Sunday 15th of November | २०८३ कार्तिक २९ आइतबार

न्यूज अभियान
हरेक खबर विशेष खबर

दशौँ राष्ट्रिय खेलकुदः कुस्तीतर्फ सुदूरबाट १८ खेलाडी छनोट

न्यूजअभियान | प्रकाशित मिति : २०८३ कार्तिक २९ आइतबार |

महेन्द्रनगर, २९ कात्तिकः कर्णाली प्रदेशको सुर्खेतमा हुने दशौँ बृहत् राष्ट्रिय खेकुलद प्रतियोगिताअन्तर्गत सुदूरपश्चिम प्रदेशबाट कुस्तीतर्फ १८ खेलाडी छनोट भएका छन् ।

    कञ्चनपुरको महेन्द्रनगरमा शनिबार भएको कुस्ती खेलको सुदूरपश्चिम प्रदेशस्तरीय छनोट प्रतियोगिताबाट १० पुरुष र १० महिला खेलाडी छनोट भएका कञ्चनपुरका कुस्ती प्रशिक्षक राजेन्द्र चन्दले जानकारी दिनुभयो । सुदूरपश्चिम प्रदेशबाट दशौँ राष्ट्रिय प्रतियोगिताका लागि पुरुष ५७ किलो तौल समूहमा कञ्चनपुरका रोहित सार्की, ६१ किलो तौलमा सुनिल चौधरी, ६५ किलो तौल समूहमा कैलाश शर्मा र ७० किलो तौलमा लक्ष्मण नगारी छनोट भएका छन् । 

    त्यसैगरी, ७४ किलो तौल समूहमा कञ्चनपुरकै ललित सार्की, ७९ किलो तौलमा दार्चुलाका पवन धामी, ८६ किलो तौल समूहमा कैलालीका सन्दिप सार्की र ९२ किलोमा कञ्चनपुरका महेश जोशी, ९७ मा हरिश चन्द र १२५ किलो तौल समूहमा कञ्चनपुरकै विनोद रैकाल छनोट भएको कुस्ती प्रशिक्षक चन्दले जानकारी दिनुभयो ।

    त्यसैगरी, महिलातर्फ पनि कञ्चनपुरका अधिकांश खेलाडी प्रदेशबाट छनोटमा परेका छन् । यहाँ महिला ५० किलो तौल समूहमा कञ्चनपुरकी बिनिता चौधरी, ५३ किलो तौल समूहमा दार्चुलाकी  सङ्गीता पाल छनोट भएका छन् भने ५५ किलो तौल समूहमा कञ्चनपुरकी कृतिका चन्द, ५७ किलो तौल समूहमा कञ्चनपुरकै कलावती अवस्थी, ५९ किलो तौलमा कञ्चनपुरकी निर्मला जाग्री, ६२ किलो तौल समूहमा कञ्चनपुरकै विमला सुनार, ७२ किलो तौल समूहमा कञ्चनपुरकी अञ्जली डगौंरा र ७६ किलो तौल समूहमा कञ्चनपुरकै माया भट्ट छनोट भएका छन् ।

    शनिबारदेखि दशौँ राष्ट्रिय खेलकुद प्रतियोगिताअन्तर्गत धनगढी र महेन्द्रनगरमा एकसाथ प्रदेशस्तरीय छनोट सुरु भएको छ भने पुरुष तथा महिला भलिबल छनोट डडेल्धुरामा हुँदैछ । सुदूरपश्चिम प्रदेश खेलकुद परिषद्का सदस्य लीला सिंह बोहराले शनिबारदेखि कञ्चनपुरको महेन्द्रनगरमा आठ खेलको प्रदेश छनोट भइरहेको जानकारी दिनुभयो । आगामी मङ्सिर १ गतेसम्म सञ्चालन हुने उक्त प्रतियोगिताबाट छनोट भएका ७५० खेलाडीले दशौँ राष्ट्रिय खेलकुद प्रतियोगितामा सुदूरपश्चिमको प्रतिनिधित्व गर्नेछन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

न्यूज अभियान डट कमको एन्ड्रोइड एपका लागि यहाँ क्लिक गर्नुहोस् । हरेक खबर विशेष खबरका लागि अफिसियल फेसबुक र ट्वीटर मार्फत जोडिनुहोस् ।


न्यूज अभियान TV - ग्यालेरी

View All
newsabhiyan
newsabhiyan
newsabhiyan
newsabhiyan
newsabhiyan
newsabhiyan
newsabhiyan
newsabhiyan
newsabhiyan
newsabhiyan