Friday 27th of November | २०८३ मङ्सिर ११ शुक्रबार

न्यूज अभियान
हरेक खबर विशेष खबर

अटोमेसनको आवरणमा पुरानै मनोमानी नहोस् : नेपाल प्रहरी, सशस्त्र प्रहरी र राष्ट्रिय अनुसन्धान विभागमा योग्यताको न्याय कहिले?

न्यूजअभियान | प्रकाशित मिति : २०८३ मङ्सिर ११ शुक्रबार |
newsabhiyan

प्रणाली स्वचालित, बढुवा पारदर्शी र नेतृत्व निष्पक्ष हुनुपर्छ; नत्र सफ्टवेयर फेरिएला, तर शक्तिकेन्द्रको स्वार्थ र गुटगत खेलको अनुहार फेरिनेछ।
अन्तर समझ, 
काठमाडौँ । सुरक्षा संगठनमा बढुवा केवल एउटा दर्जाबाट अर्को दर्जामा पुग्ने प्रशासनिक प्रक्रिया होइन। यो व्यक्तिको वर्षौंको मेहनत, व्यावसायिक क्षमता, इमानदारी, अनुभव, त्याग र संगठनप्रतिको योगदानको संस्थागत मूल्याङ्कन हो।

 बढुवाले एउटा अधिकृतको काँधमा नयाँ फुली थप्ने मात्रै होइन, उसको आत्मसम्मान, पारिवारिक भविष्य, संगठनप्रतिको विश्वास र नेतृत्वप्रतिको धारणा पनि निर्धारण गर्छ। त्यसैले बढुवा प्रक्रिया निष्पक्ष हुन नसक्दा त्यसको चोट बढुवा नपाउने व्यक्तिमा मात्रै सीमित रहँदैन, पूरै संगठनको मनोबलमा पुग्छ।

नेपाल प्रहरी, सशस्त्र प्रहरी बल नेपाल र राष्ट्रिय अनुसन्धान विभागजस्ता सुरक्षा निकायमा बढुवाको विषय अझ संवेदनशील छ। यी संगठनमा कार्यरत कर्मचारीको जिम्मेवारी सामान्य प्रशासनिक सेवाभन्दा फरक हुन्छ। उनीहरूले जोखिम, दबाब, चुनौती र गोपनीयताबीच काम गर्नुपर्छ। 

कतिपय अवस्थामा आफ्नो व्यक्तिगत जीवनभन्दा संगठनको जिम्मेवारीलाई प्राथमिकता दिनुपर्छ। तर जब त्यही संगठनभित्र वृत्तिविकासको निर्णायक घडीमा योग्यता, क्षमता र योगदानभन्दा पहुँच, निकटता र गुटगत सम्बन्धले महत्त्व पाउन थाल्छ, तब संस्थागत न्यायमाथि नै प्रश्न उठ्छ।

यही विकृतिको अन्त्य गर्न उठेको एउटा महत्त्वपूर्ण बहस हो– अटोमेटेड मेरिट प्रमोसन (Automated Merit Promotion)। अर्थात् योग्यताका आधारमा स्वचालित बढुवा प्रणाली।
तर प्रश्न छ– प्रणाली स्वचालित बनाउने कि न्याय पनि स्वचालित रूपमा सुनिश्चित गर्ने?
किनभने अङ्क गणना गर्ने सफ्टवेयर बनाउन सजिलो छ, निष्पक्ष मूल्याङ्कन गर्ने संस्कार बसाल्न कठिन। कम्प्युटरले अङ्क जोड्न सक्छ, तर नेतृत्वको पूर्वाग्रह हटाउन सक्दैन।

प्रणालीले विवरण मिलाउन सक्छ, तर वर्षौंदेखि जरा गाडेर बसेको गुटगत स्वार्थ आफैँ उखेल्न सक्दैन। अटोमेसनको बहस पुरानो, कार्यान्वयनको इच्छाशक्ति नयाँ हुनुपर्छ।

