भारतसँग भएका सहमति, समझदारी कार्यान्वयनका लागि समन्वय सुरु
काठमाडौँ, ११ मङ्सिरः प्रधानमन्त्री वालेन्द्र शाहको भारतको राजकीय भ्रमणपश्चात् भ्रमणका क्रममा भएका सहमति, समझदारी एवं निर्णयहरूको कार्यान्वयनका लागि परराष्ट्र मन्त्रालयबाट सम्बन्धित निकायहरूसँग समन्वय सुरु गरेको छ ।
प्रधानमन्त्री शाहले यही मङ्सिर ६ र ७ गते भारतको राजकीय भ्रमण गर्नुभएको थियो । उक्त भ्रमणका अवसरमा नेपाल–भारतबीच संयुक्त दृष्टिपत्र दस्तावेज, विभिन्न विषयहरूमा आपसी सहमति र समझदारीलगायत महत्त्वपूर्ण निर्णयहरू भएका थिए ।
उक्त दस्तावेजमा उल्लेख भएका विषयहरूलगायत अन्य महत्त्वपूर्ण सहमति/समझदारी/निर्णयहरू दुई देश र नागरिकहरूले प्रत्यक्ष अनुभूति गर्नेगरी कार्यान्वयनमा लैजानका लागि मन्त्रालयले आफ्नो कार्य अगाडि बढाइसकेको जनाएको छ ।
तत्तत् मन्त्रालय र निकायहरूबाट सम्बन्धित समझदारीपत्र तथा सहमति कार्यान्वयनमा जाने र सोको समयसमयमा नियमन गर्ने कार्य मन्त्रालयबाट पूर्ववत् र निरन्तर रूपमा हुने मन्त्रालयका प्रवक्ता एवं सहसचिव लोकबहादुर पौडेल क्षेत्रीले जानकारी दिनुभयो ।
मन्त्रालयद्वारा आज आयोजित नियमित प्रेस ब्रिफिङमा उहाँले भन्नुभयो, “सर्वसाधारण नागरिक सबैले बुझ्न सकिनेगरी सम्माननीय प्रधानमन्त्रीज्यूको भारत भ्रमणका क्रममा भएका उपलब्धिसम्बन्धी १२ वटा ‘क्यारसोल ग्राफिक्स’ तयार गरी हाम्रो सामाजिक सञ्जालमार्फत पनि सेयर गरिसकेका छौँ ।”
साथै उहाँले विदेशमा रहेका नेपाली नागरिकको सुरक्षा र हित सरकारको प्राथमिकतामा रहेको उल्लेख गर्दै साउदी अरेबियालगायत पश्चिम एसिया क्षेत्रमा विकास भएका पछिल्ला घटनाक्रमलाई सरकारले नजिकबाट नियालिरहेको बताउनुभयो । “कुनै पनि समस्याको समाधान शान्तिपूर्ण वार्ता र कूटनीतिक माध्यमबाट हुनुपर्ने र कुनै पनि बहानामा जीउ ज्यान र निजी सम्पत्ति एवं सार्वजनिक पूर्वाधारलाई निशाना बनाउन नहुने विषयलाई हामीले विशेष जोड दिन चाहन्छौँ”, उहाँले भन्नुभयो ।
साउदी अरबको ‘किङ अब्दुल्ला फानन्सियल डिस्ट्रिक्ट’ अन्तर्गत रहेको पब्लिक इम्भेष्टमेन्ट फन्ड टावर र जजान क्षेत्रमा भएका पछिल्ला दुई आक्रमणमा परी घाइते हुनुभएका चार जना नेपाली नागरिकलाई रियादस्थित अस्पतालमा उपचारका लागि लगिएकामा एक जनाको निधन भएको, एक जना स्वास्थ्यलाभ गरी अस्पतालबाट फर्कनुभएको छ । बाँकी दुई जना उपचाररत रहनुभएको मन्त्रालयले जनाएको छ ।
प्रवक्ता क्षेत्रीले भन्नुभयो, “शव नेपाल ल्याउने विषयमा नेपाली राजदूतावास, रियादबाट आवश्यक समन्वय सुरु भइरहेको पनि जानकारी गराउँदछौँ ।” उक्त क्षेत्रमा रहेका नेपाली नागरिकलाई स्थानीय सरकार र सम्बद्ध नेपाली राजदूतावासबाट जारी गरिएका सुरक्षासम्बन्धी मार्गदर्शन, सूचना र जानकारी पूर्णपालना गर्न विशेष अनुरोध गरिएको छ ।
सो अवसरमा उहाँले नेपाल र जापानबीच सन् १९५६ मा स्थापना भएको कूटनीतिक सम्बन्धको ७०औँ वर्षगाँठ यस वर्ष विभिन्न कार्यक्रमका साथ मनाउन लागिएको जानकारी दिनुभयो । सात दशक लामो यस मैत्रीपूर्ण सहयात्रा आपसी सौहार्दता, पारस्परिक विश्वास एवं द्विपक्षीय सहयोगमा आधारित रहँदै आएको छ । यस अवधिमा दुई देशबीच व्यापार, लगानी, ऊर्जा, पूर्वाधार, पर्यटन, शिक्षा तथा संस्कृतिलगायतका क्षेत्रमा सहकार्य र आदानप्रदान थप विस्तार हुँदै गएको छ ।
यसका साथै मन्त्रालयले गत भदौ १० गते भोटेकोशी नदीमा आएको विनासकारी बाढीपश्चात् रसुवागढी नाका पूर्ण रूपमा अवरुद्ध रहेको अवस्थामा नेपाल–चीन तातोपानी–झाङमुनाका सञ्चालन गर्न गरिएका प्रयासबारेमा अवगत गराएको छ । सो नाकाबाट ठूला मालवाहक ट्रक तथा कन्टेनरको लागि खुला गर्नेलगायत अन्य नाकाबाट आवागमन सहज बनाउन र अन्य नाकाबाट हुने आवागमनका सम्बन्धमा सम्बन्धित निकाय र मित्रराष्ट्र चीन सरकारसँग मन्त्रालयबाट आवश्यक समन्वय भइरहेको उहाँले बताउनुभयो ।
