Monday 12th of October | २०८३ असोज २६ सोमबार

न्यूज अभियान
हरेक खबर विशेष खबर

१५औं महाधिवेशनद्वारा कांग्रेसको नेतृत्व गगनको काँधमा

न्यूजअभियान | प्रकाशित मिति : २०८३ असोज २६ सोमबार |
newsabhiyan

काठमाडौं, २६ असोज । देशकै पुरानो र लोकतान्त्रिक पार्टी नेपाली कांग्रेसले अप्ठ्याराहरू पार गर्दै ऐतिहासिक रूपमा १५औं महाधिवेशन सम्पन्न गरेको छ।

काठमाडौको खुलामञ्चमा १८ गते भव्य रूपमा उद्घाटन भएको महाधिवेशनअन्तर्गत शुक्रबार बिहान सभापतिमा गगन थापा निर्वाचित भएसँगै नेपाली कांग्रेसको नेतृत्व युवापुस्तामा रूपान्तरण भएको छ ।

१० वर्षपछि खुलामञ्चमा राजनीतिक कार्यक्रम गरेको कांग्रेसले मञ्चदेखि बन्दसत्र हुने हलहरू पनि अत्याधुनिक प्रविधि प्रयोग गरेर डिजिटल कांग्रेसको रूपमा आफूलाई परिभाषित गर्न सफल भएको छ ।

हिमाल, पहाड र तराई मधेश हल नामाकरण गरेर बनाएको हलमा नेताहरूले डिजिटल माध्यमबाट सबैतिर एकसाथ सम्बोधन गरेका थिए। अत्याधुनिक प्रविधि प्रयोग गरेकै कारण काठमाडौं उपत्यकामा असिनापानी पर्दा पनि बन्दसत्रका प्रक्रिया जारी नै रहेका थिए ।

गत वर्षको भदौ २३-२४ को जेनजी विद्रोहपछि बदलिएको राजनीतिक परिस्थतिमा जोखिम मोल्दै तत्कालीन महामन्त्रीद्वय गगनकुमार थापा र विश्वप्रकाश शर्माले विशेष महाधिवेशनमार्फत नेतृत्व लिएका थिए ।

सोही नेतृत्वलाई १५औँ महाधिवेशनका प्रतिनिधिहरूले अनुमोदन गरेका छन् । सभापतिमा थापा निर्वाचित हुँदा वरिष्ठ उपसभापतिमा शर्मा र महिला उपाध्यक्षमा पुष्पा भुसाल निर्विरोध भए ।

सभापति र दुई उपसभापति पदको परिणाम सार्वजनिक भइसके पनि पदाधिकारी र केन्द्रीय सदस्यको मत गणना जारी छ । कांग्रेसको १५औं महाधिवेशनबाट सभापतिमा गगनकुमार थापा कुल खसेको मतका आधारमा ९३.८८ प्रतिशत मत प्राप्त गरेर निर्वाचित भए।

पार्टीभित्र नेतृत्व परिवर्तन र संगठनात्मक सुधारको एजेन्डा बोकेका थापा विशेष महाधिवेशनमार्फत सभापति भए पनि १५औं महाधिवेशनबाट औपचारिक रूपमा नेपाली कांग्रेसको सभापति बन्न सफल भएको र सबैलाई मिलाएर लैजाने अठोट व्यक्त गरेका छन् ।

शनिबार बिहान सार्वजनिक मतपरिणामअनुसार सभापतिमा विजयी थापाले ६ हजार ५८४ मत पाउँदा प्रतिस्पर्धी श्यामकृष्ण खड्गीले ३७५ मत मात्र ल्याएका छन् ।

थापालाई पार्टीभित्र सर्वसम्मत हुन नदिनकै लागि कसैको इसारामा राजनीतिमा नचिनिएका खड्गी उम्मेदवार बनेका थिए । तर, थापाले ९३ प्रतिशत बढी मत पाएर बदलिंदो जनअपेक्षाअनुसार आफूलाई रूपान्तरण गर्दै अगाडि बढेको नेपालको सबैभन्दा पुरानो लोकतान्त्रिक दल नेपाली कांग्रेसलाई हाँक्ने जिम्मेवारी अब थापाको काँधमा आएको छ ।

लामो समयदेखि परम्परागत नेतृत्व, गुटगत प्रतिस्पर्धा र सत्ताकेन्द्रित राजनीतिका कारण आलोचित हुँदै आएको कांग्रेसका लागि गगनको नेतृत्व नयाँ परीक्षा र अवसर दुवै भएको राजनीतिक विश्लेषकहरूको भनाइ छ ।

थापाले पार्टीभित्रको गुटबन्दी अन्त्य गर्दै योग्य र सक्षम युवालाई अवसर दिन, संगठनलाई जनतासँग जोड्न तथा नीतिगत बहसलाई प्राथमिकता दिँदै कांग्रेसप्रतिको भरोसा पुनः बलियो बन्न सक्ने विश्लेषकहरूको टिप्पणी छ ।

उनीहरूका अनुसार राजनीतिक स्पष्टता, युवापुस्तालाई राजनीतिमा जोड्ने नीति र परिवर्तनको पक्षमा उठाउँदै आएका आवाजले थापा भरोसायोग्य नेताका रूपमा देखिएका छन् । विद्यार्थी राजनीतिबाट स्थापित थापा नेपालको सबैभन्दा पुरानो पार्टीको नेतृत्वमा पुग्न सफल भएका छन् ।

