Sunday 29th of November | २०८३ मङ्सिर १३ आइतबार

न्यूज अभियान
हरेक खबर विशेष खबर

उपत्यकामा एकै दिन ६७५ सवारीचालक ट्राफिक कारबाहीमा

न्यूजअभियान | प्रकाशित मिति : २०८३ मङ्सिर १३ आइतबार |
newsabhiyan

काठमाडौँ, १३ मङ्सिरः काठमाडौँ उपत्यकामा ट्राफिक नियम उल्लङ्घन गर्ने ६७५ जना सवारीचालक एकै दिन कारबाहीमा परेका छन् ।

काठमाडौँ उपत्यका ट्राफिक प्रहरी कार्यालयले उपत्यकाका विभिन्न स्थानमा गरेको नियमित तथा विशेष चेकजाँचका क्रममा उनीहरूलाई कारबाही गरेको हो ।

कार्यालयका प्रवक्ता एवं प्रहरी उपरीक्षक नरेशराज सुवेदीका अनुसार कारबाहीमा पर्नेमा मादक पदार्थ सेवन (मापसे) गरी सवारी चलाउने १०३, सिसिटिभी निगरानीबाट पहिचान भएका ३५, ट्राफिक बत्तीको सङ्केत उल्लङ्घन गर्ने ३६ र तीव्र गतिमा सवारी चलाउने ११३ जना छन् ।

त्यस्तै, निषेधित क्षेत्रमा हर्न बजाउने १६, सवारीसाधनको अवस्था दुरुस्त नराख्ने २५, लेन पालना नगर्ने तीन तथा एकतर्फी रुपमा सवारी हुइक्याउने आठ जना कारबाहीमा परेका छन् । अन्य विभिन्न ट्राफिक नियम उल्लङ्घन गर्ने ३३६ जना चालकलाई जरिवानासहित कारबाही गरिएको प्रवक्ता सुवेदीले जानकारी दिनुभयो ।

उहाँका अनुसार सडक दुर्घटना न्यूनीकरण, सवारी आवागमन व्यवस्थित र ट्राफिक नियमको प्रभावकारी कार्यान्वयनका लागि उपत्यकामा निगरानी तथा चेकजाँचलाई तीव्रता दिइएको छ । 

ट्राफिक कारबाहीको उद्देश्य जरिवाना असुल गर्नु मात्र नभई सडक दुर्घटना न्यूनीकरण गर्दै नागरिकको सुरक्षित यात्रा सुनिश्चित गर्नु रहेको उहाँले बताउनुभयो ।

विशेषगरी मापसे गरी सवारी चलाउने, तीव्र गति अपनाउने र ट्राफिक सङ्केतको बेवास्ता गर्ने प्रवृत्तिले दुर्घटनाको जोखिम बढाउने भएकाले त्यस्ता गतिविधि नियन्त्रणमा विशेष निगरानी गरिएको उहाँको भनाइ छ ।

ट्राफिक प्रहरीले मुख्य सडक तथा बढी सवारी चाप हुने चोकमा नियमित चेकजाँच र सिसिटिभी निगरानीमार्फत नियम उल्लङ्घन गर्ने चालकको पहिचान गरी कारबाही गर्दै आएको छ ।

प्रहरीले सडक अनुशासन कायम राख्न तथा सम्भावित दुर्घटना न्यूनीकरण गर्न सबै सवारीचालकलाई ट्राफिक नियमको पूर्ण पालना गर्न आग्रह गरेको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

न्यूज अभियान डट कमको एन्ड्रोइड एपका लागि यहाँ क्लिक गर्नुहोस् । हरेक खबर विशेष खबरका लागि अफिसियल फेसबुक र ट्वीटर मार्फत जोडिनुहोस् ।


न्यूज अभियान TV - ग्यालेरी

View All
newsabhiyan
newsabhiyan
newsabhiyan
newsabhiyan
newsabhiyan
newsabhiyan
newsabhiyan
newsabhiyan
newsabhiyan
newsabhiyan