दशौँ राष्ट्रिय खेलकुदः मन्त्री पोखरेल र मुख्यमन्त्री शाहीबीच छलफल
सुर्खेत, १५ कात्तिकः आगामी दशौँ राष्ट्रिय खेलकुद प्रतियोगिताको तयारीलाई थप तीव्रता दिने र व्यवस्थित बनाउने उद्देश्यले शिक्षा तथा खेलकुदमन्त्री सस्मित पोखरेलले कर्णाली प्रदेशका मुख्यमन्त्री र सामाजिक विकास मन्त्रीसँग सुर्खेतमा छलफल गर्नुभएको छ ।
दशौँ राष्ट्रिय खेलकुद प्रतियोगिताको आयोजनास्थल रहेको कर्णाली प्रदेशमा खेलकुद पूर्वाधार निर्माण, व्यवस्थापन र अन्य आवश्यक तयारीका सन्दर्भमा सो छलफल केन्द्रित रहेको हो । सुर्खेतमा सम्पन्न उक्त भेटमा शिक्षा तथा खेलकुदमन्त्री पोखरेल, कर्णाली प्रदेशका मुख्यमन्त्री मङ्गलबहादुर शाही र सामाजिक विकासमन्त्री जीतबहादुर मल्लबीच प्रतियोगितालाई भव्य र ऐतिहासिक रूपमा सफल पार्न सङ्घीय र प्रदेश सरकारबीच हुनुपर्ने समन्वय, पूर्वाधारको अवस्थालगायत विषयमा छलफल भएको हो ।
छलफलका क्रममा मन्त्री पोखरेलले तोकिएकै समयमा प्रतियोगिता सम्पन्न गर्न मन्त्रालयले सबैपक्षसँग सहकार्य गरिरहेको बताउँदै कर्णाली प्रदेशमा खेलकुद पूर्वाधारको विकास र व्यवस्थापनमा सङ्घीय सरकारकोतर्फबाट पूर्ण सहयोग रहने प्रतिबद्धता व्यक्त गर्नुभएको छ ।
त्यस्तै, मुख्यमन्त्री शाही र सामाजिक विकासमन्त्री मल्लले दशौँ राष्ट्रिय खेलकुदलाई सफल बनाउन प्रदेश सरकार पूर्ण रूपमा लागिपरेको जानकारी गराउँदै आवश्यक तयारी अन्तिम चरणमा पुगेको बताउनुभएको थियो । मन्त्री पोखरेल दशौँ राष्ट्रिय खेलकुद प्रतियोगिताको तयारी, पूर्वाधार निरीक्षण तथा सरोकारवालासँगको समन्वयका लागि हाल सुर्खेत भ्रमणमा हुनुहुन्छ ।

