सदनदेखि मन्त्री क्वाटरसम्म ‘सम्भ्रान्त’ भर्सेज ‘सर्वहारा’ टकराव: जब इतिहास र सम्पत्तिको अहंकारमाथि चोटिलो प्रहार भयो
राष्ट्रिय भाउजु डा. आरजुको त्यो गर्जन पछि सदनमा कांग्रेसका प्रमुख सचेतक भिष्मराज आङ्देम्बेको बमगोला पड्काए !
काठमाडौं, २८ असार । नेपाली राजनीतिको केन्द्र भागमा अहिले एउटा नयाँ भाष्यले प्रवेश पाएको छ "तिमीहरू काठमाडौं छिर्दा र चप्पल लगाउँदा हाम्रो परिवार सुनको थालमा खान्थ्यो।"
शक्ति र सत्ताको उन्मादमा रहेकाहरूलाई उनीहरूको विगत र धरातल सम्झाउँदै सदनदेखि मन्त्री निवाससम्म भएका केही ऐतिहासिक र मार्मिक ‘घोषपेच’ हरूले नेपाली राजनीतिको भित्री रूपलाई छताछुल्ल पारिदिएको छ।
सदनमा डा. आरजुको मार्मिक रोदन र ‘चप्पल’ इतिहासको चुनौती
कुनै समय नेपाली कांग्रेसकी नेतृ , राष्ट्रिय भाउजु चर्चित एवं पूर्व परराष्ट्रमन्त्री डा. आरजु राणा देउवाविरुद्ध तत्कालीन सत्तापक्ष र विरोधीहरूले चौतर्फी घेराबन्दी गरे।
नक्कली भुटानी शरणार्थी प्रकरणमा उनको नाम जोडेर एउटा कथित अडियो सार्वजनिक गरिएपछि उनलाई राजनीतिक रूपमा समाप्त पार्ने खेल रचियो।
तर, डा. आरजुले सदनको रोष्ट्रममा उभिएर जसरी प्रतिवाद गरिन्, त्यसले विरोधीहरूको सातो उडायो।
बडो मार्मिक र आक्रोशित मुद्रामा उनले भनिन्: "मेरो अडियो नक्कली हो। तत्कालीन सत्ताकै सरसल्लाहमा युवा संघ र पार्टीका केही प्रहरी मिलेर यो षड्यन्त्र बुनिएको हो।
नेपालमा महिलालाई राजनीति गर्न र न्याय पाउन कति गाह्रो छ भन्ने उदाहरण म आफैं भएँ, यहाँ त उजुरीसमेत शुद्ध रूपमा दर्ता हुँदैन।" त्यतिमा मात्र उनी रोकिइनन्।
उनले तत्कालीन प्रधानमन्त्री पुष्पकमल दाहाल 'प्रचण्ड' र नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीतर्फ लक्षित गर्दै सम्पत्ति छानबिनको कडा चुनौती दिइन्।
डा. आरजुको गर्जन थियो "हिम्मत छ भने २०४६ सालदेखि चप्पल पड्काउँदै काठमाडौं छिरेका नेताहरूबाट सम्पत्ति छानबिन सुरु गरौं। मेरो बुढा शेरबहादुर देउवा पाँच पटक प्रधानमन्त्री हुँदाको सम्पत्ति विवरण सरकारसँग सुरक्षित छ, पहिले त्यो सार्वजनिक गरौं। आयोग बनाउने हिम्मत छ?"
विश्लेषकहरूको मत: डा. आरजुको यो आक्रोशलाई स्वाभाविक
राजनीतिक विश्लेषकहरू डा. आरजुको यो आक्रोशलाई स्वाभाविक र एउटा ऐतिहासिक सत्यको प्रकटीकरण मान्छन्।
विश्लेषकहरू भन्छन्, "प्रचण्ड र केपी ओलीहरूले जतिसुकै सर्वहाराको राजनीति गरे पनि डा. आरजुमाथिको प्रहार राजनीतिक प्रतिशोध नै थियो। सत्य के हो भने, यी नेता र यिनका बाजेहरू चप्पल मात्रै लगाउने हैसियतमा हुँदा आरजु राणाको परिवार सुनकै थालमा पसनी (भात खुवाई) गर्दै थियो।
उनी रैथाने सम्भ्रान्त परिवारमा जन्मेकी हुन्, यो सत्यलाई कसैले नकार्न सक्दैन। त्यसैले उनको त्यो भाषण रोदन मात्र थिएन, नवधनाढ्य कमरेडहरूमाथि अभिजात वर्गको ठूलो नैतिक झापड थियो।"
भिष्मराज आङ्देम्बेको चुनौती: "तिम्रा बाजेले सुन कहिले देखेका थिए?"
