Wednesday 25th of November | २०८३ मङ्सिर ९ बुधबार

न्यूज अभियान
हरेक खबर विशेष खबर

तनावबीच १२ बङ्गलादेशी खेलाडी आइपीएल लिलामीमा

न्यूजअभियान | प्रकाशित मिति : २०८३ मङ्सिर ९ बुधबार | (रासस-एएफपी)

नयाँदिल्ली, ९ मङ्सिर : भारत र बङ्गलादेशबीच राजनीतिक तनाव बढिरहेका बेला आगामी इन्डियन प्रिमियर लिग (आइपीएल) को खेलाडी लिलामीका लागि १२ जना बङ्गलादेशी क्रिकेटरले नाम दर्ता गराएका छन् ।

भारतीय क्रिकेट नियन्त्रण बोर्ड (बीसीसीआई) ले बुधबार सार्वजनिक गरेको प्रारम्भिक सूचीमा उनीहरू समेटिएका हुन् ।

आगामी डिसेम्बर १६ मा गोवामा हुने मिनी लिलामीका लागि कुल एक हजार २२० खेलाडीले नाम दर्ता गराएका छन् । तर, फ्रेन्चाइजी टोलीले खेलाडी छनोट गर्नुअघि सूची छोट्याइनेछ ।

बीसीसीआईका अनुसार लिलामीअघि टोलीहरूले १८४ खेलाडीलाई कायम राखेका वा छनोट गरिसकेका छन् । अब विदेशी खेलाडीका लागि २५ सहित अधिकतम ६६ स्थान भर्न बाँकी छ ।

भारत र बङ्गलादेशबीचको तनावले क्रिकेट सम्बन्धसमेत प्रभावित हुँदै आएको छ । सुरक्षा चिन्ताका कारण भारत सहआयोजक रहेको यस वर्षको ट्वान्टी–२० विश्वकपमा खेल्न अस्वीकार गरेपछि बङ्गलादेश प्रतियोगिताबाट बाहिरिएको थियो ।

यसअघि गत वर्षको आइपीएल लिलामीमा १० लाख अमेरिकी डलरभन्दा बढी मूल्यमा कोलकाता नाइट राइडर्सले अनुबन्ध गरेका बङ्गलादेशी तीव्र गतिका बलर मुस्ताफिजुर रहमानलाई टोलीबाट हटाउन बीसीसीआईले निर्देशन दिएको थियो ।

मुस्लिम बहुल बङ्गलादेशमा हिन्दूमाथि भएको भनिएको आक्रमणलाई लिएर भारतका दक्षिणपन्थी समूहले अनलाइन विरोध गरेपछि उक्त निर्णय आएको थियो । ढाकाले भने भारतीय सञ्चारमाध्यमले हिंसाको परिमाण बढाइचढाइ गरेको आरोप लगाउँदै आएको छ ।

सन् २०२४ मा बङ्गलादेशमा भएको जनविद्रोहबाट भारतको निकट सहयोगी तत्कालीन प्रधानमन्त्री शेख हसिना सत्ताच्युत भएपछि दुई देशबीचको सम्बन्ध थप तनावपूर्ण बनेको हो । हसिना हाल भारतमा निर्वासनमा रहनुभएको छ ।

यसपटक लिलामीका लागि दर्ता भएका चर्चित खेलाडीमध्ये इङ्ग्ल्यान्डका अलराउन्डर बेन स्टोक्स पनि हुनुहुन्छ । उहाँको आधार मूल्य दुई लाख १६ हजार ९०० अमेरिकी डलर तोकिएको छ ।

प्रारम्भिक सूचीमा सबैभन्दा धेरै ९३९ जना भारतीय खेलाडी छन् । विदेशी खेलाडीमध्ये अस्ट्रेलियाका ५३, दक्षिण अफ्रिकाका ४०, वेस्ट इन्डिजका ३६, न्युजिल्यान्डका २५ र अफगानिस्तानका २३ जना छन् । यस्तै, अमेरिकाका १३ तथा संयुक्त अरब इमिरेट्स र नेपालका १०–१० खेलाडीले नाम दर्ता गराएका छन् ।

लिलामीपछि फ्रेन्चाइजी टोलीहरूले आगामी वर्षको आइपीएल प्रतियोगिताका लागि आफ्नो टोलीलाई अन्तिम रूप दिनेछन् । 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

न्यूज अभियान डट कमको एन्ड्रोइड एपका लागि यहाँ क्लिक गर्नुहोस् । हरेक खबर विशेष खबरका लागि अफिसियल फेसबुक र ट्वीटर मार्फत जोडिनुहोस् ।


न्यूज अभियान TV - ग्यालेरी

View All
newsabhiyan
newsabhiyan
newsabhiyan
newsabhiyan
newsabhiyan
newsabhiyan
newsabhiyan
newsabhiyan
newsabhiyan
newsabhiyan