कराते खेलाडी एरिकालाई तीन लाख सहयोग
काठमाडौँ, १८ कात्तिकः उन्नाइसौँ एसियाली खेलकुद प्रतियोगिताकी रजत पदक विजेता तथा राष्ट्रिय कराते खेलाडी एरिका गुरुङको खेल विकासका लागि अस्ट्रेलियाको सिड्नीस्थित यात्रा रन क्लबले रु तीन लाख आर्थिक सहयोग गरेको छ ।
राष्ट्रिय खेलकुद परिषद्का कार्यकारी बोर्ड सदस्य सिक्का सुवाल श्रेष्ठले उक्त रकम आज यहाँ आयोजित एक कार्यक्रममा हस्तान्तरण गर्नुभयो । यस अभियानमा राखेप बोर्ड सदस्य श्रेष्ठले विशेष पहल तथा समन्वय गरेको कार्यक्रममा जानकारी दिइयो ।
आगामी अन्तर्राष्ट्रिय प्रतियोगिताको तयारीलाई लक्षित गर्दै सङ्कलन गरिएको उक्त सहयोग रकम एरिकाको खेल विकास तथा प्रशिक्षणमा खर्च गरिने जनाइएको छ । अस्ट्रेलियाको सिड्नीमा आयोजित विशेष कार्यक्रममार्फत सहयोग अभियान सञ्चालन गरिएको थियो । श्रेष्ठले नेपालमा रहेका विभिन्न रन क्लबलाई एकताबद्ध गर्दै खेलाडीलाई सहयोग गर्ने अभियानलाई अझ व्यापक बनाउनुपर्ने भन्दै यस किसिमको सहयोगले खेलाडीलाई थप हौसला मिल्ने विश्वास व्यक्त गर्नुभयो ।
कराते खेलाडी एरिका गुरुङले प्राप्त सहयोगले आफूलाई थप प्रेरणा मिलेको बताउँदै सहयोग रकमले खेल तयारी गर्न मद्दत पुग्ने उल्लेख गर्नुभयो । उहाँले दक्षिण एसियाली खेलकुद (साग) लगायतका आगामी आयोजना हुने प्रतियोगितामा राम्रो प्रदर्शन गर्न सहयोग पुग्ने विश्वाससमेत व्यक्त गर्नुभयो । प्राप्त सहयोग रकम एरिकाको नियमित प्राविधिक प्रशिक्षण, शारीरिक क्षमता विकास, फिजियोथेरापी, चोटपटक रोकथाम तथा पुनस्र्थापनालगायत खेल तयारीका क्षेत्रमा उपयोग गरिने बताइएको छ ।
यात्रा रन क्लब र अभियानमा संलग्न पक्षले आगामी दिनमा पनि एरिकामा मात्र सीमित नभइ अन्य नेपाली खेलाडीको विकासका लागि सहयोग तथा अवसर सिर्जना गर्ने प्रतिबद्धता गरेका छन् ।