 बढुवाको इतिहासमा दोहोरिएको प्रश्न
प्रहरी बढुवालाई स्वचालित प्रणालीमा लैजाने बहस प्रहरी महानिरीक्षक उपेन्द्रकान्त अर्यालको कार्यकालदेखि नै उठ्दै आएको बताइन्छ। त्यसपछि पनि पटक–पटक यस विषयमा चर्चा भए। २०८० सालमा तत्कालीन गृहमन्त्री रवि लामिछानेले समेत प्रहरी बढुवालाई अटोमेसन प्रणालीमा लैजाने प्रस्ताव अघि सारेका थिए। तर आवश्यक कानुनी आधार र व्यवस्थापनको अभावमा त्यो प्रस्ताव कार्यान्वयनमा पुग्न सकेन।

यसले एउटा गम्भीर प्रश्न खडा गर्छ– प्रहरी बढुवामा निष्पक्षता आवश्यक छ भन्ने सबैलाई थाहा छ भने सुधारको प्रक्रिया किन पटक–पटक अलपत्र पर्छ?

के समस्या कानुनको अभाव मात्रै हो? कि विद्यमान विवेकाधिकार गुम्ने डर पनि यसको एउटा कारण हो? के बढुवाको प्रक्रियामा पारदर्शिता स्थापित हुँदा कसैको व्यक्तिगत प्रभाव र शक्तिको दायरा साँघुरिने भएकाले सुधारले गति लिन नसकेको हो? यी प्रश्नको जवाफ खोज्नैपर्छ। सुरक्षा संगठनमा नेतृत्वको अधिकार आवश्यक हुन्छ। तर अधिकारको अर्थ मनोमानी होइन। विवेकाधिकारको अर्थ व्यक्तिगत रुचिअनुसार भविष्य निर्धारण गर्नु पनि होइन।

नेतृत्वलाई निर्णय गर्ने अधिकार दिनुपर्छ, तर निर्णयको आधार पनि सार्वजनिक, परीक्षणयोग्य र कानुनसम्मत हुनुपर्छ। अहिलेको आवश्यकता कुनै व्यक्तिको इच्छामा चल्ने बढुवा प्रणाली होइन, विधि र मापदण्डमा चल्ने संस्थागत प्रणाली हो।

 तीन सुरक्षा निकाय, एउटै समस्या : योग्यताको मूल्याङ्कन
नेपाल प्रहरी, सशस्त्र प्रहरी बल नेपाल र राष्ट्रिय अनुसन्धान विभागको कार्यक्षेत्र फरक छ। नेपाल प्रहरीले अपराध अनुसन्धान, शान्तिसुरक्षा र कानुन कार्यान्वयन गर्छ। सशस्त्र प्रहरीले सीमा सुरक्षा, आन्तरिक सुरक्षा, विपद् व्यवस्थापन तथा विशिष्ट सुरक्षा जिम्मेवारी निर्वाह गर्छ। राष्ट्रिय अनुसन्धान विभागले राष्ट्रिय सुरक्षा, रणनीतिक सूचना र गुप्तचरसम्बन्धी जिम्मेवारी सम्हाल्छ।

तीनवटै निकायको कार्यप्रकृति फरक भए पनि कर्मचारीको वृत्तिविकासमा निष्पक्षता, पारदर्शिता र योग्यताको सम्मान साझा आवश्यकता हो।

बढुवाको मापदण्डमा कार्यसम्पादन, व्यावसायिक दक्षता, अनुभव, अनुसन्धान क्षमता, नेतृत्वयोग्यता, अनुशासन, तालिम, शैक्षिक योग्यता र सेवाकालीन योगदानलाई उचित भार दिनुपर्छ। तर सबै निकायलाई एउटै ढाँचामा बाँधेर हुँदैन। प्रहरीको अनुसन्धान क्षमता, सशस्त्रको सीमा तथा विपद् व्यवस्थापन दक्षता र राष्ट्रिय अनुसन्धानको सूचना विश्लेषण क्षमतालाई आ–आफ्नो कार्यप्रकृतिअनुसार मूल्याङ्कन गर्नुपर्छ।

