Wednesday 12th of August | २०८३ श्रावण २७ बुधबार

न्यूज अभियान
हरेक खबर विशेष खबर

म्याग्दीमा पाँच प्रतिशतले आलु उत्पादन घट्यो

न्यूजअभियान | प्रकाशित मिति : २०८३ श्रावण २७ बुधबार | रासस

 

म्याग्दी, २७ साउनः म्याग्दीमा यस वर्ष आलु उत्पादन घटेको छ । आलु म्याग्दीबाट निर्यात हुने प्रमुख कृषि उपज हो । गत वर्षको तुलनामा पाँच दशमलव ३७ प्रतिशत आलु उत्पादन घटेको कृषि विकास कार्यालयले जनाएको छ । 

 

कार्यालयका प्रमुख सञ्जीव बास्तोलाले यस वर्ष म्याग्दीमा एक हजार ८४० हेक्टर क्षेत्रफलमा ३३ हजार १२० मेट्रिक टन आलु उत्पादन भएको जानकारी दिनुभयो । 

 

“अघिल्लो वर्षको तुलनामा थप २० हेक्टर क्षेत्रफलमा आलु खेती विस्तार भए पनि वैशाख र जेठ महिनाको असिनाले बोट हुर्किन तथा दाना बढ्न नपाउँदा उत्पादन घटेको हो,” उहाँले भन्नुभयो, “अघिल्लो वर्ष प्रतिहेक्टर १९ दशमलव पाँच मेट्रिक टनका दरले आलु उत्पादन भएकामा यस वर्ष आलुको उत्पादकत्व घटेर प्रतिहेक्टर १८ मेट्रिकटन भएको छ ।”

 

कार्यालयले जिल्लाका विभिन्न २४ ठाउँमा नमूना सङ्कलन गरेर उत्पादनको अवस्था पहिचान गरेको हो । गत वर्ष एक हजार ८२० हेक्टर क्षेत्रफलमा ३५ हजार मेट्रिक टन आलु उत्पादन भएको थियो । आर्थिक वर्ष २०८०÷८१ म एक हजार ७५० हेक्टरमा जिल्लामा ३१ हजार ४५० मेट्रिक टन आलु उत्पादन भएको थियो । 

 

केन्द्रका अनुसार म्याग्दीबाट वार्षिक रु १० करोड मूल्यबराबरको आलु पोखरा, काठमाडौँलगायत बजारमा बिक्री हुने गर्छ । सरदर प्रतिकेजी रु ४० देखि ४५ का दरले बारीबाटै आलुको व्यापार हुने गरेको छ । रघुगङ्गा गाउँपालिका–८ मङ्गलेखानीकी बलदेवी छन्त्यालले गत वर्ष दुई मुरी आलु फलेको बारीमा यसपाली मुस्किलले एक मुरी आलु खनेको बताउनुभयो । 

 

“असिनाले हुर्कंदै गरेको अवस्थामा चुटेर आलुको बोटका सबै पात झारिदिएपछि लागेको दाना ठूला हुन र थप दाना फल लाग्नै नपाउँदा उत्पादन आधाले घटेको छ,” उहाँले भन्नुभयो, “पोहोर साल ५० मुरी आलु फलाएको थिए ।”

 

कृषक छन्त्यालका उहाँका अनुसार लेकाली क्षेत्रको चिसो हावापानीमा उत्पादन भएको आलु स्वादिलो र पोषिलो हुने भएकाले जिल्ला बाहिरबाट अत्यधिक मात्रामा माग आउने गरेको छ । 

 

अन्नपूर्ण गाउँपालिकाको शिख, खिबाङ, राम्चे, काफलडाँडा नाङ्गी, हिस्तान, पाउद्वार, रघुगङ्गा गाउँपालिकाको कुइनेमङ्गले, दर्मिजा, चिमखोला, ठाडाखानी, बेनी नगरपालिकाको भकिम्लीलगायत ठाउँमा आलु उत्पादन हुन्छ । 

 

सवारीसाधनको पहुँच पुगेपछि गाउँगाउँमा उत्पादन भएको आलुले बजार पाउन थालेको हो ।  गत वर्षमा ३३ हेक्टर क्षेत्रफलमा खायन आलु प्रवद्र्धन कार्यक्रम सञ्चालन भएको कार्यालयले जनाएको छ । 

 

कार्यक्रममार्फत कृषक समूह र सहकारीहरूलाई बीउ, यान्त्रिकीकरण, सिँचाइ पूर्वाधार, प्याकेजिङ र ढुवानीका लागि रु ४० लाख अनुदान उपलब्ध गराएको कार्यालय प्रमुख बास्तोलाले बताउनुभयो ।

 

म्याग्दीमा आलु जोन कार्यक्रमले अन्नपूर्ण र रघुगङ्गा गाउँपालिका तथा बेनी नगरपालिकाको वडा नं ९ र १० मा आलुखेती विस्तारमा सहयोग गर्दै आएको छ । 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

न्यूज अभियान डट कमको एन्ड्रोइड एपका लागि यहाँ क्लिक गर्नुहोस् । हरेक खबर विशेष खबरका लागि अफिसियल फेसबुकट्वीटर मार्फत जोडिनुहोस् ।


न्यूज अभियान TV - ग्यालेरी

View All
newsabhiyan
newsabhiyan
newsabhiyan
newsabhiyan
newsabhiyan
newsabhiyan
newsabhiyan
newsabhiyan
newsabhiyan
newsabhiyan