Friday 16th of October | २०८३ असोज ३० शुक्रबार

न्यूज अभियान
हरेक खबर विशेष खबर

चितवन राष्ट्रिय निकुञ्जमा इ-टिकटिङ सुरु

न्यूजअभियान | प्रकाशित मिति : २०८३ असोज ३० शुक्रबार | रासस

 नारायणगढ (चितवन), ३० असोजः चितवन राष्ट्रिय निकुञ्जले पर्यटकका लागि अनलाइनबाटै प्रवेश टिकट काट्न सकिने इ-टिकटिङ (विद्युतीय टिकट) प्रणाली सुरु गरेको छ । यससँगै निकुञ्ज घुम्न जाने पर्यटकले घरबाटै टिकट काटेर प्रवेश प्रक्रिया पूरा गर्न सक्नेछन् ।

    पहिलो चरणमा सौराहा क्षेत्रबाट अनलाइन टिकट काट्ने व्यवस्था मिलाइएको छ । यसको परीक्षणको नतिजाका आधारमा निकुञ्ज प्रवेशका अन्य नाकामा समेत सेवा विस्तार गरिने जनाइएको छ । यसअघि टिकट लिन पर्यटक तथा पर्यटन व्यवसायी भौतिक रूपमा उपस्थित भएर नगद बुझाउनुपर्ने बाध्यता थियो । अनलाइन सेवाले टिकट काट्न लाग्ने समय र झन्झट कम गर्ने अपेक्षा गरिएको छ ।

    बिहीबार चितवन क्षेत्र नं १ का सांसद तथा राज्य व्यवस्था तथा सुशासन समितिका सभापति हरि ढकाल र निकुञ्जका वरिष्ठ संरक्षण अधिकृत डिलबहादुर पुर्जा पुनले इ–टिकटिङ प्रणालीको उद्घाटन गर्नुभएको हो । निकुञ्जका वरिष्ठ संरक्षण अधिकृत पुनले इ-टिकटिङ सुरु गर्न प्रशासनले लामो समयदेखि प्रयास गर्दै आएको बताउनुभयो । शिवपुरी राष्ट्रिय निकुञ्जमा इ–टिकटिङ सुरु भएपछि चितवनमा पनि यसको आवश्यकता थप महसुस गरिएको उहाँको भनाइ छ ।

    उहाँले भन्नुभयो, “चितवन राष्ट्रिय निकुञ्जको ७० देखि ७५ प्रतिशत राजस्व सौराहा क्षेत्रबाट सङ्कलन हुने र त्यही अनुपातमा पर्यटक पनि यस क्षेत्रबाट निकुञ्जभित्र प्रवेश गर्ने भएकाले यहाँ इ-टिकटिङ अति आवश्यक देखिएको हो ।” उहाँले नयाँ प्रणालीबाट पर्यटकले घरबाटै टिकट काटेर प्रवेश प्रक्रिया पूरा गर्न सक्ने बताउनुभयो । प्रणाली प्रयोग गर्ने तरिकाबारे जानकारी दिन निकुञ्जको फेसबुक पेज र वेबसाइटमा ट्युटोरियलसमेत राखिने उहाँले जानकारी दिनुभयो ।

    सांसद ढकालले पर्यटन व्यवसायी र आफ्नो निरन्तरको पहलपछि सौराहामा इ-टिकटिङ प्रणाली सुरु गर्न सम्भव भएको बताउनुभयो । दोस्रो कार्यकालको पदभार सम्हालेपछि पछिल्लो छ महिनादेखि यस विषयमा नियमित पहल गर्दै आएको उहाँले उल्लेख गर्नुभयो ।

    उहाँले भन्नुभयो, “प्रविधि प्रयोग गर्दा सुरुमा केही अन्योल हुन सक्छ । तर, मोबाइलमा विभिन्न एप चलाउने हामीले मोबाइल बैंकिङ प्रयोग गर्न पनि हिचकिचाउनु हुँदैन । यो सुरुआती चरण हो । प्राविधिक रूपमा देखिने समस्या समाधान गर्दै प्रणालीलाई थप व्यवस्थित र व्यावहारिक बनाउनुपर्छ ।”

    उहाँले इ-टिकटिङ प्रणालीलाई थप प्रभावकारी बनाउन पर्यटक तथा पर्यटन व्यवसायीका सुझाव समेट्नुपर्नेमा जोड दिनुभयो । टिकटिङ प्रणालीमा पर्यटन व्यवसायीको संरक्षणप्रतिको योगदान र प्रतिबद्धता झल्किने विवरणसमेत समावेश गर्न सके स्वस्थ प्रतिस्पर्धा प्रवद्र्धन गर्न सहयोग पुग्ने उहाँको भनाइ थियो । सांसद ढकालले निकुञ्ज प्रवेशका लागि काटिएको टिकट एक दिन मात्रै मान्य हुने व्यवस्थालाई परिवर्तन गरी तीन दिनसम्म प्रयोग गर्न मिल्ने बनाउन पहल भइरहेको पनि जानकारी दिनुभयो ।

    निकुञ्जमा सौराहा, कसरा, घटगाई, मेघौली, बनकट्टा, माडी, कुजौली, नवलपरासी र अमलटारीलगायतका नाकाबाट पर्यटक प्रवेश गर्छन् । निकुञ्जभित्र सौराहाबाट ३२, कसराबाट २२, मेघौलीबाट ११, अमलटारीबाट आठ र माडीबाट एउटा जिप सञ्चालनमा छन् । पर्यटक यहाँ एकसिङ्गे गैँडा, पाटेबाघ, भालु, हात्तीलगायत वन्यजन्तु तथा विभिन्न प्रजातिका चराचुरुङ्गी अवलोकन गर्न आउने गरेका छन् । 

    निकुञ्ज प्रवेशका लागि नेपाली पर्यटकले प्रतिव्यक्ति प्रतिदिन रु १५०, सार्क मुलुकका पर्यटकले रु एक हजार र अन्य विदेशी पर्यटकले रु दुई हजार राजस्व बुझाउनुपर्ने व्यवस्था रहेको निकुञ्ज कार्यालयले जनाएको छ । पर्यटक बोक्ने जिपले निकुञ्जमा एकपटक प्रवेश गर्दा रु पाँच हजार शुल्क बुझाउनुपर्छ । अब पर्यटकको आवश्यक विवरण भरेर प्रक्रिया पूरा गरेपछि क्यूआर कोड तयार हुने र सोही कोड देखाएर निकुञ्ज प्रवेश गर्न सकिने निकुञ्जले जनाएको छ ।

    गत आर्थिक वर्षमा चितवन राष्ट्रिय निकुञ्ज तथा मध्यवर्ती सामुदायिक वनमा दुई लाख ७२ हजार ९२३ पर्यटकले भ्रमण गरेका थिए । अघिल्लो आर्थिक वर्षमा यो सङ्ख्या दुई लाख ३१ हजार ३२९ थियो । गत आवमा निकुञ्जले पर्यापर्यटनबाट रु २७ करोड ६३ लाख ३९ हजार ९५० राजस्व सङ्कलन गरेको जनाएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

न्यूज अभियान डट कमको एन्ड्रोइड एपका लागि यहाँ क्लिक गर्नुहोस् । हरेक खबर विशेष खबरका लागि अफिसियल फेसबुक र ट्वीटर मार्फत जोडिनुहोस् ।


न्यूज अभियान TV - ग्यालेरी

View All
newsabhiyan
newsabhiyan
newsabhiyan
newsabhiyan
newsabhiyan
newsabhiyan
newsabhiyan
newsabhiyan
newsabhiyan
newsabhiyan