आत्महत्यासम्बन्धी जिम्मेवार रिपोर्टिङका लागि सञ्चारकर्मीलाई अभिमुखीकरण
काठमाडौं । आत्महत्या रोकथाम तथा मानसिक स्वास्थ्य प्रवर्द्धनमा सञ्चारमाध्यमको भूमिका प्रभावकारी बनाउने उद्देश्यले स्वास्थ्य तथा खाद्य स्वच्छता मन्त्रालयले सञ्चारकर्मीलाई आत्महत्यासम्बन्धी जिम्मेवार मिडिया रिपोर्टिङबारे अभिमुखीकरण प्रदान गरेको छ।
राष्ट्रिय स्वास्थ्य शिक्षा, सूचना तथा सञ्चार केन्द्र (NHEICC) को आयोजनामा सोमबार काठमाडौंको टेकुस्थित राष्ट्रिय स्वास्थ्य तालिम केन्द्रमा ‘आत्महत्यासम्बन्धी जिम्मेवार मिडिया रिपोर्टिङ अभिमुखीकरण कार्यक्रम’ सम्पन्न भएको हो।
कार्यक्रमको अध्यक्षता गर्दै स्वास्थ्य सेवा विभागका निमित्त महानिर्देशक डा. कृष्णप्रसाद पौडेलले मानसिक स्वास्थ्य मन्त्रालयको प्राथमिकतामा रहेको विषय भएको बताउनुभयो। उहाँले आत्महत्या रोकथामका लागि जनचेतना अभिवृद्धि, जोखिमको समयमै पहिचान तथा आवश्यक मनोसामाजिक र स्वास्थ्य सेवाको पहुँच विस्तारसँगै सञ्चारमाध्यमको जिम्मेवार भूमिका महत्त्वपूर्ण हुने उल्लेख गर्नुभयो।
कार्यक्रममा प्रेस काउन्सिल नेपालका मुख्य अधिकृत झविन्द्र भुसालले आत्महत्यासम्बन्धी समाचार सम्प्रेषण गर्दा पत्रकार आचारसंहिताको पूर्ण पालना गर्न सञ्चारकर्मीलाई आग्रह गर्नुभयो। उहाँले यस्ता घटनालाई सनसनीपूर्ण ढङ्गले प्रस्तुत नगरी संवेदनशील, मर्यादित र जिम्मेवार भाषा तथा शैली अपनाउनुपर्नेमा जोड दिनुभयो।
त्यस्तै, मानसिक अस्पतालका प्रमुख कन्सल्टेन्ट साइक्याट्रिस्ट डा. अनन्त अधिकारीले आत्महत्यासम्बन्धी व्यवहारका जोखिम संकेत, पहिचान र रोकथामका उपायबारे जानकारी गराउनुभयो। उहाँले समाचार लेख्दा घटनाको विस्तृत विवरण र आत्महत्यामा प्रयोग गरिएको विधिभन्दा रोकथामका उपाय, उपलब्ध सहयोगका माध्यम र सकारात्मक सन्देशलाई प्राथमिकता दिनुपर्ने बताउनुभयो।
राष्ट्रिय स्वास्थ्य शिक्षा, सूचना तथा सञ्चार केन्द्रकी शाखा प्रमुख शीला श्रेष्ठले आत्महत्या रोकथामसम्बन्धी सञ्चारकर्मीका लागि जारी गरिएको मार्गदर्शन, २०८० का प्रमुख प्रावधानबारे जानकारी गराउनुभएको थियो।
अभिमुखीकरणपछि सञ्चारकर्मीहरूले आत्महत्यासम्बन्धी समाचार तथा सूचना सम्प्रेषण गर्दा थप तथ्यपरक, संवेदनशील र जिम्मेवार पत्रकारिताको अभ्यास गर्ने अपेक्षा गरिएको छ।
कार्यक्रमले आत्महत्या रोकथामका प्रयासमा सञ्चारमाध्यमको सकारात्मक भूमिका बढाउनुका साथै मानसिक स्वास्थ्यसम्बन्धी जनचेतना अभिवृद्धिमा सहयोग पुग्ने विश्वास आयोजकले लिएको छ।