अटोमेसन भनेको सबैलाई एउटै तराजुमा राखेर एउटै परिणाम निकाल्नु होइन। सम्बन्धित निकायको जिम्मेवारीअनुसार निष्पक्ष तराजु निर्माण गर्नु हो।

अर्को महत्त्वपूर्ण पक्ष छ– मूल्याङ्कनको विश्वसनीयता। यदि कार्यसम्पादन मूल्याङ्कन गर्ने अधिकारी नै पूर्वाग्रहबाट प्रभावित छन् भने उनीहरूले दिएको अङ्कलाई सफ्टवेयरले स्वचालित रूपमा गणना गर्दैमा न्याय स्थापित हुँदैन।

गलत विवरणलाई कम्प्युटरमा राखेर सही परिणाम खोज्नु भनेको प्रविधिको नाममा पुरानै अन्यायलाई संस्थागत गर्नु हो। त्यसैले अटोमेसनभन्दा पहिले मूल्याङ्कन प्रणालीको शुद्धीकरण आवश्यक छ।

 गुट–उपगुटको छायामा हराउँदै योग्यताको पहिचान
प्रहरी संगठनभित्र गुट–उपगुटको प्रभावले योग्य र इमानदार अधिकृतको वृत्तिविकासमा अवरोध सिर्जना गर्नु हुँदैन। तर विगतका अनुभव र घटनाक्रमले प्रहरीभित्र बढुवाको विषय सधैँ विवादरहित रहन नसकेको देखाउँछन्। कसको पहुँच कहाँसम्म छ, कसको सम्बन्ध कुन शक्तिकेन्द्रसँग छ र कसले नेतृत्वको विश्वास जितेको छ भन्ने विषयले योग्यता र कार्यसम्पादनमाथि छाया पार्ने गरेको गुनासो सुनिन्छ।

मेरो बुझाइमा, प्रहरी संगठनमा देखिँदै आएको यही समस्याको एउटा प्रतिनिधि उदाहरण प्रहरी निरीक्षक भुवनेश्वर तिवारीको वृत्तिविकाससँग जोडिएको छ।

२०५८ साल साउन १८ गते खुला प्रतिस्पर्धाबाट प्रहरी निरीक्षकमा एक नम्बरमा नाम निकाल्न सफल तिवारीले २०६९ साल फागुन १३ गतेसम्म प्रहरी नायब उपरीक्षकको बढुवामा जसोतसो आफ्नो मर्यादा कायम राख्न सकेको मेरो अनुभव र बुझाइ छ। तर त्यसपछिको उनको वृत्तिविकासलाई तत्कालीन प्रहरी महानिरीक्षक सर्वेन्द्र खनालको कार्यकालमा भएको व्यवहार र ठाकुर ज्ञवालीको नेतृत्वकालमा देखिएको प्रभावसँग जोडेर हेर्नुपर्ने मेरो मूल्याङ्कन छ।

यी विषयमा सम्बन्धित पक्षको धारणा र अभिलेखीय प्रमाणबाट थप परीक्षण हुन आवश्यक छ। यहाँ प्रश्न कुनै व्यक्तिलाई दोषी प्रमाणित गर्नु होइन, खुला प्रतिस्पर्धाबाट पहिलो नम्बरमा प्रवेश गरेको अधिकृतको वृत्तिविकासमा पछि के कारणले अवरोध आयो भन्ने संस्थागत प्रश्न उठाउनु हो।

मेरो आफ्नै विवाहको कार्यक्रममा तत्कालीन गृहसचिव श्रीकान्त रेग्मीले तिवारीको जवाफबाट सन्तुष्ट हुँदै ‘खैर, केटो जिरे रहेछ’ भन्नुभएको प्रसङ्ग आज पनि सम्झनामा ताजै छ। त्यो एउटा सामान्य पारिवारिक कार्यक्रममा भएको संवाद भए पनि त्यसले तिवारीको आत्मविश्वास, जवाफ दिने क्षमता र व्यक्तित्वको झलक प्रस्तुत गरेको थियो।

तर एउटा प्रश्न आज पनि अनुत्तरित छ– खुला प्रतिस्पर्धामा पहिलो स्थान हासिल गर्ने क्षमता भएको अधिकृतले सेवाभित्र आफ्नो व्यावसायिक क्षमताअनुसार अवसर पायो कि पाएन?

