Wednesday 25th of November | २०८३ मङ्सिर ९ बुधबार

न्यूज अभियान
हरेक खबर विशेष खबर

न्यूजिल्यान्डको भुक्तानी पूर्वाधार थप सुदृढ बनाउने तयारी

न्यूजअभियान | प्रकाशित मिति : २०८३ मङ्सिर ९ बुधबार | (रासस/सिन्ह्वा)

न्यूजिल्यान्डको केन्द्रीय बैंकले आधुनिक अर्थतन्त्रको आवश्यकता सम्बोधन गर्दै डिजिटल विश्व अर्थतन्त्रसँग प्रभावकारी रूपमा जोडिन देशको खुद्रा भुक्तानी प्रणालीलाई थप आधुनिक र प्रविधिमैत्री बनाउनुपर्नेमा जोड दिएको छ ।

    अकल्यान्डमा बुधबार आयोजित ‘द पोइन्ट’ सम्मेलनलाई सम्बोधन गर्दै रिजर्भ बैंक अफ न्यूजिल्यान्डकी सहायक गभर्नर करेन सिल्कले देशको विद्यमान भुक्तानी प्रणाली विश्वसनीय रहे पनि भविष्यका चुनौती र आवश्यकताहरू सम्बोधन गर्न थप सुधार आवश्यक रहेको बताउनुभयो ।

    उहाँले न्यूजिल्यान्डले सातै दिन अन्तरबैंक भुक्तानी सेवा सञ्चालन तथा नियमन गरिएको खुला बैंकिङ प्रणालीको विकासमार्फत महत्त्वपूर्ण उपलब्धि हासिल गरेको उल्लेख गर्नुभयो । तर, आगामी दिनमा अर्थतन्त्रको आवश्यकता पूरा गर्न समग्र भुक्तानी प्रणालीलाई थप सक्षम, सहज र प्रभावकारी बनाउनुपर्ने उहाँको भनाइ थियो ।

    ‘हाम्रो उद्देश्य अन्तर्राष्ट्रिय समकक्षीहरू आज जहाँ पुगेका छन्, त्यहाँसम्म पुग्नु मात्रै हुनुहुँदैन। विश्वको आगामी प्रविधिगत दिशाअनुसार आफूलाई अनुकूल बनाउन सक्ने भुक्तानी प्रणाली निर्माण गर्नुपर्छ,’ सिल्कले बताउनुभयो ।

    उहाँका अनुसार विभिन्न मुलुकले भुक्तानी प्रणालीबीचको अन्तरआबद्धता विस्तार, अन्तर्राष्ट्रिय कारोबारलाई सहज बनाउने तथा नवीन भुक्तानी प्रविधिको विकासमा लगानी बढाइरहेका छन् ।

    रिजर्भ बैंकका अनुसार आधुनिक भुक्तानी पूर्वाधारले व्यावसायिक कारोबारमा हुने अवरोध र लागत घटाउन, प्रतिस्पर्धा तथा नवप्रवर्तनलाई प्रोत्साहन गर्न र भुक्तानी प्रणालीको सुरक्षा तथा जोखिम सामना गर्ने क्षमता अभिवृद्धि गर्न महत्त्वपूर्ण योगदान पु¥याउनेछ ।

    यसका साथै उपभोक्तालाई भुक्तानीका थप विकल्प उपलब्ध गराउँदै सेवाप्रतिको विश्वास बढाउन र न्यूजिल्यान्डलाई डिजिटल रूपमा विकसित हुँदै गएको विश्व अर्थतन्त्रसँग थप मजबुत रूपमा जोड्न पनि सहयोग पुग्ने बैंकले जनाएको छ ।
 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

न्यूज अभियान डट कमको एन्ड्रोइड एपका लागि यहाँ क्लिक गर्नुहोस् । हरेक खबर विशेष खबरका लागि अफिसियल फेसबुक र ट्वीटर मार्फत जोडिनुहोस् ।


न्यूज अभियान TV - ग्यालेरी

View All
newsabhiyan
newsabhiyan
newsabhiyan
newsabhiyan
newsabhiyan
newsabhiyan
newsabhiyan
newsabhiyan
newsabhiyan
newsabhiyan