकर्ताले निरन्तर यात्रा र संगठनात्मक खर्च धान्न सक्छन् कि सक्दैनन ? अपाड्डता भएका सदस्यका लागि कार्यक्रमस्थल पहुँचयोग्य छ कि छैन?
भाषा वा औपचारिक शिक्षाको सीमितताले स्थानीय ज्ञान भएको व्यक्तिको आवाज कमजोर बनाएको छ कि छैन ? यी प्रश्नलाई अतिरिक्त सुविधा मागिएको अर्थमा बुझ्न मिल्दैन। सहभागिताको वास्तविक लागत फरक हुन्छ। त्यो भिन्नता नहेरी सबैका लागि ढोका खुला छ भन्नु पर्याप्त हुँदैन।
बैठकको समय, सूचना दिने तरिका, प्रशिक्षणको पहुँच र बोल्ने अवसरमा ध्यान दिँदा संस्थाभित्रको लोकतन्त्र दैनिक अभ्यासमा विस्तार हुन्छ । कार्यकर्ताको आर्थिक अवस्थाबारे पनि संवेदनशील बहस आवश्यक छ।
राजनीतिमा समय दिने सबैसँग उस्तै स्रोत हुँदैन। निरन्तर खर्च गर्न सक्ने मानिस मात्र दृश्यमा आउने र जीविकाका लागि काम गर्नुपर्ने व्यक्ति पछि पर्ने अवस्था आए प्रतिनिधित्वको आधार साँघुरिन्छ । स्याङ्जा बुलेटिनका साथमा ।