प्रवेशमा योग्यता प्रमाणित गर्ने, सेवामा अनुभव र क्षमता हासिल गर्ने, जिम्मेवारी निर्वाह गर्ने तर बढुवाको निर्णायक घडीमा आफ्नो योगदानको उचित मूल्याङ्कन नपाउने अवस्था छ भने त्यसले संगठनलाई कस्तो सन्देश दिन्छ?

भुवनेश्वर तिवारी एउटा प्रतिनिधि पात्र हुन सक्छन्। प्रहरी संगठनभित्र यस्ता अन्य अधिकृत पनि हुन सक्छन्, जसको योग्यता र योगदानको निष्पक्ष मूल्याङ्कन हुन सकेको छैन। उनीहरूका अनुभव, बढुवासम्बन्धी अभिलेख र निर्णय प्रक्रियाको अध्ययन हुनुपर्छ। व्यक्तिगत गुनासोलाई संस्थागत सुधारको आधार बनाउन सकियो भने मात्रै वास्तविक परिवर्तन सम्भव हुन्छ।

 नेतृत्वको विवेक कि नेतृत्वको स्वार्थ?
प्रहरी बढुवा समितिको भूमिका महत्त्वपूर्ण हुन्छ। समितिले कार्यसम्पादन, अनुशासन, ज्येष्ठता, तालिम, अनुभव र अन्य कानुनी मापदण्डका आधारमा निर्णय गर्नुपर्छ। तर स्वविवेकीय अङ्कको व्यवस्था अस्पष्ट छ भने त्यही अधिकार निष्पक्षताको साधनभन्दा प्रभाव र पहुँचको माध्यम बन्न सक्छ।

कुनै अधिकृतले वर्षौंसम्म कठिन क्षेत्रमा काम गरेको छ, अनुसन्धानमा उल्लेखनीय योगदान दिएको छ, जोखिमपूर्ण जिम्मेवारी सफलतापूर्वक निर्वाह गरेको छ भने त्यसको संस्थागत मूल्याङ्कन हुनुपर्छ। अर्कोतर्फ, पहुँच र निकटताका आधारमा मात्रै अवसर प्राप्त गर्ने अवस्था सिर्जना भयो भने जिम्मेवारीपूर्वक काम गर्ने कर्मचारीको मनोबल कमजोर हुन्छ।

नेतृत्वको काम आफ्नो वरिपरि प्रशंसकहरूको घेरा बनाउनु होइन, आफूभन्दा सक्षम र दक्ष जनशक्ति पहिचान गर्नु हो। आफूलाई प्रश्न गर्ने अधिकृतलाई प्रतिकूल मूल्याङ्कन गर्ने र चाकडी गर्ने व्यक्तिलाई अवसर दिने प्रवृत्ति कतै देखिएको छ भने त्यसको अन्त्य हुनुपर्छ।

संगठनलाई प्रशंसक होइन, प्रश्न गर्न सक्ने, निर्णय लिन सक्ने र संकटमा नेतृत्व गर्न सक्ने अधिकृत चाहिन्छ। विद्वत् वर्गको सम्मान पनि यही सन्दर्भमा महत्त्वपूर्ण छ। शैक्षिक योग्यता, कानुनी ज्ञान, अनुसन्धान क्षमता, प्रविधिको बुझाइ, रणनीतिक सोच र व्यावसायिक अनुभव भएका अधिकृतलाई संगठनले सम्पत्ति ठान्नुपर्छ। उनीहरूको ज्ञान र क्षमतालाई व्यक्तिगत सम्बन्धको तराजुमा जोख्नु संगठनकै लागि घाटा हो।

