Wednesday 4th of November | २०८३ कार्तिक १८ बुधबार

न्यूज अभियान
हरेक खबर विशेष खबर

उदयपुर कारागारमा क्षमताभन्दा चार गुणा बढी कैदीबन्दी

न्यूजअभियान | प्रकाशित मिति : २०८३ कार्तिक १८ बुधबार | (रासस)
newsabhiyan

उदयपुर, १८ कात्तिकः उदयपुर कारागारमा क्षमताभन्दा झन्डै चार गुणा बढी कैदीबन्दी राखिँदा उनीहरूको दैनिक जीवन कष्टकर बनेको छ । साठ्ठी जनाको क्षमता रहेको चार दशक पुरानो जीर्ण भवनमा हाल २३२ कैदीबन्दी कोचिएर बस्न बाध्य छन् ।

कारागार प्रशासक बैकुण्ठराज रेग्मीका अनुसार कारागारमा २१८ पुरुष र १४ महिला कैदीबन्दी छन् । क्षमताभन्दा अत्यधिक सङ्ख्यामा कैदीबन्दी राख्नुपर्दा खाने, बस्ने, सुत्ने र शौचालय प्रयोग गर्नसमेत समस्या भइरहेको उहाँले बताउनुभयो ।

साँघुरो ठाउँ, जीर्ण संरचना र वर्षायाममा छानाबाट पानी चुहिने समस्याले कैदीबन्दीको स्वास्थ्यमा समेत असर परेको भन्दै गर्मी र जाडोका समयमा बिरामी पर्ने समस्या बढ्ने गरेको रेग्मीले बताउनुभयो ।

पूर्वाधार अभावका कारण वृद्ध तथा दीर्घरोगी कैदीबन्दीको स्वास्थ्य सुरक्षा चुनौतीपूर्ण बनेपछि हालै सात जनालाई काठमाडौँस्थित कारागारमा स्थानान्तरण गरिएको उहाँले जानकारी दिनुभयो ।

नयाँ भवन निर्माणका लागि दशकअघि नै विस्तृत परियोजना प्रतिवेदन (डिपिआर) तयार गरी योजना स्वीकृत गरिएको थियो । आर्थिक वर्ष २०७१÷७२ मा निर्माण योजना स्वीकृत भए पनि भूकम्प र कोभिड महामारीका कारण बजेट उपलब्ध हुन नसकेको प्रशासनको भनाइ छ ।

लामो प्रयासपछि चालु आर्थिक वर्षमा सरकारले नयाँ भवन निर्माणका लागि स्रोत सुनिश्चित गरेको छ । सहरी विकास तथा भवन निर्माण आयोजना कार्यालय सप्तरीमार्फत निर्माण गर्ने तयारी भए पनि ठेक्का प्रक्रिया अघि बढ्न सकेको छैन ।

हालको भवनका गारो भत्किएका छन् भने पर्खालसमेत कमजोर अवस्थामा छन् । पुरानो प्रविधिबाट काठका बटम र पटाहा प्रयोग गरी ढलान गरिएको भवन जुनसुकै बेला भत्किन सक्ने जोखिम रहेको प्रशासनले जनाएको छ । यस्तो अवस्थामा कैदीबन्दीको जीवन सुरक्षाका लागि नयाँ भवन निर्माण तत्काल अघि बढाउनुपर्ने आवश्यकता देखिएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

न्यूज अभियान डट कमको एन्ड्रोइड एपका लागि यहाँ क्लिक गर्नुहोस् । हरेक खबर विशेष खबरका लागि अफिसियल फेसबुक र ट्वीटर मार्फत जोडिनुहोस् ।


न्यूज अभियान TV - ग्यालेरी

View All
newsabhiyan
newsabhiyan
newsabhiyan
newsabhiyan
newsabhiyan
newsabhiyan
newsabhiyan
newsabhiyan
newsabhiyan
newsabhiyan