कानुन व्यवसाय मर्यादित हुनुपर्छ: महान्यायाधिवक्ता कँडेल
गण्डकी, १३ मङ्सिर : महान्यायाधिवक्ता डा नारायणदत्त कँडेलले कानुन व्यवसाय मर्यादित र जिम्मेवार हुनुपर्ने बताउनुभएको छ ।
नेपाल कानुन व्यवसायी परिषद्, लयर्स एकेडमी समितिद्वारा शनिबार पोखरामा आयोजित ‘प्रोसेस बेस्ड ट्रेनिङ अफ ट्रेनर्स’ विषयक प्रशिक्षणको समापन सत्रमा उहाँले कानुन व्यवसायीको योग्यता, क्षमता र नैतिकतामाथि प्रश्न नउठ्ने गरी कार्यसम्पादन गर्नुपर्ने बताउनुभयो ।
“नेपाल कानुन व्यवसायी परिषद्को उद्देश्य नै सक्षम कानुन व्यवसायी र मर्यादित कानुन व्यवसाय बनाउनु हो”, महान्यायाधिवक्ता डा कँडेलले भन्नुभयो, “यो प्रशिक्षक प्रशिक्षण तालिम पनि सोही उद्देश्य हासिल गर्नका लागि आयोजना गरिएको हो ।”
उहाँले तालिममा प्रशिक्षित कानुन व्यवसायीले जिल्लामा अन्य कानुन व्यवसायीलाई थप सक्षम बनाउन भूमिका खेल्ने विश्वास व्यक्त गर्नुभयो । कानुन व्यवसायीले कानुन र न्यायको ज्ञानमात्र आर्जन गरेर नहुने भन्दै उहाँले सामाजिक, राजनीतिक क्षेत्र, प्रविधि आदिमा आएको परिवर्तनसँग अनुकूलन र अभ्यस्त हुनुपर्नेे बताउनुभयो ।
तालिममा सहभागी कानुन व्यवसायीलाई नेपाल कानुन व्यवसायी परिषद्का अध्यक्षसमेत रहनुभएका महान्यायाधिवक्ता कँडेलले प्रमाणपत्र प्रदान गर्नुभएको थियो । तालिममा गण्डकी प्रदेशका विभिन्न जिल्लाका कानुन व्यवसायीहरू सहभागी थिए ।
---