सक्रिय राजनीतिमा लागेको ३५ वर्षमा थुप्रै राजनीतिक आरोह-अवरोह खेपेका थापाले पार्टीका निवर्तमान सभापति शेरबहादुर देउवालगायत पुराना केही नेताहरूका विभिन्न बाधा र व्यवधानहरूलाई तोड्दै आयोजना गरिएको १५औं महाधिवेशनबाट सभापति पदमा सानदार जित हासिल गरे।

नेवि संघ हुँदै नेपाली कांग्रेसको केन्द्रीय राजनीतिमा उदाएका नेपाली राजनीतिको प्रभावशाली युवा नेता थापा १५ औं महाधिवेशनबाट सभापतिमा निर्वाचित भएपछि कांग्रेस नेता तथा कार्यकर्ताहरू उत्साहित देखिएका छन् ।

लामो समयदेखि नेतृत्व परिवर्तन, पुस्तान्तरण र पार्टी रूपान्तरणको बहस चलिरहेको कांग्रेसमा विशेष महाधिवेशनमार्फत थापा मूल नेतृत्वमा आएपछि पार्टीभित्र नयाँ आशा जगाएको थियो ।

कांग्रेसभित्र पुरानो नेतृत्वको शैलीप्रति बढेको असन्तुष्टि, पुस्तान्तरणको चाहना र पार्टीलाई नयाँ दिशामा लैजानुपर्ने दबाबका बीच सम्पन्न विशेष महाधिवेशनको आठ महिनापछि भव्य रूपमा भएको १५औं महाधिवेशनबाट निर्वाचित सभापति थापासामु संगठनात्मक सुधार, आन्तरिक एकता र जनविश्वास पुनःस्थापनाको गम्भीर जिम्मेवारी पनि थपिएको कांग्रेस नेताहरूले बताएका छन् ।

यसअघि सभापति थापाले परम्परागत शैलीभन्दा बाहिर निस्केर निर्वाचन, संगठन, सुशासन र आर्थिक समुन्नतिलाई केन्द्रमा राख्दै १५औं महाधिवेशनमा पेस गरेको भावी राजनीतिक मार्गचित्रसहितको राजनीतिक प्रतिवेदन पारित भएको छ ।

थापाले पार्टीको भविष्यलाई केवल चुनावी प्रतिस्पर्धामा सीमित नराखी विचार, नीति र सामाजिक मुद्दासँग जोड्ने प्रतिवेदनमा उल्लेख गरैका छन्। प्रतिवेदनले संगठनात्मक पुनर्संरचना, युवाको सहभागिता, सरकारमाथि निगरानी र निर्वाचनपूर्व गठबन्धन नगर्ने नीतिजस्ता विषय समेटेको छ ।

 'राष्ट्रिय पुनर्जागरण र समुन्नति'लाई मूल आधार बनाउँदै प्रतिवेदनमा थापाले विगतका कमजोरी स्वीकार गर्ने, नागरिकसँगको दूरी घटाउने र परिणामका आधारमा नेतृत्वको मूल्यांकन गर्ने प्रणाली उल्लेख गरेका छन् ।

प्रतिवेदनमा कांग्रेसको विगतको समीक्षा गर्दै पछिल्लो समय सत्ता, पद, गुट र पहुँच केन्द्रित राजनीतिका कारण जनतासँग दूरी बढेको स्वीकार गर्दै अब पार्टीलाई नयाँ राजनीतिक संस्कार र कार्यशैलीसहित अघि बढाउने खबर देशान्तरमा उल्लेख छ ।

निर्वाचनपछिको भूमिकामा कांग्रेसलाई प्रभावकारी प्रमुख प्रतिपक्षका रूपमा स्थापित गर्ने प्रस्ताव गर्दै सरकारका कामको तथ्यमा आधारित निगरानी, भ्रष्टाचार र अधिकार हननविरुद्ध खबरदारी तथा वैकल्पिक नीति प्रस्तुत गर्न संघीय र प्रदेश तहमा 'छाया सरकार'को अवधारणा अघि सारिएको छ ।

आगामी निर्वाचनमा पूर्वनिर्वाचन गठबन्धन नगर्ने र कांग्रेस आफ्नै चुनाव चिह्न, उम्मेदवार तथा एजेन्डासहित जनतामाझ जाने उल्लेख गर्दै उम्मेदवार छनोटमा गुट, पहुँच र आर्थिक प्रभावभन्दा योग्यता, योगदान र कार्यसम्पादनलाई आधार बनाउने तथा प्राथमिक निर्वाचन, जनमतसंग्रह वा पार्टी सदस्यको प्रत्यक्ष मतदानजस्ता विधि अपनाउने जनाइएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

न्यूज अभियान डट कमको एन्ड्रोइड एपका लागि यहाँ क्लिक गर्नुहोस् । हरेक खबर विशेष खबरका लागि अफिसियल फेसबुक र ट्वीटर मार्फत जोडिनुहोस् ।


न्यूज अभियान TV - ग्यालेरी

View All
newsabhiyan
newsabhiyan
newsabhiyan
newsabhiyan
newsabhiyan
newsabhiyan
newsabhiyan
newsabhiyan
newsabhiyan
newsabhiyan