Thursday 12th of November | २०८३ कार्तिक २६ बिहीबार

न्यूज अभियान
हरेक खबर विशेष खबर

COP-31 र BIMSTEC बैठकमा नेपालको प्रतिनिधित्व गरेर स्वदेश फर्किइन् स्वास्थ्यमन्त्री निशा मेहता

न्यूजअभियान | प्रकाशित मिति : २०८३ कार्तिक २६ बिहीबार |
newsabhiyan

काठमाडौं । स्वास्थ्य तथा खाद्य स्वच्छतामन्त्री निशा मेहता टर्कीको अन्ताल्यामा आयोजित संयुक्त राष्ट्रसंघीय जलवायु परिवर्तनसम्बन्धी पक्ष राष्ट्रहरूको ३१औँ सम्मेलन (COP-31) तथा श्रीलङ्काको कोलम्बोमा आयोजित बहुक्षेत्रीय प्राविधिक तथा आर्थिक सहयोगका लागि बंगालको खाडीको प्रयास (BIMSTEC) अन्तर्गतका विभिन्न कार्यक्रममा नेपालको प्रतिनिधित्व गरी स्वदेश फर्किएकी छन्।

मन्त्री मेहता आज बिहान ११ः४५ बजे श्रीलङ्कन एयरमार्फत नेपाल आइपुगेकी हुन्। उनले दुवै अन्तर्राष्ट्रिय तथा क्षेत्रीय मञ्चमा नेपालको स्वास्थ्य क्षेत्रका प्राथमिकता, खाद्य स्वच्छता र जलवायु परिवर्तनले जनस्वास्थ्यमा पारेका असरबारे नेपालको धारणा प्रस्तुत गरेकी छन्।

टर्कीको अन्ताल्यामा आयोजित COP-31 का क्रममा मन्त्री मेहताले नेपाल पेभिलियनमा आयोजित ‘Health at the Heart of Climate Action: A Global Perspective’ विषयक प्यानल छलफलको अध्यक्षता गरेकी थिइन्।

उनले जलवायु परिवर्तनलाई गम्भीर स्वास्थ्य सङ्कटका रूपमा बुझ्नुपर्ने र जलवायु कार्ययोजनाको केन्द्रमा स्वास्थ्य क्षेत्रलाई राख्नुपर्नेमा जोड दिएकी थिइन्।

रसुवाको बाढीलगायत हिमाली क्षेत्रमा जलवायु परिवर्तनका कारण उत्पन्न विपद्ले जनस्वास्थ्य र स्वास्थ्य सेवा प्रवाहमा पारेको प्रत्यक्ष असरबारे नेपालको अनुभव प्रस्तुत गर्दै उनले अल्पविकसित मुलुकहरूलाई अनुदानमा आधारित जलवायु वित्तमा सहज पहुँच उपलब्ध गराउन अन्तर्राष्ट्रिय समुदायसँग आग्रह गरेकी थिइन्।

त्यस्तै, सम्मेलनमा सहभागी नेपाली युवा तथा विभिन्न संघसंस्थाका प्रतिनिधिहरूसँग भेटघाट गर्दै उनले जलवायु परिवर्तनसम्बन्धी छलफलका सबै सत्रमा स्वास्थ्यका सवाललाई प्राथमिकताका साथ उठाउन आग्रह गरेकी थिइन्।

यसैगरी, श्रीलङ्काको कोलम्बोमा आयोजित BIMSTEC को पहिलो स्वास्थ्य मन्त्रीस्तरीय बैठक तथा अन्य कार्यक्रमहरूमा सहभागी हुँदै मन्त्री मेहताले सदस्य राष्ट्रहरूबीच क्षेत्रीय सहकार्य विस्तार, ज्ञान तथा अनुभव आदानप्रदान र स्वास्थ्य प्रणालीको सुदृढीकरणमा जोड दिएकी थिइन्।

बैठकमा सदस्य राष्ट्रहरूले सामना गरिरहेका साझा स्वास्थ्य चुनौती, तिनको प्रभावकारी समाधान तथा क्षेत्रीय साझेदारी र आपसी समन्वयलाई थप प्रभावकारी बनाउने विषयमा छलफल भएको थियो। सो अवसरमा मन्त्री मेहताले विभिन्न देशका प्रतिनिधिहरूसँग द्विपक्षीय भेटघाटसमेत गरी स्वास्थ्य क्षेत्र सुधारका विषयमा छलफल गरेकी थिइन्।

दुवै अन्तर्राष्ट्रिय मञ्चमा नेपालको राष्ट्रिय हित, स्वास्थ्य क्षेत्रका प्राथमिकता, खाद्य स्वच्छता तथा जलवायु परिवर्तनले जनस्वास्थ्यमा पारेका चुनौतीलाई प्रस्तुत गर्दै मन्त्री मेहताको भ्रमण सम्पन्न भएको हो।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

न्यूज अभियान डट कमको एन्ड्रोइड एपका लागि यहाँ क्लिक गर्नुहोस् । हरेक खबर विशेष खबरका लागि अफिसियल फेसबुक र ट्वीटर मार्फत जोडिनुहोस् ।


न्यूज अभियान TV - ग्यालेरी

View All
newsabhiyan
newsabhiyan
newsabhiyan
newsabhiyan
newsabhiyan
newsabhiyan
newsabhiyan
newsabhiyan
newsabhiyan
newsabhiyan