Monday 9th of November | २०८३ कार्तिक २३ सोमबार

न्यूज अभियान
हरेक खबर विशेष खबर

इरानसँगको युद्ध फेरि सुरु हुने सम्भावना ‘अत्यन्त न्युन’ रहेको अमेरिकी राष्ट्रपति ट्रम्पको भनाइ

न्यूजअभियान | प्रकाशित मिति : २०८३ कार्तिक २३ सोमबार | (रासस/एएफपी)

अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले इरानसँगको लडाइँ फेरि सुरु हुने सम्भावना कम रहेको बताउनुभएको छ । 

उहाँले सीएनएनसँगको वार्तामा भन्नुभयो, “यो ‘अत्यन्त असम्भव’ छ। उहाँ सोमबार मध्यस्थ कतारका प्रधानमन्त्रीसँग भेट्ने तयारीमा रहनुभएको छ। 
हालैका हप्ताहरूमा राष्ट्रपति ट्रम्पले इरानमा पुनः आक्रमण गर्ने चेतावनी दिनुभएको थियो । 

अमेरिकी सञ्चारमाध्यमहरूले गत मङ्गलबारको मध्यावधि निर्वाचनपछि शत्रुता फेरि सुरु हुन सक्ने बताएका थिए । राष्ट्रपतिले आइतबार सीएनएनसँगको अन्तर्वार्तामा भन्नुभयो, “लडाइँ फेरि सुरु हुने सम्भावना ‘अत्यन्त कम’ छ, तर यो ‘उनीहरूले भरपर्दो र बलियो सम्झौतामा हस्ताक्षर गर्छन् कि गर्दैनन् भन्ने कुरामा निर्भर गर्छ।” 

“हामीले उनीहरूलाई साँच्चै कडा प्रहार गरेका छौँ। आवश्यक परे हामी फेरि आक्रमण गर्नेछौँ, तर हामीले उनीहरूलाई यति कडा प्रहार गरेका छौँ । त्यो कति कडा भन्ने बिषय तपाईहरूलाई थाहा छैन।”

ट्रम्प सोमबार ह्वाइट हाउस सेतो भवनमा कतारका प्रधानमन्त्री तथा परराष्ट्रमन्त्री शेख मोहम्मद बिन अब्दुलरहमान अल थानीसँग भेट्नेछन्।यो भेट मध्यावधि निर्वाचनमा रिपब्लिकन पार्टीले कांग्रेसको नियन्त्रण गुमाएपछि ट्रम्पले कुनै विदेशी नेतासँग गर्ने पहिलो भेट हुनेछ । 

इरानी परराष्ट्रमन्त्री अब्बास अराघचीले आइतबार भन्नुभएको थियो, “निर्वाचनको राजनीतिक असर मूल्याङ्कन भइरहेकाले शान्ति वार्ता रोकिएको छ।” 
“गत केही दिनदेखि (मध्यस्थहरूको) कुनै यात्रा भएको छैन। यसको कारण अमेरिकी निर्वाचन नतिजाले सबैलाई दिएको झट्का हो,” अराग्चीले राज्य टेलिभिजनलाई भने।“अब हामीले हेर्नुपर्छ कि उनीहरूलाई यी नतिजा पचाउन कति समय लाग्छ, त्यसपछि मात्र हामी अगाडि कसरी बढ्ने भन्ने निर्धारण गर्न सक्छौँ,” उहाँले थप्नुभयो । 

फेब्रुअरीको अन्त्यतिर अमेरिकी–इजरायली आक्रमणबाट सुरु भएको इरानसँगको अत्यन्त अलोकप्रिय युद्ध रिपब्लिकनहरूको पराजयको आंशिक कारण हुनसक्ने राष्ट्रपति ट्रम्पले स्वीकार गर्नुभएको छ। 

इरानी विदेशमन्त्री अराघचीले सोमबार भन्नुभयो, “अमेरिकी राष्ट्रपतिले ‘अधिकांश अमेरिकीहरू इजरायलप्रति घृणा गर्छन् भन्ने स्पष्ट रूपमा बुझेका छन् ।” 

“इजरायलले अमेरिकी प्रशासनलाई सधैँको युद्धमा फसाउने खेलबाट थाकेका र दिक्क भएका छन्,” अराघचीले एक्समा लेख्नुभयो । 

“उनीहरू थाके। हाम्रो क्षेत्र पनि थाकेको छ।”आइतबारको सीएनएन अन्तर्वार्तामा उहाँले भन्नुभयो । 

“इरानमाथिको आर्थिक दबाबले त्यहाँका नेताहरूलाई अमेरिकी सर्त स्वीकार गर्न बाध्य पार्नेछ,” राष्ट्रपति ट्रम्पले भन्नुभयो । 

उहाँले भन्नुभयो, “उनीहरू असफल भएका छन् । इरान असफल राष्ट्र बनेको छ । इरानमा यस वर्ष ३०१ प्रतिशत मुद्रास्फीति पुगेको देखिएको छ। यो उनीहरूको अपारदर्शी सोचका कारण भएको छ ।” 

राष्ट्रपति ट्रम्पले भन्नुभयो, “उनीहरू आर्थिक रूपमा कमजोर भइरहेका छन्। हामीले सैन्य रूपमा प्रहार गरेका छौँ। हामी उनीहरूको अस्थित्व समाप्त गर्न सक्छौँ।”

इरानका आधिकारिक तथ्याङ्कअनुसार सेप्टेम्बरमा वार्षिक मुद्रास्फीति लगभग ९० प्रतिशत पुगेको छ । 

हर्मुज जलडमरूको केश्म टापुमा आइतबार राति आक्रमण भएको इरानी राज्य टेलिभिजनले जनाएका थिए । 

यसअघि आधिकारिक आइआरएनए समाचार एजेन्सीले त्यहाँ दुई विस्फोट भएको रिपोर्ट गरेको थियो। कतार र पाकिस्तान लगायत विभिन्न क्षेत्रीय शक्तिहरूले महिनौंदेखि युद्ध पूर्ण रूपमा रोक्ने प्रयास गरिरहेका छन् तर सफलता मिलेको छैन। प्रत्यक्ष लडाइँ लगभग रोकिएको छ। तर इरानले विश्व ऊर्जा आपूर्तिमा महत्त्वपूर्ण हर्मुज जलडमरूलाई नाकाबन्दी गर्ने प्रयास जारी राखेको छ भने अमेरिकी नौसेनाले इरानी बन्दरगाहहरूमा आफ्नो प्रतिनाकाबन्दी कायम राखेको छ।
 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

न्यूज अभियान डट कमको एन्ड्रोइड एपका लागि यहाँ क्लिक गर्नुहोस् । हरेक खबर विशेष खबरका लागि अफिसियल फेसबुक र ट्वीटर मार्फत जोडिनुहोस् ।


न्यूज अभियान TV - ग्यालेरी

View All
newsabhiyan
newsabhiyan
newsabhiyan
newsabhiyan
newsabhiyan
newsabhiyan
newsabhiyan
newsabhiyan
newsabhiyan
newsabhiyan