डा. आरजुको त्यो गर्जन सेलाउन नपाउँदै सदनमा कांग्रेसका प्रमुख सचेतक भिष्मराज आङ्देम्बेले पनि त्यस्तै खालको बमगोला पड्काए।
सदनमा सम्पत्ति छानबिनको कुरा उठ्दा आङ्देम्बेले प्रतिपक्षी र विरोधीहरूलाई ठाडो चुनौती दिए "आयोग बनाऊ, सम्पत्ति खोज। तर, सुरुवात मेरै घर र मेरै सम्पत्तिबाट गरियोस्।"
उनले सदनमा उभिएर विपक्षीहरूलाई व्यङ्ग्य गर्दै भनेका थिए कि आङ्देम्बेका बाजे-बराजुहरूले सम्पत्ति खेलाउँदै गर्दा अहिले सदनमा भुईंबाट उठेका भनिएका कतिपय नेताहरूका पुस्ताले सुन कस्तो हुन्छ भनेर देख्नसम्म पाएका थिएनन्।
"अहिले सदनमा भुक्नेहरूले सरकारलाई आफ्नो सुन र सम्पत्ति देखाए त ठीकै हो, तर उनीहरूका बाजेले पहिलो पटक सुन कहिले देखेका थिए, त्यो पनि स्पष्ट पारून्," भन्दै उनले सदनमै कडा घोचपेच गरेका थिए।
मध्यराति मन्त्री क्वाटरमा सुगतरत्नको त्यो ऐतिहासिक 'थप्पड'
राजनीतिक नेतृत्व र सम्भ्रान्त कर्मचारीतन्त्रबीचको यस्तै अर्को कडा टक्कर नेपाल वायुसेवा निगमको इतिहासमा लिपिबद्ध छ। यो घटना तत्कालीन पर्यटन मन्त्री (एमाले नेता) आनन्दप्रसाद पोखरेलको कार्यकालको हो।
पर्यटन मन्त्रीको क्वाटरमा मध्यराति एउटा 'सेटिङ' बैठक चलिरहेको थियो। मन्त्री पोखरेलको साथमा थिए अहिले जेल जीवन बिताइरहेका कुख्यात बिचौलिया दीपक भट्ट र यती एयरलाइन्सका तत्कालीन मालिक छिरिङ शेर्पा।
उनीहरूले वायुसेवा निगमका तत्कालीन महाप्रबन्धक सुगतरत्न कंसाकारलाई राति नै क्वाटरमा बोलाएर एउटा निश्चित फाइलमा हस्ताक्षर गर्न दबाब दिइरहेका थिए।
काम नगरेको भन्दै मन्त्री र बिचौलिया मिलेर कंसाकारलाई थर्काउन थाले— "यो काम किन नगरेको? जागिर खाने कि नखाने?"
मध्यरातिको त्यो समयमा बिचौलिया र मन्त्रीको तुच्छ गाली सुनेपछि रैथाने काठमाडौंका नेवार सुगतरत्न कंसाकारको रगत उम्लियो। उनले मन्त्री र त्यहाँ बसेका बिचौलियाहरूलाई ठाडै औंला ठड्याउँदै भने: "तिमीहरू को हौ मलाई जागिरको धम्की दिने? तिमीहरू काठमाडौं कहिले आएका हौ?
साइकल कहिले देखेका थियौ? म कमलादीको साहुको छोरा हुँ। तिमीहरू काठमाडौं छिर्दा १०० रुपैयाँको जुत्ता लगाएर आएका थियौ, त्यतिबेला मेरो परिवार अर्बपति थियो र आज पनि छ। मलाई पैसा र जागिरको धाक नलगाऊ!"
