गिनीमा सुन खानी विवादमा १० जनाको मृत्यु
कोनाक्री, २७ कात्तिक : अवैध सुन खानीमा प्रतिबन्ध लगाउने सरकारी निर्णयपछि उत्तरपूर्वी गिनीमा सुरक्षा बल र खानी मजदुरबीच भएको झडपमा पाँच विदेशी नागरिकसहित कम्तीमा १० जनाको मृत्यु भएको छ । घटनामा सुरक्षाकर्मीसहित १३ जना घाइते भएका छन् ।
सरकारका अनुसार खनिज सम्पदाले धनी सिगुइरी जिल्लामा बुधबार झडप भएको हो । नोभेम्बर २ देखि प्रतिबन्ध लागू गर्न गस्तीमा खटिएका सुरक्षाकर्मीलाई प्रदर्शनकारीले अवरोध गरेपछि झडप भएको सरकारी विज्ञप्तिमा उल्लेख छ । घटनाबारे अनुसन्धान गर्न सरकारले सार्वजनिक अभियोजकलाई जिम्मेवारी दिएको छ ।
प्रतिबन्धपछि सुरक्षा बलले सुन खानीमा काम गर्न आएका दशौँ हजार विदेशी नागरिकलाई क्षेत्रबाट निष्कासन गरेको छ । झडपपछि प्रभावित क्षेत्रमा सुरक्षा व्यवस्था कडा पारिएको र मानिसहरू त्यहाँ जान डराएको स्थानीयले बताएका छन् ।
प्रत्यक्षदर्शीले घटनास्थलमा शव देखिएको र पसलहरूमा तोडफोड भएको बताएका छन् । झडपमा घाइते भएका एक स्थानीयका बुबाले सुरक्षा बलको कडा उपस्थितिका कारण उपचारका लागि सहयोग पाउन नसकेको जनाइएको छ ।
कारबाहीपछि छिमेकी मुलुक मालीतर्फ पनि ठूलो सङ्ख्यामा मानिस पुगेका छन् । माली सरकारले गिनीबाट करिब एक लाख ६० हजार मानिस निष्कासित भएको जनाउँदै त्यसबाट उत्पन्न मानवीय सङ्कटप्रति चिन्ता व्यक्त गरेको थियो ।


