आनी छोइङको नियुक्तिमाथि सर्वोच्चको प्रश्न : सरकारसँग माग्यो आधार र कारण
अन्तरिम आदेशबारे छलफल गर्न विपक्षीलाई बोलाइयो, नागरिकता र सम्पत्ति शुद्धीकरणसम्बन्धी विवादले नियुक्तिको वैधानिकतामाथि प्रश्न
काठमाडौं, ९ मंसिर । लुम्बिनी विकास कोषको उपाध्यक्षमा आनी छोइङ डोल्मालाई नियुक्त गर्ने सरकारको निर्णय कानुनी रूपमा उचित छ वा छैन भन्ने विषयमा सर्वोच्च अदालतले सरकारसँग जवाफ मागेको छ।
नियुक्तिविरुद्ध परेको रिटमाथि प्रारम्भिक सुनुवाइ गर्दै सर्वोच्च अदालतले सरकारका नाममा कारण देखाउ आदेश जारी गरेको हो। अदालतको आदेशसँगै आनी छोइङको नियुक्तिको वैधानिकतामाथि न्यायिक परीक्षण सुरु भएको छ।
बुधबार न्यायाधीश रत्नबहादुर बागचन्दको एकल इजलासले आनी छोइङ डोल्मालाई लुम्बिनी विकास कोषको उपाध्यक्षमा नियुक्त गर्नुको कानुनी आधार, प्रक्रिया र कारणसहित लिखित जवाफ पेस गर्न नेपाल सरकार, संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालय र लुम्बिनी विकास कोषलगायत विपक्षीका नाममा आदेश जारी गरेको छ।
अदालतले नियुक्तिविरुद्ध अन्तरिम आदेश जारी गर्नुपर्ने वा नपर्ने भन्ने विषयमा छलफल गर्नसमेत विपक्षीहरूलाई उपस्थित हुन भनेको छ। यसका लागि दुवै पक्षलाई छलफलमा सहभागी गराउने आदेश भएको हो। अब सरकार र सम्बन्धित निकायले अदालतसमक्ष नियुक्तिको औचित्य पुष्टि गर्नुपर्नेछ।
आनी छोइङ डोल्माको नागरिकतासम्बन्धी विवाद तथा सम्पत्ति शुद्धीकरणसम्बन्धी मुद्दा विचाराधीन रहेको अवस्थामा उनलाई राज्यको महत्वपूर्ण सार्वजनिक निकायको नेतृत्वमा नियुक्त गरिएको भन्दै रिट निवेदकहरूले सरकारको निर्णयमाथि प्रश्न उठाएका छन्।
विवाद निरूपण नभइसकेको अवस्थामा सार्वजनिक पदमा नियुक्ति गर्नु कानुनी मापदण्ड र सुशासनको सिद्धान्तअनुकूल नभएको उनीहरूको जिकिर छ।
राष्ट्रिय जेनजी नागरिक अभियानका संयोजक सुनिल सिंहसहितले सर्वोच्च अदालतमा दायर गरेको रिटमा सार्वजनिक पदाधिकारीको नियुक्ति र योग्यतासम्बन्धी मापदण्ड, २०७१ लाई समेत आधार बनाइएको छ।
उक्त मापदण्डअनुसार आनी छोइङ डोल्मा लुम्बिनी विकास कोषको उपाध्यक्ष पदका लागि योग्य नरहेको दाबी रिट निवेदकहरूले गरेका छन्।
रिटमा नियुक्तिको निर्णय बदर गर्न तथा विवादको अन्तिम निरूपण नहुँदासम्म नियुक्ति कार्यान्वयन नगर्न अन्तरिम आदेश जारी गर्न माग गरिएको छ।
सार्वजनिक पदमा नियुक्ति गर्दा व्यक्तिको योग्यता, कानुनी हैसियत, नैतिक आचरण र सम्बन्धित कानुनले निर्धारण गरेका सर्तहरूको पालना हुनुपर्ने निवेदकहरूको तर्क छ।
सरकारले भने लुम्बिनी विकास कोष ऐन, २०४२ को व्यवस्थालाई आधार बनाएर आनी छोइङलाई उपाध्यक्षमा मनोनीत गरेको हो।
गत असोज ३० गते बसेको मन्त्रिपरिषद् बैठकले संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयको सिफारिसमा ऐनको दफा ८ को उपदफा १ (ख) बमोजिम उनलाई उपाध्यक्षमा नियुक्त गर्ने निर्णय गरेको थियो।
लुम्बिनी विकास कोष बुद्ध जन्मस्थल लुम्बिनीको संरक्षण, विकास, व्यवस्थापन तथा अन्तर्राष्ट्रिय स्तरमा प्रवर्द्धन गर्ने उद्देश्यले स्थापित महत्वपूर्ण सरकारी निकाय हो। यसको नेतृत्वमा हुने नियुक्ति केवल प्रशासनिक निर्णयमा सीमित नभई राष्ट्रिय तथा अन्तर्राष्ट्रिय महत्वसँग समेत जोडिने विषय हो।
त्यसैले नियुक्तिका क्रममा सरकारले कानुनी प्रक्रिया, योग्यता र सार्वजनिक पदको मर्यादा पालना गरेको थियो वा थिएन भन्ने प्रश्न अहिले न्यायिक परीक्षणको विषय बनेको छ।
यद्यपि, सर्वोच्च अदालतले कारण देखाउ आदेश जारी गर्दैमा नियुक्ति गैरकानुनी ठहर भएको भने होइन। सरकारको लिखित जवाफ र दुवै पक्षको बहसपछि मात्रै अन्तरिम आदेश तथा रिटको अन्तिम टुंगो लाग्नेछ।
अब सरकारको जवाफले आनी छोइङको नियुक्तिको कानुनी आधार स्पष्ट पार्नेछ भने सर्वोच्चको आगामी निर्णयले उक्त नियुक्तिको भविष्य निर्धारण गर्नेछ।
