बेइजिङले इरानको सार्वभौमिकताको पक्षमा समर्थन गर्छ : चीन
बेइजिङले ‘इरानको सार्वभौमिकता र सुरक्षा रक्षा गर्ने’ बिषयमा तेहरानलाई समर्थन गर्ने चीनका शीर्ष कूटनीतिज्ञले एक वरिष्ठ इरानी अधिकारीसँगको संवादमा बताउनुभएको छ।
सोमबार बेइजिङमा भएको भेटमा उहाँहरूबीच संवाद भएको थियो ।
यो भेट अमेरिकी आक्रमण दोहोरिने जोखिम बढेपछि भएको हो ।
राष्ट्रपति डोनाल्ड ट्रम्पले शनिबार भन्नुभएको थियो,“संयुक्त राज्य अमेरिकाले इरानको धेरैजसो सैन्य क्षमता नष्ट गरिसकेको छ तर अझै एक–दुई लक्ष्य ‘सम्हाल्न’ बाँकी छ ।
तेहरानले भने आक्रमण भए प्रतिशोध लिने चेतावनी दिएको छ ।
“चीनले इरानलाई आफ्नो सार्वभौमिकता र सुरक्षा रक्षा गर्न समर्थन गर्छ,” चीनका विदेशमन्त्री वाङ यीले इरानको सर्वोच्च राष्ट्रिय सुरक्षा परिषद्का उपमन्त्री अली बाघेरी कानीसँगको भेटमा भन्नुभएको हो । चिनियाँ विदेशमन्त्रालयले एक वक्तव्य जारी गरी यसको पुष्टि गरेको छ ।
विदेश मन्त्रालयले यसअघि बाघेरी कानीको बेइजिङ भ्रमणको घोषणा गरेको थिएन । “सबै पक्षले तर्कसङ्गत र व्यावहारिक भावनाका साथ राजनीतिक समाधानमा ध्यान दिनुपर्छ र फेरि एकपटक सशस्त्र द्वन्द्वको बाटोलाई त्याग्ने प्रण गर्नुपर्छ,” वाङले इरानी कुटनीतिज्ञ बाघेरी कानीसँगको भेटमा उहाँसँग भन्नुभयो ।
चीन इरानको प्रमुख आर्थिक साझेदार हो । उसले मध्यपूर्वमा महिनौँदेखि चलिरहेको द्वन्द्वमा तनाव कम गर्न प्रयास गर्दै आएको छ । यो द्वन्द्व कहिलेकाहीँ छिमेकी देशहरूमा पनि फैलिएको छ । यस महिना चीनले आफ्नो मध्यपूर्व दूतलाई इरान, ओमान र साउदी अरब पठाउनेछ।
मन्त्रालयका प्रवक्ताले नियमित पत्रकार सम्मेलनमा भन्नुभएको छ, “यो ‘शान्ति वार्तालाई प्रोत्साहन र तनाव कम गर्न लक्षित महत्वपूर्ण कूटनीतिक भ्रमण’ हो।”
सोमबार नै चिनियाँ राष्ट्रपति सी जिनपिङले ओमानका सुल्तानसँग बेइजिङमा वार्ता गर्नुभएको छ । कूटनीतिक सम्बन्ध स्थापना भएयता यो ओमानका राष्ट्रप्रमुखको चीनको पहिलो भ्रमण हो । सीले हैथम बिन तारिकसँग भन्नुभयो, “चीन क्षेत्रमा ‘शान्ति, स्थिरता र समृद्धिमा योगदान दिन तयार छ ।
चिनियाँ समाचार संस्था सिन्ह्वाले राष्ट्रपति सीको भनाई उद्धृत गर्दै भनेको छ, “मध्यपूर्व ‘ठूला देशहरू प्रतिस्पर्धा र भूराजनीतिक द्वन्द्वको कुस्ती मैदान’ बन्नु हुँदैन ।”

