भोटेकोशी बाढीपीडितलाई २९ करोड ६१ लाखभन्दा बढी नगद सहायता वितरण
१० साझेदार संस्थामार्फत नुवाकोट, रसुवा, धादिङ र गोरखाका १२ पालिकाका प्रभावित घरपरिवार लाभान्वित
काठमाडौं । रसुवा भोटेकोशी बाढीबाट प्रभावित परिवारको बसोबास तथा जीविकोपार्जनमा सहयोग पुर्याउने उद्देश्यले १० वटा साझेदार संस्थाले हालसम्म २९ करोड ६१ लाख ७५ हजार रुपैयाँ नगद सहायता वितरण गरेका छन्।
नेपाल सरकार, मन्त्रिपरिषद्को २०८३ भदौ २५ गतेको निर्णयअनुसार बाढी प्रभावित परिवारलाई बहुउद्देश्यीय नगद सहायता (मल्टिपर्पोज क्यास असिस्टेन्स) उपलब्ध गराइएको हो। नुवाकोट, रसुवा, धादिङ र गोरखा जिल्लाका १२ वटा स्थानीय तहका प्रभावित घरपरिवारलाई लक्षित गरी उक्त रकम वितरण गरिएको जनाइएको छ।
बाढीका कारण घरबार तथा जीविकोपार्जनमा क्षति व्यहोरेका परिवारलाई तत्कालीन आवश्यकता पूरा गर्न र सामान्य जनजीवनमा फर्किन सहयोग पुर्याउने उद्देश्यले नगद सहायता कार्यक्रम सञ्चालन गरिएको हो। यस कार्यक्रमअन्तर्गत प्रभावित परिवारले आफ्नो आवश्यकता र प्राथमिकताअनुसार बसोबास तथा जीविकोपार्जनका लागि रकम उपयोग गर्न सक्नेछन्।
नगद सहायता प्राप्त गर्ने स्थानीय तहहरूमा नुवाकोटको विदुर नगरपालिका, किस्पाङ गाउँपालिका र तारकेश्वर गाउँपालिका रहेका छन्। त्यस्तै, रसुवाका उत्तरगया, गोसाइँकुण्ड, कालिका, आमाछोदिङमो र नौकुण्ड गाउँपालिकामा पनि सहायता वितरण गरिएको छ।
यसैगरी, धादिङका गल्छी, गजुरी र बेनीघाट रोराङ गाउँपालिका तथा गोरखाको गण्डकी गाउँपालिकाका बाढी प्रभावित घरपरिवारले समेत उक्त सहायता प्राप्त गरेका छन्।
नगद सहायता वितरणमा विश्व खाद्य कार्यक्रम (डब्लूएफपी), नेपाल रेडक्रस सोसाइटी, प्लान इन्टरनेशनल, युनिसेफ, पिपल इन निड, वर्ल्ड भिजन, हेल्भेटास, एससिआई, डीसीए र सीआरएस गरी १० वटा राष्ट्रिय तथा अन्तर्राष्ट्रिय साझेदार संस्था संलग्न रहेका छन्।
यसैबीच, बसोबास तथा जीविकोपार्जन अनुदान प्राप्त गर्न बाँकी रहेका प्रभावित परिवारले पनि अनुदानका लागि निवेदन दिन सक्ने व्यवस्था गरिएको छ। त्यसका लागि 'भोटेकोशी बाढी प्रभावितका लागि बसोबास र जीविकोपार्जन अनुदान रकम वितरण प्रक्रिया, २०८३' मा उल्लेख गरिएका आवश्यक कागजात संलग्न गरी सम्बन्धित वडा कार्यालयमा निवेदन पेस गर्नुपर्नेछ।
सरकारले तोकेको प्रक्रिया पूरा गरी अनुदानबाट वञ्चित भएका वास्तविक प्रभावित परिवारलाई समेत सहायता उपलब्ध गराउने उद्देश्यले निवेदन दिने व्यवस्था गरिएको हो। यसले बाढीबाट प्रभावित परिवारको पुनःस्थापना तथा जीविकोपार्जनलाई सहज बनाउन सहयोग पुग्ने अपेक्षा गरिएको छ।
(तस्विरहरु क्रमश: विश्व खाद्य कार्यक्रम, प्लान इन्टरनेशनल र पिपल इन निड)
