Tuesday 27th of October | २०८३ कार्तिक ११ मंगलबार

न्यूज अभियान
हरेक खबर विशेष खबर

फूलखेती आम्दानीको मुख्य स्रोत

न्यूजअभियान | प्रकाशित मिति : २०८३ कार्तिक १० सोमबार |

घोराही (दाङ) ९ कात्तिक  : दाङमा फूलखेती व्यवसायप्रति किसानको आकर्षण बढ्दै गएको छ । अन्य खेतीभन्दा सजिलो र आम्दानी बढी पाउने भएकाले किसानहरु फूलखेतीप्रति आकर्षित भएका हुन् ।

यति बेला दाङका विभिन्न फूलखेती गरेका स्थानमा सयपत्रि फूल ढकमक्क फुलिसकेका छन् । गढवा गाउँपालिका–३, खैरेनीका टेकेन्द्रराज रावतले विगत चार वर्षदेखि व्यावसायिक फूलखेती गर्दै आउनुभएको छ । 

आइएससी कृषि सङ्कायअन्तर्गत वनस्पति विज्ञान अध्ययन गर्नुभएका उहाँले व्यावसायिक रूपमा फूलको खेती गर्दै आउनुभएको हो । उहाँले चाडपर्वलाई ध्यानमा राखी सयपत्री फूलको व्यावसायिक खेती थाल्नुभएको हो । अहिले उहाँको फूलखेती १० कठ्ठा जग्गामा फैलिएको छ । 

“पहिलो वर्ष परीक्षणका रूपमा खेती गरेँ । त्यसले राम्रो नतिजा दियो, त्यसपछि नियमित रूपमा खेती गर्दै आएको छु”, उहाँले भन्नुभयो, “यो वर्ष तिहार अगाडि रु २०÷२५ हजारको फूल र माला बिक्री गरिसकेको छु ।” 

यो व्यावसायबाट राम्रो आम्दानी पनि हुँदै गएको उहाँले बताउनुभयो । चाडपर्वका बेला छिमेकी देश भारतबाट फूल नेपाल आयात हुने गर्छ । त्यसलाई निरुत्साहित गर्दै स्थानीय उत्पादनलाई प्राथमिकतामा राख्नुपर्ने उहाँको माग छ । “धान, गहुँ लगाउनुभन्दा फूलखेती सजिलो, मल र बीउमा धेरै खर्च नहुने रहेछ । लगानीअनुसार धान, गहुँले मूल्य पाउँदैन, फूलले राम्रो मूल्य  पाउँछ”, उहाँले अनुभव सुनाउनुभयो । 

उहाँ वार्षिक रूपमा रु दुईदेखि तीन लाखसम्म बचत गर्न सफल हुनुभएको छ । अहिले फूललाई रु २५० देखि ३०० सम्ममा र एउटा मालालाई रु ४०० का दरले बिक्री गर्दै आएको बताउनुहुन्छ । 

किसान रावतले अरुको देशमा गएर दुःख गर्नु भन्दा आफ्नै देशमा केही गर्न आवश्यक रहेको बताउनुहुन्छ । “गतवर्ष राम्रो आम्दानी भयो फूलखेतीबाट, यसवर्ष पनि तिहार आउनुभन्दा अघि बाटनै फूल माला बिक्री गर्दै आएको छु ।”

फूलमा आत्मनिर्भर हुने गरी पुष्प कृषक प्रोत्साहनका कार्यक्रम ल्याउन स्थानीय सरकारले पहल गर्नुपर्ने उहाँले बताउनुभयो । उहाँले सयपत्री फूलखेतीसँगै विभिन्न तरकारीखेती र तरकारीका बेर्ना पनि उत्पादन गरेर बिक्री गर्दै आउनुभएको छ । दाङ जिल्लामा व्यावसायिक फूलखेती गर्ने किसानको सङ्ख्या पछिल्ला वर्षमा बढ्दै गएको छ । 

जिल्लाका १० वटै स्थानीय तहमा फूलखेती गर्ने किसान रहेका छन् । प्रोत्साहनका लागि स्थानीय सरकारले भूमिका बढाउनुपर्ने देखिन्छ  ।
 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

न्यूज अभियान डट कमको एन्ड्रोइड एपका लागि यहाँ क्लिक गर्नुहोस् । हरेक खबर विशेष खबरका लागि अफिसियल फेसबुक र ट्वीटर मार्फत जोडिनुहोस् ।


न्यूज अभियान TV - ग्यालेरी

View All
newsabhiyan
newsabhiyan
newsabhiyan
newsabhiyan
newsabhiyan
newsabhiyan
newsabhiyan
newsabhiyan
newsabhiyan
newsabhiyan