Wednesday 18th of November | २०८३ मङ्सिर २ बुधबार

न्यूज अभियान
हरेक खबर विशेष खबर

‘सशस्त्र प्रहरी बल जागिर खाने ठाउँ मात्र होइन, राष्ट्र र जनताको सेवामा समर्पित पवित्र संगठन हो’ : आईजीपी पौडेल

न्यूजअभियान | प्रकाशित मिति : २०८३ मङ्सिर २ बुधबार |
newsabhiyan

 

तालिमलाई व्यावहारिक, प्रविधिमैत्री र नेतृत्व विकासमा केन्द्रित गर्न निर्देशन

काठमाडौं । सशस्त्र प्रहरी बल नेपाल जागिर खाने ठाउँ मात्र नभई राष्ट्र र जनताको सेवा तथा सुरक्षामा समर्पित पवित्र संगठन भएको सशस्त्र प्रहरी महानिरीक्षक (आईजीपी) नारायण दत्त पौडेलले बताउनुभएको छ ।

मंसिर २ गते पोखरास्थित हुल तथा दंगा व्यवस्थापन तालिम शिक्षालय लामापाटनमा सञ्चालित सि.सं. १९ सशस्त्र प्रहरी निरीक्षक आधारभूत तालिमको उद्घाटन गर्दै आईजीपी पौडेलले संगठनको गौरव र प्रतिष्ठा कुनै एक व्यक्ति वा पुस्ताको मात्र नभई अग्रजहरूको योगदान, वर्तमान पुस्ताको कर्म र भावी पुस्ताको जिम्मेवारीसँग जोडिएको साझा धरोहर भएको उल्लेख गर्नुभयो ।

उहाँले अनुशासन र आदेशको पालना फौजी संगठनको मेरुदण्ड भएको स्पष्ट पार्दै कानुनको शासन, मानवअधिकारको संरक्षण, असल आचरण, नैतिक व्यवहार, व्यावसायिक दक्षता तथा निरन्तर सिकाइलाई आत्मसात् गरेर अघि बढ्न सम्पूर्ण सशस्त्र प्रहरी कर्मचारीलाई निर्देशन दिनुभयो ।

वर्तमान सुरक्षा चुनौतीहरू थप जटिल बन्दै गएको उल्लेख गर्दै आईजीपी पौडेलले भू–राजनीतिक प्रतिस्पर्धा, सीमा अपराध, संगठित अपराध, मानव बेचबिखन, लागूऔषध कारोबार, वित्तीय अपराध, साइबर सुरक्षा चुनौती, सूचना प्रविधिको दुरुपयोग, उग्रवाद तथा प्राकृतिक विपद् जस्ता विषयको सही विश्लेषण गर्न सक्ने दक्ष, प्रविधिमैत्री र परिणाममुखी जनशक्ति उत्पादनमा जोड दिनुपर्ने बताउनुभयो ।

सशस्त्र प्रहरी बल नेपाल ७७ वटै जिल्लामा परिचालित भई उत्तरको हिमाली भूगोलदेखि दक्षिणको तराईका समथर फाँटसम्म तथा पूर्वको ओलाङचुङगोलादेखि पश्चिम कञ्चनपुरको दोधाराचाँदनीसम्म अहोरात्र राष्ट्र र नागरिकको सेवामा समर्पित रहेको उहाँको भनाइ थियो ।

आधारभूत तालिम सेवा प्रवेशको औपचारिक प्रक्रिया मात्र नभई वृत्ति विकाससँगै चुनौतीपूर्ण परिस्थितिमा सक्षम नेतृत्व प्रदान गर्न सक्ने अधिकृतका रूपमा रूपान्तरण हुने आधारशिला भएको उल्लेख गर्दै उहाँले कार्यक्षेत्रको वास्तविक अवस्थासँग मेल खाने गरी व्यावहारिक र यथार्थपरक प्रशिक्षण सञ्चालन गर्न निर्देशन दिनुभयो ।

राष्ट्रसेवाको उच्च आदर्शबाट अभिप्रेरित भएर आफ्ना सन्ततिलाई राष्ट्रसेवामा समर्पित गराउने अभिभावकहरूप्रति आभार व्यक्त गर्दै आईजीपी पौडेलले तालिममा सहभागी सशस्त्र प्रहरी निरीक्षकहरूलाई सफलताको शुभकामना दिनुभयो ।

कार्यक्रमकै अवसरमा आईजीपी पौडेलले शिक्षालय परिसरमा वाटर रेस्क्यु तालिम प्रयोजनका लागि निर्माण गरिएको नवनिर्मित स्विमिङ पुलको उद्घाटनसमेत गर्नुभयो ।

५६ हप्ताको तालिममा ३७ निरीक्षक सहभागी

५६ हप्ता कार्यअवधि रहेको उक्त आधारभूत तालिममा साधारण समूह, साधारण उपसमूहतर्फ ३५ जना र साधारण समूह, लेखा उपसमूहतर्फ दुई जना गरी कुल ३७ जना सशस्त्र प्रहरी निरीक्षक सहभागी छन् । तालिममा चार जना महिला सशस्त्र प्रहरी निरीक्षकसमेत सहभागी रहेका छन् ।

कार्यक्रममा राष्ट्रिय सशस्त्र प्रहरी बल नेपाल प्रशिक्षण प्रतिष्ठानका कार्यकारी निर्देशक, नं. ४ मुक्तिनाथ वाहिनी मुख्यालय कास्कीका वाहिनीपति तथा सशस्त्र प्रहरी बल नेपालका वरिष्ठ एवं कनिष्ठ अधिकृत र बिल्लादार जवानहरूको उपस्थिति रहेको थियो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

न्यूज अभियान डट कमको एन्ड्रोइड एपका लागि यहाँ क्लिक गर्नुहोस् । हरेक खबर विशेष खबरका लागि अफिसियल फेसबुक र ट्वीटर मार्फत जोडिनुहोस् ।


न्यूज अभियान TV - ग्यालेरी

View All
newsabhiyan
newsabhiyan
newsabhiyan
newsabhiyan
newsabhiyan
newsabhiyan
newsabhiyan
newsabhiyan
newsabhiyan
newsabhiyan