Saturday 21st of November | २०८३ मङ्सिर ५ शनिबार

न्यूज अभियान
हरेक खबर विशेष खबर

नयाँ पुस्तालाई भैलो नाच सिकाउँदै महोत्सव

न्यूजअभियान | प्रकाशित मिति : २०८३ मङ्सिर ५ शनिबार | (रासस)

तुलसीपुर (दाङ), ५ मङ्सिरः दाङको बङ्ग्लाचुली गाउँपालिकाले लोप हुने अवस्थामा पुगेको परम्परागत भैलो नाचको संरक्षण र नयाँ पुस्तामा हस्तान्तरण गर्ने उद्देश्यले प्रत्येक वर्ष परम्परागत भैलो महोत्सव आयोजना गर्दै आएको छ ।

    महोत्सवले पुरानो पुस्ताबाट नयाँ पुस्तामा भैलो नाचको सीप हस्तान्तरण गर्न सहयोग पुर्‍याएको छ । बङ्ग्लाचुली गाउँपालिका–४ तापाका १२ वर्षीय समीर पुन र १३ वर्षीया जागृति पुन यस वर्षदेखि परम्परागत भैलो नाच सिक्दै हुनुहुन्छ ।

    सुरुमा नाच्न केही कठिन भए पनि निरन्तर अभ्यासपछि सहज भएको समीरले बताउनुभयो । जागृतिले पुर्खाले जोगाएको संस्कृति नयाँ पुस्ताले पनि संरक्षण गर्नुपर्ने बताउनुभयो । “हामीले पुरानो पुस्ताको नाच संरक्षण गर्नुपर्छ । हामीले पनि बिर्सियौँ भने पुर्खाले जोगाएको संस्कृति हराएर जान्छ”, उहाँले भन्नुभयो ।

    उहाँहरूलाई ५१ वर्षीय बामदेव विकले भैलो नाच सिकाउनुभएको हो । उहाँले आफ्ना दिवङ्गत बुवा नारदबहादुर विकबाट मादल बजाउने सीप सिक्नुभएको थियो । अहिले उहाँ नयाँ पुस्तालाई परम्परागत भैलो नाच सिकाउँदै यसको संरक्षणमा लाग्न प्रोत्साहित गर्दै आउनुभएको छ ।

    नयाँ पुस्तालाई भैलो नाच सिकाउन भने चुनौती रहेको उहाँको अनुभव छ । “अहिलेका केटाकेटी डेगमा नाच्न रुचाउँछन्, मादलको तालमा नाच्न त्यति चासो दिँदैनन्”, उहाँले भन्नुभयो । पहिले गुरुको निर्देशन सबैले पालना गर्ने चलन भए पनि अहिलेका बालबालिकाले त्यसलाई त्यति महत्त्व नदिने गरेको उहाँले बताउनुभयो ।

    त्यस्तै, बङ्ग्लाचुली गाउँपालिका–१ स्युजाका ५१ वर्षीय प्रेमबहादुर दमाईले पनि युवालाई भैलो नाच सिकाउँदै आउनुभएको छ । उहाँले तीन वर्षदेखि स्थानीय १७ वर्षीय अमित दमाई र अस्मिन पुनलाई नाच सिकाइरहनुभएको छ ।

    भैलो नाचको सुरुआतदेखि नै विभिन्न विधि र प्रक्रिया सिकाउनुपर्ने उहाँले बताउनुभयो । “भैलो सुरु गर्दा समेरो बाँध्ने, चार दिशा देवी बाँध्ने र गुरु कुरुपट्टे लगाउनेलगायत विधि पूरा गर्नुपर्छ । हामीले नयाँ पुस्तालाई ती सबै कुरा सिकाउने गरेका छौँ”, उहाँले भन्नुभयो । मादल बजाउन नजाने पनि युवाले नाच्न भने सिक्न थालेको उहाँले बताउनुभयो ।

संरक्षणमा पालिकाको पहल

    लोप हुने अवस्थामा पुगेको परम्परागत भैलो नाचको संरक्षणका लागि बङ्ग्लाचुली गाउँपालिकाले प्रत्येक वर्ष हरिबोधिनी एकादशीका दिन परम्परागत भैलो महोत्सव आयोजना गर्दै आएको छ । यस वर्ष पनि शुक्रबार गाउँपालिकाको पर्यटकीय क्षेत्र वडा नं ५ स्थित बङ्ग्लाचुली लेकमा महोत्सव आयोजना गरिएको थियो । महोत्सवमा १७ भन्दा बढी भैलो नाच प्रस्तुत गरिएका थिए ।

    “भैलो नाच पुर्खाहरूले धेरै अघिदेखि नाच्दै आएको परम्परा हो । पछिल्लो समय यो लोप हुने अवस्थामा पुगेकाले संरक्षणका लागि प्रत्येक वर्ष महोत्सव आयोजना गर्दै आएका छौँ”, गाउँपालिका अध्यक्ष तुलसीराम पुनले भन्नुभयो ।

    पुरानो पुस्ताबाट नयाँ पुस्तामा भैलो नाच हस्तान्तरण हुन नसक्दा यसको निरन्तरतामा चुनौती थपिएको उहाँले बताउनुभयो । भैलो तिहारमा मात्र नाचिने नाच नभई यसमा ३० भन्दाबढी विधा समेटिने उहाँको भनाइ छ । भैलोका विभिन्न विधामा महाभारतका कथादेखि मायाप्रेमका विषयवस्तुसमेत समेटिने गरेको उहाँले जानकारी दिनुभयो ।
 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

न्यूज अभियान डट कमको एन्ड्रोइड एपका लागि यहाँ क्लिक गर्नुहोस् । हरेक खबर विशेष खबरका लागि अफिसियल फेसबुक र ट्वीटर मार्फत जोडिनुहोस् ।


न्यूज अभियान TV - ग्यालेरी

View All
newsabhiyan
newsabhiyan
newsabhiyan
newsabhiyan
newsabhiyan
newsabhiyan
newsabhiyan
newsabhiyan
newsabhiyan
newsabhiyan