दानबहादुर कार्कीको रिटमा आजै आदेश आउने तयारी, आईजीपी नियुक्तिको वैधानिकतामाथि सर्वोच्चको निर्णय कुर्दै
काठमाडौं, ९ मंसिर । नेपाल प्रहरीको महानिरीक्षक (आईजीपी) पदबाट हटाइएका दानबहादुर कार्कीले दायर गरेको रिट निवेदनमाथि सर्वोच्च अदालतमा सुनुवाइ अन्तिम चरणमा पुगेको छ।
दुवै पक्षको बहस सकिएपछि सर्वोच्च अदालतले बुधबार नै अन्तरिम आदेश जारी गर्ने वा नगर्ने भन्ने विषयमा निर्णय सुनाउने तयारी गरेको छ।
न्यायाधीशद्वय नृपध्वज निरौला र श्रीकान्त पौडेलको संयुक्त इजलासमा भइरहेको सुनुवाइमा रिट निवेदक कार्कीका तर्फबाट कानुन व्यवसायीहरूले आफ्नो बहस पूरा गरिसकेका छन्। त्यसपछि सरकारी पक्षका तर्फबाट महान्यायाधिवक्ताको कार्यालयका प्रतिनिधिले सरकारको निर्णयको प्रतिरक्षा गर्दै बहस गरिरहेका छन्।
सरकारी पक्षको बहस सकिएपछि नवनियुक्त प्रहरी महानिरीक्षक डा. मनोजकुमार केसीका तर्फबाट समेत कानुन व्यवसायीहरूले आफ्नो धारणा राख्नेछन्।
त्यसपछि निवेदक पक्षले जवाफी बहस गर्ने र अदालतले अन्तरिम आदेशसम्बन्धी निर्णय सुनाउने कार्यतालिका रहेको छ।
सरकारले गत कात्तिक १८ गते तत्कालीन प्रहरी महानिरीक्षक दानबहादुर कार्कीलाई उक्त जिम्मेवारीबाट हटाउँदै प्रधानमन्त्रीको सुरक्षा सल्लाहकारको जिम्मेवारी दिएपछि प्रहरी नेतृत्व परिवर्तनको विषय विवादमा परेको थियो। सरकारको उक्त निर्णयप्रति असन्तुष्टि जनाउँदै कार्कीले सर्वोच्च अदालतमा रिट निवेदन दायर गरेका थिए।
कार्कीले आफूलाई प्रहरी महानिरीक्षक पदबाट हटाउने सरकारी निर्णय गैरकानुनी, असंवैधानिक तथा विधिसम्मत प्रक्रिया विपरीत रहेको दाबी गरेका छन्। उनले आफ्नो पदावधि र कानुनी अधिकारको प्रश्न उठाउँदै आफूलाई हटाउने निर्णय बदर गर्न माग गरेका छन्।
त्यसैगरी, सरकारले नियुक्त गरेका नयाँ प्रहरी महानिरीक्षक मनोजकुमार केसीको नियुक्तिसमेत बदर गरी आफूलाई पुनः प्रहरी महानिरीक्षक पदमा बहाल गराउन उनले अदालतसँग माग गरेका छन्।
यो विवाद केवल एक प्रहरी अधिकारीको पदबहालीमा सीमित छैन। प्रहरी संगठनको नेतृत्व परिवर्तन गर्दा सरकारले अपनाउनुपर्ने कानुनी प्रक्रिया, प्रहरी महानिरीक्षकको पदको सुरक्षा, सरकारको अधिकार क्षेत्र तथा प्रशासनिक निर्णयको न्यायिक परीक्षणसँग समेत यो मुद्दा जोडिएको छ।
सर्वोच्च अदालतले आज जारी गर्ने अन्तरिम आदेशले कार्कीको पुनर्बहालीको माग तत्काल सम्बोधन गर्ने वा नगर्ने भन्ने विषयमा महत्वपूर्ण संकेत दिनेछ।
अदालतले अन्तरिम आदेश जारी गरेमा प्रहरी नेतृत्व परिवर्तनसम्बन्धी सरकारी निर्णयको कार्यान्वयनमा समेत प्रभाव पर्न सक्छ। आदेश जारी नभएमा भने तत्कालका लागि नयाँ प्रहरी महानिरीक्षक केसीको नेतृत्व यथावत् रहने अवस्था हुनेछ।
त्यसैले प्रहरी संगठनभित्र मात्र नभई सुरक्षा प्रशासन र कानुनी वृत्तमा समेत सर्वोच्च अदालतको निर्णयलाई चासोका साथ हेरिएको छ।
