Wednesday 19th of August | २०८३ भदौ ३ बुधबार

न्यूज अभियान
हरेक खबर विशेष खबर

अख्तियारका 'पूर्व-महाप्रभु' नवीनराज घिमिरेमाथि आफ्नै वृत्तको 'अग्निपरीक्षा' : जब रक्षककै सम्पत्तिमाथि उठ्छन् संगीन प्रश्न

न्यूजअभियान | प्रकाशित मिति : २०८३ असार २८ आइतबार |
newsabhiyan

काठमाडौं, २८ असार । भनिन्छ, "अरूको घरको फोहोर सोहोर्ने कुचो आफैं सफा हुनुपर्छ ।" तर जब भ्रष्टाचार नियन्त्रण गर्ने देशको सर्वोच्च निकाय अख्तियार दुरुपयोग अनुसन्धान आयोगकै पूर्व प्रमुख आयुक्तको 'आफ्नो आङ्को भैंसी' चर्चाको केन्द्रमा आउँछ, तब कानुनको धज्जी कसरी उड्यो होला भन्ने अड्कल काट्न गाह्रो पर्दैन ।

हिजो अरूलाई सदाचारको पाठ सिकाउने र त्रसित पार्ने पूर्व प्रमुख आयुक्त नवीनराज घिमिरे यतिबेला आफ्नै पूर्वसहकर्मी र कर्मचारी वृत्तको गम्भीर निशानामा परेका छन् ।

घिमिरेको कार्यकालमा सुशासनका नाममा जे-जस्ता 'सरप्राइज'हरू देखिए, ती वास्तवमा कसका लागि थिए ? अहिले कर्मचारी संयन्त्रभित्रैबाट उठेको आक्रोश र सम्पत्ति छानबिनको मागले एउटा कुरा प्रष्ट पारेको छ— 'कानुनको लामो हात' अब घिमिरेकै सम्पत्तिको भर्याङ उक्लिन ढिला भइसकेको छ ।

'आतंकको साम्राज्य' र पर्दापछाडिका 'दायाँ-बायाँ'
घिमिरेको कार्यकाललाई नजिकबाट नियालेका कर्मचारीहरू त्यो समयलाई 'आतंकको सुखद दिनहरू' भन्न रुचाउँछन्— सुखद यस अर्थमा कि, केही खास मान्छेहरूका लागि त्यो कमाउने र दबाउने स्वर्ण युग थियो ।

आफ्नो कार्यकालमा साना माछालाई समातेर 'ठूलो सफलता' को ढोल पिट्ने, तर ठूला र नीतिगत भ्रष्टाचारका फाइललाई 'तामेली' को दराजमा थन्क्याउने कलामा घिमिरे खप्पिस देखिएको आरोप नयाँ होइन । तर अहिले माग केवल घिमिरेमाथि मात्रै सीमित छैन ।

तत्कालिन समयमा घिमिरेको 'दायाँ र बायाँ' हात बनेर कर्मचारी वृत्तमा आतङ्क फैलाउने, फाइल बार्गेनिङ गर्ने र सेटिङ मिलाउने उनका खासमखास कर्मचारी र 'बिचौलिया दलाल'हरूको नेक्सस (सञ्जाल) माथि पनि गहिरो अनुसन्धान हुनुपर्ने माग बुलन्द बनेको छ ।

कर्मचारी वृत्तकै एक अधिकारी भन्छन्: "त्यो बेला अख्तियार डरको पर्याय होइन, रिसइबी साँध्ने र सेटिङ मिलाउने अखडा जस्तो बनाइएको थियो । हाकिमको ओत लागेर आतंक मच्चाउने ती 'छोटे बडाबाबु'हरू र बिचौलियाको सम्पत्ति मात्रै हेर्ने हो भने पनि घिमिरे युगको असली रूप छताछुल्ल हुन्छ ।"

कसरी चल्थ्यो 'घिमिरे ब्राण्ड' सेटिङ ?
अनुसन्धानमूलक स्रोतहरूका अनुसार घिमिरेको कार्यकालमा त्रसित बनाउने र त्यसपछि 'उद्धार' गर्ने एउटा अदृश्य संयन्त्र सक्रिय थियो ।

त्रसित पार्ने रणनीति: कुनै पनि गैरकानुनी वा अस्वाभाविक फाइल खडा गरेर कर्मचारी वा व्यवसायीलाई मानसिक दबाबमा पार्ने ।

दलालहरूको इन्ट्री: अख्तियार बाहिर रहेका निश्चित दलालहरू (बिचौलिया) मार्फत 'कुरा मिलाउने' मध्यस्थता सुरु हुने ।

अदृश्य लेनदेन र फुकुवा: लेनदेनको कुरा मिलेपछि फाइललाई कमजोर बनाउने वा तामेलीमा पठाइदिने ।

यो खेलमा घिमिरेलाई काँध थाप्ने कतिपय कर्मचारीहरू आज पनि विभिन्न आकर्षक अड्डामा विराजमान छन् भने कतिपयले अवकाशपछि पनि सोही कमाइको रजगज गरिरहेका छन् ।

त्यसैले, अहिले उठेको माग घिमिरेको व्यक्तिगत सम्पत्तिमा मात्र होइन, बरु उनको छत्रछायामा मोटाएका ती तमाम 'आज्ञाकारी पात्रहरू' तर्फ पनि सोझिएको छ ।

अबको चुनौती: कसले गर्ने 'महाप्रभु'को छानबिन ?
हिजो आफैंले कमाण्ड गरेको संस्था, जहाँ आज पनि घिमिरेकै साख र पुराना मान्छेहरूको प्रभाव कतैकतै जीवितै छ, के त्यही अख्तियारले आफ्ना पूर्व-मिसन कमाण्डरमाथि निष्पक्ष छानबिन गर्ला ? यो सबैभन्दा ठूलो र पेचिलो प्रश्न हो ।

यदि वर्तमान नेतृत्वले "सानालाई ऐन, ठूलालाई चैन" को परम्परागत भाष्य चिर्ने हो भने, नवीनराज घिमिरे र उनको तत्कालिन भित्री घेरा (Coterie) को सम्पत्तिको जग खन्नैपर्छ ।

'भष्मासुर' हरूको मुखुण्डो कहिले उत्रेला ?
कुनै समय कसैलाई थुन्ने र कसैलाई उन्मुक्ति दिने तराजु लिएर बसेका नवीनराज घिमिरे आज आफैं कठघरामा उभिनुपर्ने स्थितिमा आइपुगेका छन् ।

कर्मचारी वृत्तबाटै उठेको यो आगोले यदि सही दिशा पायो भने, यसले केवल घिमिरेको मात्र होइन, कर्मचारीतन्त्र भित्र सुशासनको आवरणमा लुकेका अनेकौं 'भष्मासुर'हरूको मुखुण्डो उतार्नेछ ।

अन्यथा, यो माग पनि "काग कराउँदै गर्छ, पिना सुक्दै गर्छ" भने झैं अर्को एउटा ओठे आक्रोश मात्रै बनेर सेलाउनेछ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

न्यूज अभियान डट कमको एन्ड्रोइड एपका लागि यहाँ क्लिक गर्नुहोस् । हरेक खबर विशेष खबरका लागि अफिसियल फेसबुकट्वीटर मार्फत जोडिनुहोस् ।


न्यूज अभियान TV - ग्यालेरी

View All
newsabhiyan
newsabhiyan
newsabhiyan
newsabhiyan
newsabhiyan
newsabhiyan
newsabhiyan
newsabhiyan
newsabhiyan
newsabhiyan