कंसाकारको त्यो रूप र आफ्नो धरातलको ऐना देखेपछि मन्त्री, बिचौलिया र व्यापारीको सातो गयो र उनीहरू 'भागभाग' भएर कोठाबाट बाहिरिएका थिए।
राजनीतिको ‘नयाँ धनी’ प्रवृत्तिमाथि प्रहार
यी घटनाक्रमहरूलाई सुक्ष्म रूपमा नियालिरहेका समाजशास्त्री तथा राजनीतिक विश्लेषकहरू यसलाई नेपाली राजनीतिमा आएको ‘सांस्कृतिक विचलन’ को रूपमा व्याख्या गर्छन्।
"अहिले राजनीतिमा लागेर रातारात अर्बपति बनेका बिचौलिया र नेताहरूमा एउटा नयाँ अहङ्कार पलाएको छ। उनीहरू राज्यशक्तिको दुरुपयोग गरेर रैथाने, इमानदार र सम्भ्रान्तहरूलाई दबाउन खोज्छन्।
तर जब डा. आरजु, भिष्मराज आङ्देम्बे वा सुगतरत्न कंसाकार जस्ता पात्रहरूले उनीहरूको 'चप्पल' र 'साइकल' को इतिहास सम्झाइदिन्छन्, तब उनीहरूसँग लुक्ने ठाउँ हुँदैन।"
राजनीतिमा वर्ग संघर्षको कुरा गर्नेहरू नै आज कसरी अकूत सम्पत्तिको मालिक बनेका छन् र उनीहरूको असली अनुहार कस्तो छ भन्ने कुरा यी तीनवटा घटनाले छर्लङ्ग पारेका छन्।
‘चप्पल’ देखि ‘चस्मा’ सम्मको सम्पत्ति: आयोगको रहर कि खेलबाड ?
नेपाली राजनीतिमा सम्पत्ति छानबिनको नारा एउटा यस्तो सदावहार ‘कमेडी शो’ बनेको छ, जसको स्क्रिप्ट हरेक संकटमा पुनः लेखिन्छ।
हिजो संसद्को रोष्ट्रमबाट अभिजात वर्गको रवाफ देखाउँदै "२०४६ सालका चप्पलवालाको सम्पत्ति खोज" भनियो, आज सडक र सदनबाट "सबैको थालकोटालो हेरौं" भन्ने आवाज गुञ्जिरहेको छ।
नारा सुन्दा लाग्छ, नेपालका नेताहरू हिजोभन्दा आज बढी ‘क्रान्तिकारी’ भएका छन्। यदि यो साँचो हो भने, अब ढिला नगरौं एउटा महा-छानबिनको ढोका खोलौं।
चर्चा केवल पुराना ‘कमरेड’ र रैथाने ‘साहु’हरूको मात्रै होइन, अब त काठमाडौंका मेयरबाट सिंहदरबारको यात्रा तय गर्ने महत्त्वाकांक्षा बोकेका प्रधानमन्त्री बालेन शाहदेखि नयाँ पुस्ताका हरेक ‘पपुलिस्ट’ अभियन्तासम्मको थैलो फुकालेर हेर्नुपर्ने बेला आएको छ।
परिवर्तनको नारा बेचेर रातारात हुर्किएका नयाँ धनाढ्य हुन् वा सत्ताको छहारीमा बसेर अर्बपति बनेका बिचौलिया, छानबिनको रातो मसी सबैको अनुहारमा पर्नुपर्छ।
तर, के यो छानबिन केवल राजनीतिज्ञको दौरा-सुरुवाल र चस्मामा मात्रै सीमित राख्ने? बिल्कुलै होइन। लोकतन्त्रमा कोही पनि ‘पवित्र गाई’ हुन सक्दैन।
न्यायको रोहबरमा बस्ने न्यायालयका श्रीमान्हरूकाे विलासी जीवनशैली र राष्ट्रिय सुरक्षाको आडमा व्यापारिक साम्राज्य फैलाउँदै गरेको नेपाली सेनाभित्रको आर्थिक चक्रव्यूहमाथि प्रश्न उठाउन अब डराउनु हुँदैन।
सर्वदलीय समिति बनाउने हो भने यसलाई फेरि अर्को ‘फाइल थन्क्याउने अखडा’ होइन, निष्पक्ष शल्यक्रिया गर्ने हतियार बनाइनुपर्छ।
नेपाली जनताले सोधिरहेका छन्— के यो देशमा साँच्चै कसैको हिम्मत छ? कि त हिजोका चप्पलवाला र आजका जुत्तावाला मिलेर फेरि पनि जनतालाई ‘सोझा’ बनाउने प्रहसन मात्रै मञ्चन गरिरहने हुन्?
भाषणको रोष्ट्रममा उभिँदा सुनको थाल र अर्बको धाक दिनेहरूले अब राज्यको तराजुमा आफ्नो वैधतता जोख्न तयार हुनैपर्छ।
कि त सम्पत्ति सार्वजनिक गर्ने आँट गर, होइन भने सदावहार क्रान्तिकारी बन्ने पाखण्ड बन्द गर!
यो घोचपेच केवल शब्दको लडाईं मात्र होइन, यो नेपाली राजनीतिमा इमान र धरातल बिर्सिएकाहरूका लागि सदावहार ऐना हो।
