Tuesday 27th of October | २०८३ कार्तिक ११ मंगलबार

न्यूज अभियान
हरेक खबर विशेष खबर

खुकुरी प्रहारबाट श्रीमतीसहित चार घाइते

न्यूजअभियान | प्रकाशित मिति : २०८३ कार्तिक १० सोमबार |

खोटाङ, ९ कात्तिकः हलेसी तुवाचुङ नगरपालिका–३ च्यास्मीटारमा खुकुरी प्रहारबाट एउटै घरका चार जना गम्भीर घाइते भएका छन् । 

    च्यास्मीटारस्थित जारबुङका ४३ वर्षीय नइन्द्रकुमार राईले ससुराली घर आहालेमा गएराति गरेको खुकुरी प्रहारबाट ४० वर्षीया श्रीमती अञ्जना राई, ६२ वर्षीया सासु सेवन्ता राई, २५ वर्षीया साली टेमिना राई र सालो नरेन्द्र राई घाइते भएका हुन् ।

    जिल्ला प्रहरी कार्यालय खोटाङका सूचना अधिकारी एवं प्रहरी निरीक्षक निराजन बस्नेतका अनुसार घाइते चारैजनाको हलेसी तुवाचुङ नगर आधारभूत अस्पताल दुर्छिममा उपचार भइरहेको छ । 

    “घाइतेहरुमध्ये तीन जना (अञ्जना राई, सेवन्ता राई र टेमिना राई)को अवस्था गम्भीर छ । उनीहरुलाई थप उपचारका लागि हेलिकप्टरमार्फत काठमाडौँ पठाउने तयारी भइरहेको छ”, प्रहरी निरीक्षक बस्नेतले भन्नुभयो, “आरोपित नइन्द्रकुमार राईलाई गएराति नै नियन्त्रणमा लिएका छौँ । घटनाको विषयमा थप विवरण आउन बाँकी छ ।”


    खुकुरी प्रहारका घटनामा श्रीमती अञ्जना, सासु  सेवन्ता र साली टेमिनाको टाउकोको पछाडिपट्टी र हात तथा सालो नरेन्द्रको दाहिने हातमा गहिरो चोट लागेको उपचारमा संलग्न स्वास्थ्यकर्मीले जानकारी दिनुभयो । घाइतेमध्ये सालो नरेन्द्रको अवस्था सामान्य रहेता पनि पीडकले सबैको सामूहिक हत्या गर्ने उद्देश्यले खुकुरी प्रहार गरेको पीडित परिवारको आरोप छ । 

    रातको समयमा अन्दाधुन्द भएको खुकुरी प्रहारका घटनाको बारेमा करिब १५ मिनेटपछि प्रहरी चौकी च्यास्मीटारले खबर पाएलगत्तै घटनास्थल पुग्दा आरोपित नइन्द्रकुमार फरार भएकोमा खोजतलास गरेर उनलाई नियन्त्रणमा लिइएको प्रहरीले जनाएको छ । घरभित्र सुतिरहेको अवस्थामा मरनासन्न हुनेगरी अन्दाधुन्द खुकुरी प्रहार भएपछि रातभर गाउँ नै तनावग्रस्त भएको स्थानीयले बताएका छन् । 

    पीडक राई नेपाली सेनामा कार्यरत रहेको र दसैँ मनाउन घर आएको अवस्थामा घटना भएको जनाइएको छ । श्रीमतीसँग घरायसी सामान्य विवादपछि अन्दाधुन्ध खुकुरी प्रहार गरेको स्थानीयले बताएका छन् । 

    उक्त घटनाको अनुसन्धान गर्न टोली परिचालन गरिएको जिल्ला प्रहरी कार्यालय खोटाङका प्रमुख प्रहरी नायब उपरीक्षक प्रकाश बुढाथोकीले जानकारी दिनुभएको छ । 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

न्यूज अभियान डट कमको एन्ड्रोइड एपका लागि यहाँ क्लिक गर्नुहोस् । हरेक खबर विशेष खबरका लागि अफिसियल फेसबुक र ट्वीटर मार्फत जोडिनुहोस् ।


न्यूज अभियान TV - ग्यालेरी

View All
newsabhiyan
newsabhiyan
newsabhiyan
newsabhiyan
newsabhiyan
newsabhiyan
newsabhiyan
newsabhiyan
newsabhiyan
newsabhiyan