 संगठनमा इतिहासमा नाम लेखाउनु मात्रै पर्याप्त छैन
प्रहरी महानिरीक्षक अर्थात संगठन प्रमुखज्यूहरु
हजुरले प्रहरी संगठनको इतिहासमा आफ्नो नाम लेखाइसक्नुभएको छ। अब नेतृत्वको वास्तविक परीक्षा आफ्नो कार्यकाल पूरा गर्नुमा मात्रै सीमित छैन। आफूले सम्हालेको संगठनलाई कस्तो संस्थागत संस्कार दिएर हस्तान्तरण गर्नुहुन्छ भन्ने विषय अझ महत्त्वपूर्ण छ।

सक्षम, गतिशील, बहुआयामिक र दूरदर्शी अधिकृत पहिचान गर्न सक्नुभयो भने मात्रै नेतृत्वको दीर्घकालीन सार्थकता स्थापित हुनेछ। आज हजुरको वरिपरि रहेका व्यक्तिको प्रशंसा र समर्थनभन्दा भोलि संगठनको जिम्मेवारी सम्हाल्न सक्ने योग्य नेतृत्व तयार पार्नु ठूलो उपलब्धि हुनेछ।

नेतृत्व हस्तान्तरण भनेको पद खाली भएपछि नयाँ व्यक्तिलाई जिम्मेवारी दिनु मात्र होइन। यो संस्थागत ज्ञानको संरक्षण, नेतृत्व क्षमताको विकास, उत्तराधिकारीको तयारी र योग्य जनशक्तिलाई अवसर दिने प्रक्रिया हो।
हजुरपछि आउने नेतृत्व हजुरभन्दा कमजोर हुनुपर्छ भन्ने मानसिकता होइन, अझ सक्षम हुनुपर्छ भन्ने संस्थागत सोच विकास गर्नुपर्छ। आफूभन्दा योग्य व्यक्ति तयार पार्न सक्ने नेतृत्व नै दीर्घकालसम्म सम्मानित हुन्छ।
यदि बढुवामा गुटगत प्रभाव कायम रह्यो, योग्य अधिकृतहरू अवसरबाट वञ्चित भए र संगठनभित्र निराशा बढ्दै गयो भने त्यसको असर तत्कालीन नेतृत्वको कार्यकालमा मात्रै सीमित रहनेछैन। त्यसको मूल्य भविष्यका नेतृत्वकर्ताले समेत चुकाउनुपर्नेछ।

 अटोमेसन : अङ्क जोड्ने मेसिन होइन, न्याय दिने प्रणाली
अटोमेटेड मेरिट प्रमोसनको वास्तविक उद्देश्य कसैलाई बढुवा गराउनु वा कसैलाई रोक्नु होइन। योग्य व्यक्तिले योग्यताकै आधारमा अवसर पाउने सुनिश्चितता गर्नु हो। त्यसैले प्रणाली निर्माण गर्दा निम्न विषयलाई अनिवार्य रूपमा समेटिनुपर्छ।
१. स्पष्ट र पूर्वनिर्धारित मापदण्ड : बढुवाका लागि आवश्यक ज्येष्ठता, कार्यसम्पादन, तालिम, शैक्षिक योग्यता, अनुशासन, अनुभव र विशेष योगदानको अङ्कभार कानुनमै स्पष्ट हुनुपर्छ।

२. डिजिटल अभिलेख : कर्मचारीको सेवाकालीन विवरण, कार्यसम्पादन, पुरस्कार, सजाय, तालिम र जिम्मेवारीको अभिलेख डिजिटल प्रणालीमा सुरक्षित हुनुपर्छ। कुनै व्यक्तिको व्यक्तिगत स्वार्थअनुसार अभिलेख परिवर्तन गर्न नमिल्ने व्यवस्था हुनुपर्छ।

