Friday 27th of November | २०८३ मङ्सिर ११ शुक्रबार

न्यूज अभियान
हरेक खबर विशेष खबर

गगन थापासहितका नेताविरुद्ध बयान दिन दबाब, यातना र परिवारलाई ज्यान मार्ने धम्की दिएको इनम सापकोटाको आरोप

न्यूजअभियान | प्रकाशित मिति : २०८३ मङ्सिर ११ शुक्रबार |
newsabhiyan

काठमाडौं । नेपाली कांग्रेसका सभापति गगनकुमार थापासहित विभिन्न राजनीतिक नेता, व्यवसायी तथा पूर्वप्रधानन्यायाधीशविरुद्ध बयान दिन आफूलाई दबाब दिइएको र बयान दिन अस्वीकार गर्दा शारीरिक तथा मानसिक यातना दिइएको भन्दै इनम सापकोटाले जीवन रक्षाको माग गरेका छन् । सापकोटाले आफ्नी श्रीमती कविता सापकोटामार्फत राष्ट्रिय मानव अधिकार आयोगमा उजुरी दर्ता गराउँदै आफू र आफ्नो परिवारको जिउज्यानको सुरक्षा सुनिश्चित गर्न माग गरेका हुन् ।

आफूलाई नियन्त्रणमा लिएर आँखामा कालोपट्टी बाँध्दै अज्ञात स्थानमा पुर्‍याइएको, लामो समयसम्म सोधपुछ गरिएको र परिवारसमेतलाई ज्यान मार्ने धम्की दिई आफूले चाहेको व्यक्तिविरुद्ध बयान दिन बाध्य पार्न खोजिएको सापकोटाको आरोप छ ।

कांग्रेसको आधिकारिकताका लागि १८ करोड रुपैयाँ दिएको भन्दै इनम सापकोटाको बयान भनिएको एउटा अडियो सार्वजनिक भएपछि यो प्रकरण राजनीतिक वृत्तमा चर्चामा आएको थियो । उक्त अडियो प्रधानमन्त्रीका सल्लाहकारको योजनामा सुनियोजित रूपमा रेकर्ड गरी सार्वजनिक गरिएको भन्दै नेपाली कांग्रेसले खण्डन गरेको थियो । सरकारले बिचौलियाको आरोपमा सापकोटालाई पक्राउ गरेको थियो । तर, अहिले मानव अधिकार आयोगमा परेको उजुरीले उक्त प्रकरणमा बयान तयार पार्न दबाब, धम्की र सम्भावित मानव अधिकार उल्लंघनको गम्भीर प्रश्न उठाएको छ ।

आयोगमा दर्ता गरिएको निवेदनअनुसार २०८३ असोज १४ गते नयाँदिल्ली जान त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल पुगेका बेला अन्तिम सुरक्षा जाँचस्थलबाट प्रहरीले सापकोटालाई नियन्त्रणमा लिएको थियो । त्यस क्रममा आफूसँग रहेका दुईवटा मोबाइल फोन खोसिएको र आँखामा पट्टी बाँधेर अज्ञात स्थानमा लगिएको उनको भनाइ छ । असोज १४ गतेदेखि १५ गते साँझसम्म आँखामा कालोपट्टी बाँधेरै राखेर विभिन्न विषयमा सोधपुछ गरिएको निवेदनमा उल्लेख छ ।

सापकोटाका अनुसार सोधपुछका क्रममा कांग्रेस सभापति गगनकुमार थापा, पूर्वप्रधानन्यायाधीश चोलेन्द्रशमशेर जबरा, कांग्रेस नेता तथा व्यवसायी उमेश श्रेष्ठ, भाटभटेनी सुपरमार्केटका सञ्चालक मीनबहादुर गुरुङ, हिमालय होटलका नवीन तुलाधर तथा सर्वोच्च अदालतमा कार्यरत केही न्यायाधीशविरुद्ध प्रमाण र बयान दिन दबाब दिइएको थियो ।

