Tuesday 27th of October | २०८३ कार्तिक ११ मंगलबार

न्यूज अभियान
हरेक खबर विशेष खबर

गुल्मीमा सराय नाचको रौनक

न्यूजअभियान | प्रकाशित मिति : २०८३ कार्तिक १० सोमबार | (रासस)

गुल्मी, ९ कात्तिक :  गुल्मीमा सराय नाचको रौनक बढेको छ । जिल्लाका विभिन्न कोतघर, मन्दिर तथा ऐतिहासिक स्थलमा नाचको रौनक बढेको हो । 

बडादसैँको एकादशीदेखि सुरु हुने सो नाच जिल्लामा कोजाग्रत पूर्णिमासम्म विभिन्न स्थानमा प्रदर्शन गर्ने परम्परा छ ।  धार्मिक आस्था, ऐतिहासिक विरासत र मौलिक संस्कृतिसँग जोडिएको सराय नाच गुल्मीको विशिष्ट सांस्कृतिक पहिचानका रूपमा रहेको छ ।

जिल्लाका ऐतिहासिक कोत, शक्तिपीठ तथा धार्मिकस्थलमा खुकुरी, तरबार, खुँडा, भाला र खड्गलगायत परम्परागत हतियारसहित बाजागाजाको तालमा सराय नाच प्रदर्शन गरिन्छ ।दसैँको समयमा देवीको पूजा आराधनापछि खेलिने यस नाचमा सहभागीले हातमा हतियार लिएर युद्धकलाको झल्को दिने गरी नाच्ने गर्छन् । गुल्मीको ऐतिहासिकस्थल मुसिकोटको जोगीथुममा कोजाग्रत पूर्णिमाको अवशरमा परम्परागत शैलीमा सराय नाच प्रदर्शन गरिएको छ । 

धुर्कोट गाउँपालिकास्थित ऐतिहासिक धुर्कोट दरबारकोट, इस्मा गाउँपालिकाको ताल्तुङ, मालिकाको अर्जै, छाप र घमिर, रेसुङ्गा नगरपालिकाको जोगिथुम, धागिथुम तथा छत्रकोट गाउँपालिकाको चोयगाँलगायत स्थानमा सराय नाचको विशेष महत्व छ । यसका अतिरिक्त सत्यवती, कालीगण्डकी, गुल्मीदरबार, चन्द्रकोट, मदानेलगायत विभिन्न मन्दिर तथा ऐतिहासिक स्थलमा आआफ्नै मौलिक संस्कृति र परम्पराअनुसार सराय नाच नाच्ने प्रचलन छ । 

घाँटीमा जमराको माला, परम्परागत भेषभूषा, बाजागाजा र हातहतियारसहित प्रस्तुत गरिने सराय नाचले सुनसान गाउँ यतिबेला रमाइलो बनेको छ । गुल्मीमा एकादशी, द्वादशी, त्रयोदशी र पूर्णिमाका दिन विभिन्न स्थानमा सराय नाच प्रदर्शन गरिन्छ । स्थानीयवासीका अनुसार उक्त नाचले प्राचीन युद्धकलाको झल्को दिनुका साथै व्यक्तिमा श्रद्धाभाव र धार्मिक आस्थाको विकास गरेको बताइन्छ ।

मुसिकोट, कोट व्यवस्थापन समितिका अध्यक्ष पदमबहादुर सिंहका अनुसार बाइसे–चौबिसे राज्यकालमा भूरे राजाले  कोतघरबाट सराय नाच नाच्ने परम्परा सुरु गरेका थिए । तत्कालीन समयमा कोतघरमा रहेका परम्परागत हतियार प्रदर्शन गर्दै नाचिने सराय कालन्तरमा धार्मिक तथा सांस्कृतिक उत्सवका रूपमा विकास भएको उहाँले बताउनुभयो ।

सराय नाचका क्रममा सहभागीले खुँडा, भाला, तरबार र खुकुरी जस्ता परम्परागत हतियार हातमा लिएर युद्ध अभ्यासको झल्को दिने गरी नाच्ने परम्परा छ । आजभोलि असत्यमाथि सत्यको विजय र दुर्गा भगवतीप्रतिको आस्थाका रूपमा यसलाई लिने गरिएको अध्यक्ष सिंहले बताउनुभयो ।

सराय नाच मनोरञ्जनका लागि मात्र नभएर यसले सामाजिक सद्भाव, आपसी मेलमिलापलाई कसिलो बनाउने बताइन्छ । पञ्चेबाजा, नर्सिङ्गा, कर्नाल र दमाहाको तालमा दसैँका विभिन्न मौलिक लोकभाकामा नाचिने सराय नाचले परम्परागत सांस्कृतिकलाई जगेर्ना गर्न थप मद्दत पुराएको छ । 

तर पछिल्लो समय वैदेशिक रोजगारी र बसाइँसराइका कारण मौलिक संस्कृति तथा परम्परा विस्तारै ओझेलमा पर्ने जोखिम बढेको इस्मा गाउँपालिका‐१ का वडाध्यक्ष शेरबहादुर कुँवर बताउनुहुन्छ । नयाँ पुस्तामा परम्परा सिक्ने जाँगर र पुरानो पुस्ताले जानेका ज्ञान हस्तान्तरण गर्ने काममा चासो नदिँदासम्म सराय नाचको निरन्तरतामाथि चुनौती थपिएको कुवँरले बताउनुभयो । 

मुसिकोट नगरपालिका–२ का बोमबहादुर ढकुरीले पुरानो पुस्ताबाट नयाँ पुस्तामा सराय नाचको ज्ञान र सीप हस्तान्तरण हुन नसक्दा ऐतिहासिक परम्परा जोगाउन समस्या परेको बताइन्छ ।  
 
धार्मिक आस्थासँगै ऐतिहासिक महत्व र सांस्कृतिक पहिचान जोडिएको सराय नाचलाई प्रवर्द्धन र संरक्षणका लागि स्थानीय तहसँगै स्थानीय समुदाय र युवा पुस्ताले थप सक्रियता देखाउनुपर्ने धुकोट गाउँपालिका अध्यक्ष भूपाल पोखरेलले बताउनुभयो ।
 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

न्यूज अभियान डट कमको एन्ड्रोइड एपका लागि यहाँ क्लिक गर्नुहोस् । हरेक खबर विशेष खबरका लागि अफिसियल फेसबुक र ट्वीटर मार्फत जोडिनुहोस् ।


न्यूज अभियान TV - ग्यालेरी

View All
newsabhiyan
newsabhiyan
newsabhiyan
newsabhiyan
newsabhiyan
newsabhiyan
newsabhiyan
newsabhiyan
newsabhiyan
newsabhiyan