३. स्वविवेकीय अङ्कमा नियन्त्रण : बढुवा समितिले प्रदान गर्ने अतिरिक्त अङ्कको आधार स्पष्ट हुनुपर्छ। कसले, किन र कुन प्रमाणका आधारमा अङ्क दिएको हो भन्ने विवरण परीक्षण गर्न सकिने हुनुपर्छ।

४. पुनरावलोकनको अधिकार : बढुवामा चित्त नबुझेका कर्मचारीले आफ्नो अङ्क, मूल्याङ्कन र निर्णयको आधार हेर्न पाउनुपर्छ। गल्ती वा अन्याय भएमा स्वतन्त्र पुनरावलोकन गर्ने प्रभावकारी व्यवस्था हुनुपर्छ।

५. समान अवसर र निष्पक्षता : दुर्गम क्षेत्रमा काम गरेका, जोखिमपूर्ण जिम्मेवारी निर्वाह गरेका, अनुसन्धान तथा सीमा सुरक्षामा योगदान दिएका र विशेष दक्षता हासिल गरेका कर्मचारीको योगदानलाई वस्तुनिष्ठ रूपमा मूल्याङ्कन गर्नुपर्छ।
यी आधारबिना अटोमेसन लागू गर्नु भनेको पुरानो प्रणालीलाई नयाँ नाम दिनु मात्रै हुनेछ।

अर्को कुरा, स्वचालित प्रणालीले मानवीय मूल्याङ्कनलाई पूर्ण रूपमा विस्थापित गर्नुपर्छ भन्ने होइन। सुरक्षा संगठनमा नेतृत्व क्षमता, नैतिकता, संकट व्यवस्थापन र निर्णय क्षमताजस्ता गुणको मूल्याङ्कन आवश्यक हुन्छ। तर त्यसको नाममा मनपरी गर्ने छुट भने हुनुहुँदैन। मानवीय मूल्याङ्कनलाई पनि प्रमाण, मापदण्ड र जवाफदेहिताभित्र राख्नुपर्छ।

राष्ट्रिय अनुसन्धान विभागलाई पनि सुधारको समान अवसर
नेपाल प्रहरी र सशस्त्र प्रहरी बलमा मात्रै होइन, राष्ट्रिय अनुसन्धान विभागमा पनि वृत्तिविकासको पारदर्शी प्रणाली आवश्यक छ। राष्ट्रिय सुरक्षासँग जोडिएको संवेदनशील जिम्मेवारी निर्वाह गर्ने गुप्तचर कर्मचारीको योगदान धेरैपटक सार्वजनिक रूपमा देखिँदैन। उनीहरूको कार्यक्षमता, सूचना विश्लेषण, राष्ट्रिय सुरक्षा मूल्याङ्कन र रणनीतिक योगदानलाई गोपनीयता कायम राख्दै वस्तुनिष्ठ रूपमा मूल्याङ्कन गर्न सकिन्छ।

गोपनीयता निष्पक्षताको बाधक बन्नु हुँदैन। राष्ट्रिय सुरक्षाका कारण सार्वजनिक गर्न नमिल्ने विवरणलाई सुरक्षित राख्दै स्वतन्त्र र अधिकारप्राप्त निकायबाट मूल्याङ्कन गर्न सकिन्छ। सशस्त्र प्रहरीमा सीमा सुरक्षा र विपद् व्यवस्थापनको योगदान तथा नेपाल प्रहरीमा अनुसन्धान र अपराध नियन्त्रणको उपलब्धिलाई पनि सोही प्रकृतिअनुसार मापन गर्नुपर्छ।

तीनवटै सुरक्षा निकायमा एउटै प्रश्न लागू हुनुपर्छ– कर्मचारीको भविष्य उसको कार्यसम्पादनले निर्धारण गर्ने कि शक्तिकेन्द्रसँगको सम्बन्धले?

