Saturday 21st of November | २०८३ मङ्सिर ५ शनिबार

न्यूज अभियान
हरेक खबर विशेष खबर

तरकारीखेतीबाट वीरबहादुरको वार्षिक २५ लाख आम्दानी 

न्यूजअभियान | प्रकाशित मिति : २०८३ मङ्सिर ५ शनिबार | (रासस)

कञ्चनपुर, ५ मङ्सिरः कञ्चनपुरको भीमदत्त नगरपालिका–११ भुजेलाका वीरबहादुर खड्का एक दशकदेखि तरकारीखेती गर्दै आउनुभएको छ । उहाँले सुरुआतमा रु ५०० लगानीमा एक कट्ठा जग्गामा तरकारीखेती गर्नुभयो । उक्त तरकारीखेती बिक्रीबाट रु दश हजार आम्दानी भएपछि खड्काले तरकारीखेती बढाउँदै लग्नुभयो । 

    तरकारीखेतीबाट मनग्य आम्दानी हुन थालेपछि खड्काले खेती विस्तार गर्दै हाल तीन बिघा जग्गामा तरकारीखेती उत्पादन गर्दै आउनुभएको छ । विसं २०७२ देखि व्यावसायिक रुपमा तरकारीखेतीमा लाग्नुभएका उहाँले धान गहुँको भन्दा तीन गुणा बढीसम्म फाइदा हुने भएपछि तरकारीखेतीमा लागेको बताउनुभयो । 

    “एक कट्ठादेखि सुरुआत गरेको खेती बढाउँदै लगेको थिए, त्यसपछि कोरोना महामारी आयो”, खड्काले भन्नुभयो, “कोरोनाको कारण रोजगारीका लागि भारतमा रहेका दुई छोरा घरमा फर्किए, त्यसपछि तरकारीखेती बढाउँदै लग्याँै ।” 

    खड्काले हाल तीन बिघा जग्गामा तरकारीखेती गर्दै आउनुभएको छ । तरकारीखेतीबाट हुने आम्दानीले घरखर्चसँगै छोराछोरीको पठनपाठनको खर्चसमेत चलेको उहाँले बताउनुभयो । 

“सागसब्जी बिक्रीबाट सबै खर्च कटाएर वार्षिक रु २५ लाखसम्म आम्दानी हुने गरेको छ”, खड्काले भन्नुभयो, “यसकै आम्दानीले रु २० लाख लगानी गरेर छोरा विदेश पठाए, घर बनाए । पहिला साइकलमा सागसब्जी बजार लग्थे, अहिले तीन मोटरसाइकल जोडेको छु, ५० प्रतिशत अनुदानमा अटोरिक्सासमेत जाडेको छु ।” 

दुई जनालाई रु १५ हजार महिनाको तलब दिने गरी तथा ज्यालादारीमा करिब १०० जनाले वर्षभरिमा रोजगारी पाउने गरेका खड्काले बताउनुभयो । बिक्रीका लागि बजारको समस्या नभए पनि खुला सीमानाकाका कारण भारतबाट आउने सागसब्जीले भनेअनुसारको मूल्य नपाइने उहाँको भनाइ छ । 

“भारतबाट आयात हुने सागसब्जीका कारण हामीले उत्पादन गरेको सागसब्जीको सोचेजस्तो मूल्य पाइँदैन”, खड्काले भन्नुभयो, “हाम्रो लागत बढी हुन्छ, सस्तोमा तरकारी बिक्री गर्नुपर्ने बाध्यता छ ।” 

खड्काले काउली, बन्दा ब्रो–काउली,आलु, प्याज, भन्टा, खुर्सानीलगायत सागसब्जी उत्पादन गर्ने गरेको बताउनुभयो । “सिजनमा भन्दा पनि अफ सिजनमा सागसब्जी फलाउन सके पर्याप्त आम्दानी हुन्छ”, खड्काले भन्नुभयो, “सरकारले खेतीको बिमाको सुविधा दिएको भए राम्रो हुन्थ्यो ।”
 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

न्यूज अभियान डट कमको एन्ड्रोइड एपका लागि यहाँ क्लिक गर्नुहोस् । हरेक खबर विशेष खबरका लागि अफिसियल फेसबुक र ट्वीटर मार्फत जोडिनुहोस् ।


न्यूज अभियान TV - ग्यालेरी

View All
newsabhiyan
newsabhiyan
newsabhiyan
newsabhiyan
newsabhiyan
newsabhiyan
newsabhiyan
newsabhiyan
newsabhiyan
newsabhiyan