Monday 9th of November | २०८३ कार्तिक २३ सोमबार

न्यूज अभियान
हरेक खबर विशेष खबर

सम्झौता अवधिभन्दा १० महिना अगाडि नै बन्यो कटनुखोला

न्यूजअभियान | प्रकाशित मिति : २०८३ कार्तिक २३ सोमबार | (रासस)

विराटनगर, २३ कात्तिकः मोरङको रतुवामाई नगरपालिकामा विकास आयोजना तोकिएको समयभन्दा १० महिनाअगावै सम्पन्न भएको छ ।  

    रतुवामाई–८ स्थित जनता बाँध क्षेत्रमा पर्ने ‘डाम्राभित्ता बजार पूर्व भुल्काडोवा जोड्ने बाटो’अन्तर्गत कटनुखोला पुल निर्माणको काम सम्झौता अवधिभन्दा १० महिनाअघि नै सम्पन्न भएको हो । 

    पूर्वाधार विकास कार्यालय मोरङमार्फत कुल रु छ करोड ५३ लाख १७ हजार लागतमा थानी–लेखराज–बूढाथोकी जेभीले २५ मिटर लम्बाइका १७ मिटर गहिरो पाइल फाउन्डेसनमा आधारित छ मिटर क्यारिजवे र दुवैतर्फ एक दशमलव दुई मिटरको फुटपाथसहितको पुल बनेपछि स्थानीयवासी हर्षित भएका छन् । 

    कोशी प्रदेशका पूर्वाधार विकासमन्त्री जीवन आचार्यले तोकिएको समयभन्दाअगावै गुणस्तरीय काम सम्पन्न गर्ने निर्माण कम्पनी र स्थानीयको सहकार्यको प्रशंसा गर्नुभयो । 

    उहाँले भन्नुभयो, “प्रदेशमा वर्षौंदेखि अधुरा रहेका योजनालाई गति दिन सरकार अहोरात्र खटिरहेको छ । काम नगर्नेको ठेक्का तोड्नेसम्मको निर्देशन भइसकेको अवस्थामा समयअगावै पुल बनाएर निर्माण व्यवसायीले सकारात्मक सन्देश दिएका छन् । यो पुलले स्थानीयको आवागमन र आर्थिक जीवनमा ठूलो परिवर्तन ल्याउनेछ ।”
 
    पुल निर्माणका लागि निःशुल्क जग्गा दान गर्नुभएका स्थानीय ज्येष्ठ नागरिक प्रेमबहादुर अधिकारीले आफ्नो चारदशक लामो सपना पूरा भएको बताउनुभयो ।  

    उहाँले भन्नुभयो, “विसं २०४० देखि नै हामीले यहाँ पुल बनाउन माग गर्दै आएका थियौँ । काठ र बाँसको पुल बाढीले बगाएर कैयौँ पटक जोखिम भोगियो। आज आफ्नै आँखाअगाडि यति छिटो पक्की पुल बनेको देख्दा छाती गर्वले फुलेको छ, म अत्यन्तै खुसी छु ।” 

    योजनालाई प्राथमिकतामा पारेर बजेट सुनिश्चित गराउन पहल गर्नुभएका त्यस क्षेत्रका प्रदेशसभा सदस्य तथा पूर्वमन्त्री गणेश उप्रेती ‘सुशील’ले विकास निर्माणमा स्थानीय र जनप्रतिनिधिको समन्वयको नतिजा देखिएको बताउनुभयो । 

    उहाँले सोही ठाउँमा सिँचाइ सुविधा विस्तार गर्न रु एक करोड बजेट विनियोजन भएको र उक्त योजनालाई बहुवर्षीय योजनामा रुपान्तरण गर्न आफूले प्रयत्न गरिरहेको जानकारी दिनुभयो । 

    त्यस्तै, भौतिक पूर्वाधार विकास मन्त्रालयका सचिव मिलन आचार्यले अन्य निर्माण व्यवसायीका लागि पनि यो काम पाठ हुनुपर्ने उल्लेख गर्नुभयो ।
 
    उहाँले भन्नुभयो, “दुई वर्षको म्याद पाएको काम १४ महिनाभित्रै सम्पन्न हुनु निकै सराहनीय हो । समयमै कामसक्ने परिपाटीलाई हामी प्रोत्साहित गर्छौं ।”

    रतुवामाई–८ का वडाध्यक्ष पुष्पबहादुर कार्कीले जोखिमपूर्ण बाँसको पुलबाट यात्रा गर्नुपर्ने वडावासीको बाध्यता अन्त्य भएकामा खुसी व्यक्त गर्दै योजना सफल पार्न खट्ने प्राविधिक तथा निर्माण कम्पनीलाई धन्यवाद दिनुभयो ।
 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

न्यूज अभियान डट कमको एन्ड्रोइड एपका लागि यहाँ क्लिक गर्नुहोस् । हरेक खबर विशेष खबरका लागि अफिसियल फेसबुक र ट्वीटर मार्फत जोडिनुहोस् ।


न्यूज अभियान TV - ग्यालेरी

View All
newsabhiyan
newsabhiyan
newsabhiyan
newsabhiyan
newsabhiyan
newsabhiyan
newsabhiyan
newsabhiyan
newsabhiyan
newsabhiyan