 अन्त्यमा : फुली थप्ने होइन, योग्यताको सम्मान गर्ने समय
प्रहरी संगठनमा बढुवा नपाउनु मात्रै अन्याय होइन, योग्य भएर पनि आफ्नो क्षमताको मूल्याङ्कन नपाउनु ठूलो अन्याय हो। वर्षौंसम्म इमानदारीपूर्वक काम गर्ने अधिकृतले आफ्नो भविष्य अनिश्चित देख्न थाल्यो भने उसले संगठनप्रति राखेको विश्वास कमजोर हुन सक्छ। यसको असर आदेशपालन, कार्यसम्पादन, नेतृत्व विकास र समग्र मनोबलमा पर्न सक्छ।

अहिले नेपाल प्रहरी, सशस्त्र प्रहरी बल र राष्ट्रिय अनुसन्धान विभागमा अटोमेसनको बहसलाई गम्भीरतापूर्वक अघि बढाउनुपर्ने समय आएको छ। सरकारले आवश्यक कानुनी संशोधन गर्नुपर्छ। गृह मन्त्रालयले स्पष्ट कार्ययोजना बनाउनुपर्छ। संगठनका नेतृत्वकर्ताले सुधारप्रति इच्छाशक्ति देखाउनुपर्छ। बढुवा समितिले निर्णयको जवाफदेहिता लिनुपर्छ।

नेतृत्वले सम्झनुपर्छ– आज बढुवामा अन्याय भोग्ने अधिकृत भोलि संगठनको नेतृत्वमा पुग्न सक्ने सम्भावना पनि हुन्छ। त्यसैले व्यक्तिको अनुहार हेरेर होइन, संस्थाको भविष्य हेरेर निर्णय गर्नुपर्छ।

योग्यलाई रोक्ने र पहुँचवालालाई उकास्ने प्रवृत्तिले संगठन बलियो हुँदैन। चाकडीले पद त दिलाउन सक्ला, तर संकटको समयमा नेतृत्व गर्ने क्षमता दिलाउन सक्दैन।

प्रहरी महानिरीक्षकज्यू, सशस्त्र प्रहरी महानिरीक्षकज्यू र राष्ट्रिय अनुसन्धान विभागका प्रमुखज्यू, अब आफ्नो कार्यकालको मूल्याङ्कन पदभार ग्रहण गरेको मितिबाट होइन, कस्तो संस्थागत संस्कार छाडेर जानुभयो भन्ने आधारमा हुने समय आएको छ।

इतिहासमा नाम लेखाउन पद पर्याप्त हुन्छ, तर इतिहासमा सम्मानित हुन निष्पक्ष निर्णय चाहिन्छ। अटोमेसनको नाममा नयाँ सफ्टवेयर मात्रै नल्याउनुहोस्, योग्यताको सम्मान गर्ने नयाँ संस्कार ल्याउनुहोस्। बढुवाको सूचीमा नाम फेरिनु ठूलो कुरा होइन, बढुवाको मापदण्डमा न्याय स्थापित हुनु ठूलो कुरा हो।

किनभने सुरक्षा संगठनमा फुली काँधमा थपिन्छ, तर त्यसको प्रतिष्ठा कर्मचारीको योग्यता, इमानदारी र नेतृत्व क्षमताले निर्धारण गर्छ। प्रणाली स्वचालित हुनुपर्छ, निर्णय पारदर्शी हुनुपर्छ र न्याय निष्पक्ष हुनुपर्छ। योग्यताको हत्या गरेर संगठनको मनोबल बचाउन सकिँदैन। अब प्रश्न एउटै छ– अटोमेसन कहिले होइन, योग्यताको न्याय कहिले?

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

न्यूज अभियान डट कमको एन्ड्रोइड एपका लागि यहाँ क्लिक गर्नुहोस् । हरेक खबर विशेष खबरका लागि अफिसियल फेसबुक र ट्वीटर मार्फत जोडिनुहोस् ।


न्यूज अभियान TV - ग्यालेरी

View All
newsabhiyan
newsabhiyan
newsabhiyan
newsabhiyan
newsabhiyan
newsabhiyan
newsabhiyan
newsabhiyan
newsabhiyan
newsabhiyan