आफूलाई तीमध्ये केही व्यक्तिसँग राम्रो व्यक्तिगत सम्बन्ध रहेको, केही गुरु तथा शिक्षकसमेत रहेको र केहीलाई चिन्दै नचिनेको अवस्थामा जानकारी नै नभएका विषयमा बयान दिन दबाब दिइएको सापकोटाको दाबी छ । बयान दिन अस्वीकार गरेपछि ‘तिमीविरुद्ध हाम्रो व्यक्तिगत केही छैन, यी व्यक्तिहरूका विषयमा प्रमाण र बयान दिए छाडिदिन्छौँ, नत्र तिमी मात्र होइन, तिम्रो परिवारलाई समेत नराम्रो हुन्छ’ भन्दै धम्क्याइएको निवेदनमा उल्लेख छ ।

असोज १६ गते बिहान करिब ८ः३० बजे हतकडी लगाएर दुईवटा सुटकेससहित काठमाडौंको पानीपोखरीस्थित निवासमा पुर्‍याइएको र त्यसपछि पुनः आँखामा पट्टी बाँधेर गाडीमा राखी जिल्ला प्रहरी परिसर, भद्रकाली लगिएको सापकोटाले जनाएका छन् । आफूले भनेअनुसार बयान नदिए लामो समय जेलमा सडाउने गरी झुटा मुद्दा लगाउने र परिवारको जिउज्यानसमेत जोखिममा पार्ने धम्की दिइएको उनको आरोप छ ।

त्यसपछि केही कुरा पढ्न लगाएर त्यसैका आधारमा तयार पारिएको कागजमा हस्ताक्षर गर्न दबाब दिइएको पनि निवेदनमा उल्लेख छ । प्रहरीद्वारा घर खानतलासी गर्दा पुरानो ल्यापटप, मोबाइल फोन र केही कागजात नियन्त्रणमा लिइएको तर बरामदी मुचुल्कामा वास्तविकताभन्दा फरक विवरण राखिएको सापकोटाको दाबी छ । सुटकेसको साइड ब्यागबाट विदेशी मुद्रा बरामद भएको देखाइएको र दुई दिनअघि विमानस्थलबाट खोसिएको आईफोनसमेत घरबाट बरामद भएको भनी उल्लेख गर्न खोजिएको उनको आरोप छ ।

सापकोटाले आफूलाई नियन्त्रणमा लिने, यातना दिने, धम्की दिने र झुटा विवरण तयार गर्ने कार्यमा संलग्न व्यक्तिहरूको पहिचान गरी कानुनी कारबाही गर्न आयोगसँग माग गरेका छन् ।

राजनीतिक व्यक्तित्व र व्यवसायीविरुद्ध प्रमाण जुटाउने नाममा कसैलाई नियन्त्रणमा लिएर इच्छाअनुसार बयान दिन बाध्य पारिएको हो भने त्यो सामान्य अनुसन्धानको विषय मात्र होइन, राज्यको अनुसन्धान प्रणाली र मानव अधिकारको गम्भीर परीक्षा हो । अर्कोतर्फ, सार्वजनिक भएको अडियो र त्यसमा उठाइएका आर्थिक तथा राजनीतिक प्रश्नको निष्पक्ष अनुसन्धान हुनु पनि उत्तिकै आवश्यक छ । अब राष्ट्रिय मानव अधिकार आयोगले सापकोटाको उजुरीमाथि निष्पक्ष छानबिन गरी आरोपको सत्यतथ्य सार्वजनिक गर्नुपर्ने चुनौती खडा भएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

न्यूज अभियान डट कमको एन्ड्रोइड एपका लागि यहाँ क्लिक गर्नुहोस् । हरेक खबर विशेष खबरका लागि अफिसियल फेसबुक र ट्वीटर मार्फत जोडिनुहोस् ।


न्यूज अभियान TV - ग्यालेरी

View All
newsabhiyan
newsabhiyan
newsabhiyan
newsabhiyan
newsabhiyan
newsabhiyan
newsabhiyan
newsabhiyan
newsabhiyan
newsabhiyan