पुर्ख्यौली सीपबाट आय आर्जन गर्दै
महोत्तरी, २२ कात्तिकः मधेसको मिथिला क्षेत्र अहिले दीपावली र छठ पर्वको उमङ्गमा छ । कात्तिक कृष्णपक्षको त्रयोदशीदेखि कात्तिक शुक्ल द्वितीयासम्म मनाइने दीपावली पर्व अहिले जारी छ । जारी दीपावली र यो सम्पन्न भएलगत्तैको छठ पर्वको तयारीले महोत्तरीसहितका मिथिला क्षेत्र अहिले पर्वमय बनेको बनेको हो ।
यी पर्व परम्परागत सीप भएका यहाँका जाति समुदायका लागि आर्जनको अवसर बन्दै आएका छन् । खासगरी आर्थिक रुपमा पछिपरेका यहाँका कुमाल, बिन र डोम समुदाय अहिले आफ्नो पुख्र्यौली पेसाको सीप बिक्ने अवसरले उत्साहित छन् । कुमालको माटाका भाँडा बनाउने तथा बिन र डोमको बाँसका कप्टेरा र चोयाबाट छिटी, नाङ्लो, चाल्नो र ससाना कनसुपीलगायतका सामग्री बनाउनु पुख्र्यौली पेसा मानिन्छ ।
अहिले दीपावली र छठ पर्व दुबैमा माटाका नयाँ भाँडा एवं बाँसको चोया र कप्टेराबाट बनाइने नयाँ सामग्री अनिवार्य मानिन्छन् । यसै परम्पराले यी जाति समुदाय दीपावली र छठ आएपछि आफ्नो सीपले बजार पाउने र नगद आर्जन हुने आसमा उत्साहित हुन्छन् ।
केही दशकअघिसम्म माटाका गाग्री, छ्याँची, तौला र ढकनासहितका भाँडा दैनिक जीवनमा प्रयोग हुँदा वर्षैभरि यी सामानको बजार जम्थ्यो । यसैगरी बाँसका चोया र कप्टेराले बन्ने छिटी, नाङ्लो, चाल्नो, पङ्खासहितका सामान पनि दैनिक जीवनमा उपयोग गरिन्थे । तर पछिल्ला केही दशकयता यिनको ठाउँमा प्लाष्टिकका सोही प्रयोजनका सामानले बजार पाउन थालेपछि यी जाति समुदायको सीप पर्वविशेषमा साघुरिएका छ । यसले आफ्नो पुख्र्यौली पेसाको सीप अब जीवन गुजाराकै माध्यम नबनेपनि दीपावली र छठका बेला केही नगद आर्जनको अवसर हुने कुमाल, बिन र डोम समुदायका अगुवा बताउँछन् ।
“अरुबेला हाम्रा सामान अब त्यति खोजिदैनन् , दीपावली र छठमा भने अझै खोजी हुँदैछन्, त्यसैले यी पर्व केही नगद आर्जनका लागि हाम्रो पर्खाइमा हुन्छन्”, भङ्गाहा–४ रामनगर बस्तीका केशवर मुखिया बिन भन्नुहुन्छ, “यसबेला हुने आर्जनले आफ्नो पर्व टार्न र दुईचार पैसा पछिको नगद खर्चका लागि आउने आस लाग्छ ।”
बिनजस्तै बाँसको चोया र कप्टेराकै सामानहरु बनाउने भङ्गाहा–५ सिद्धपुर रेलस्टेसनटोलका प्रगास मरिक डोम पनि दीपावली र छठमा आफ्नो सीप बिक्ने आसले यसबेला यी सामान बनाउने गरेको बताउनुहुन्छ । बिन र डोमजस्तै यहाँका कुमाल जाति समुदाय यी पर्वमा माटाका दियौरी, अर्घौटो, घैटो, छ््याँची, तौला र ढकनासहितका भाँडा बिक्री भएर दुई÷चार पैसा हात लाग्ने आसमा हुन्छन् । अरुबेला गुजाराका लागि अन्य काम गर्ने कुमाल दीपावली र छठ नजिकिएपछि सबै काम थाति राखेर माटाका भाँडा बनाउन तल्लिन हुन्छन् ।
“यी पर्वमा माटाका भाँडाको माग राम्रै हुन्छ, त्यसैले यतिबेला सबैकाम छाडेर यी सामान बनाउन लाग्छौँ”, औरही–४ श्रीपुर कविलासाका सुरेश पण्डित कुमाल भन्नुहुन्छ, “यी पर्वमा बेचिएका भाँडाको आर्जनले केही महिनाको नगद खर्च चल्छ ।”
पर्व विशेषले अहिले महोत्तरीका १० नगरपालिका र पाँच गाउँपालिकासहितका १५ वटै स्थानीय तहका सबैजसो बस्तीमा लाग्ने बारविशेषका साप्ताहिक हटियामा माटाका भाँडा एवं बाँसको चोया र कप्टेराले बुनिएका भाँडाको छुट्टै बजार जम्ने गरेको छन् । दीपावली र छठ यस भेगका मुख्यपर्व हुँदा यी पर्वका सामान जुटाउन सर्वसाधारण यी भाँडा किन्न बजारबजार पुग्छन् । यस्ता भाँडा वर्तनका लागि नयाँ नै चाहिने स्थापित चलनले अहिले माटाका भाँडा तथा बाँसका चोया र कप्टेराले बुनिने सामानको जताततै माग छ ।
दीपावलीका लागि यी सामानको बजार आज लक्ष्मीपूजाका दिन मध्यान्हसम्म रहने यी सीपका श्रमिक बताउँछन् । दीपावलीपछि दुई दिनलगत्तै छठ पर्व सुरु हुन्छ । त्यसका लागि पनि आफ्ना सीपका सामग्रीको बजार जम्ने भङ्गाहा–५ भूचक्रपुरका आशलाल पण्डित कुमालको भनाइ छ ।
ग्रामीण परिवेशमा यो पुरानो चलन कायमै रहे पनि सहरी क्षेत्रमा भने कतिपयले यस्ता सामान खोज्न छाडी सकेका छन् । यिनका ठाउँमा प्लाष्टिक र स्टिलका भाँडाको प्रयोग बढ्दै गएपछि अबका केही वर्षपछि आपूmहरुको सीप कतै नचल्ने अवस्था आउनसक्ने लोहारपट्टी–४ पिपराढीका रामविलास पण्डित कुमाल बताउनुहुन्छ ।
यसैगरी गौशाला–१२ पडरियाकी अञ्जली मरिक डोम यो पुख्र्यौली पेसाको सीपले चाडपर्वमा केही नगद आर्जन भए पनि वर्षभरिको गुजारा नचल्ने भएपछि आफ्ना छोराछोरी अन्य काममा लागेका बताउनुहुन्छ । यो अवस्थाले मिथिला संस्कृति र कलासँग जोडिएको माटो तथा बाँसको चोया र कप्टेराबाट बनाइने सामग्रीबारे पछिल्लो पुस्ताले चासो नै राख्न छाडेपछि यो पहिचान हराउने पाका मैथिलको चिन्ता छ ।


