गाजाको अस्पतालमा इजरायली आक्रमण, कम्तीमा छ जनाको मृत्यु
दक्षिणी गाजा पट्टीस्थित नासेर अस्पतालमा बिहीबार बिहान इजरायलले गरेको आक्रमणमा कम्तीमा छ जना प्यालेस्टिनीको मृत्यु भएको छ भने २० जना घाइते भएका छन् । प्यालेस्टिनी चिकित्सा अधिकारीले उक्त जानकारी दिएका हुन् ।
इजरायलले हमासका एक वरिष्ठ लडाकु तथा उक्त समूहको सशस्त्र शाखाका अन्य सदस्यलाई लक्षित गरी आक्रमण गरिएको जनाएको छ ।
खान युनिसस्थित नासेर अस्पतालको शल्यक्रिया विभागमा भएको आक्रमणबाट ठूलो क्षति पुगेको छ । गाजाको स्वास्थ्य मन्त्रालयले जारी गरेको विज्ञप्तिअनुसार, मृत्यु हुनेमा एक जना शल्य चिकित्सक पनि छन् ।
इजरायली सेना र सुरक्षा निकाय ‘शिन बेट’ले संयुक्त विज्ञप्ति जारी गर्दै हमासले उक्त अस्पताललाई कमान्ड सेन्टर, हतियार भण्डारणस्थल र सोधपुछ केन्द्रका रूपमा प्रयोग गरेको आरोप लगाएका छन् ।
गाजामा सन् २०२५ को अक्टोबरदेखि युद्धविराम लागू भए पनि पछिल्लो आक्रमण भएको हो ।
गाजाको स्वास्थ्य मन्त्रालयका अनुसार, सन् २०२३ को अक्टोबरमा युद्ध सुरु भएयता इजरायली आक्रमणमा परी कम्तीमा ७४ हजार ६५३ जनाको मृत्यु भइसकेको छ ।


