सभामुख अर्याल र अध्यक्ष याङ्गबीच शिष्टचार भेट
काठमाडौँ, २ मङ्सिरः सभामुख डोलप्रसाद (डिपी) अर्यालसँग चिनियाँ जनसङ्घका अध्यक्ष याङ्ग वानमिङ्गले शिष्टाचार भेट गर्नुभएको छ ।
आज सिंहदरबारस्थित सभामुखको कार्यकक्षमा भएको भेटमा उहाँले नेपाल र चीनबीच रहिआएको ऐतिहासिक, घनिष्ठ एवं मैत्रीपूर्ण सम्बन्धलाई थप सुदृढ बनाउन जनस्तरको सम्बन्ध र सहकार्य विस्तार गर्नुपर्नेमा जोड दिनुभएको थियो ।
नेपाल–चीन सम्बन्ध पञ्चशीलका सिद्धान्त, पारस्परिक विश्वास, सम्मान र सहअस्तित्वमा आधारित रहेको उल्लेख गर्दै उहाँले नेपाल एक चीन नीतिप्रति दृढ रहेको र नेपाली भूमि चीनविरुद्ध कुनै पनि गतिविधिमा प्रयोग हुन नदिने प्रतिबद्धता व्यक्त गर्नुभयो ।
सभामुख अर्यालले दुई देशबीच कूटनीतिक सम्बन्ध स्थापनाको ७०औँ वार्षिकोत्सवले आपसी सम्बन्धलाई थप उचाइमा पु¥याउन महत्त्वपूर्ण योगदान गरेको बताउँदै शिक्षा, पर्यटन, संस्कृति, सूचना प्रविधि, कृषि तथा विपद् व्यवस्थापनलगायतका क्षेत्रमा सहकार्य विस्तार गर्नुपर्ने धारणा राख्नुभयो ।
उहाँले नेपालका स्थानीय तह र चीनका सहर तथा प्रान्तबीच भगिनी सम्बन्ध विस्तार, सांसद तथा युवा नेतृत्वको आदानप्रदान र अनुभव साझेदारीलाई प्राथमिकता दिनुपर्ने बताउनुभयो । साथै, जलवायु परिवर्तन, हिमनदी पग्लिने क्रम र हिमाली पारिस्थितिक प्रणाली संरक्षणमा दुवै देशबीच सहकार्य आवश्यक रहेको उहाँले बताउनुभयो ।
सभामुख अर्यालले विपद्का समयमा चीन सरकार एवं सम्बद्ध संस्थाले नेपाललाई पु¥याउँदै आएको सहयोगप्रति आभार व्यक्त गर्नुभएको सभामुखको सचिवालयले जनाएको छ ।
सो भेटमा चिनियाँ जनसङ्घका अध्यक्ष याङ वानमिङले नेपाल–चीनबीचको परम्परागत मित्रता र जनस्तरको सम्बन्धलाई थप प्रगाढ बनाउन आफ्नो संस्थाले निरन्तर भूमिका निर्वाह गर्ने प्रतिबद्धता व्यक्त गर्नुभयो । उहाँले दुई देशका स्थानीय तह, सहर तथा समुदायबीच रहेको भगिनी सम्बन्धलाई थप विस्तार गरी द्विपक्षीय भ्रमणसहित आदानप्रदान कार्यक्रमसहित लाभान्वित हुनुपर्ने धारणा व्यक्त गर्नुभएको सभामुखको सचिवालयले जनाएको छ ।


