Saturday 22nd of August | २०८३ भदौ ६ शनिबार

न्यूज अभियान
हरेक खबर विशेष खबर

कोशीमा विद्युत् आपूर्ति सुधार र खपत वृद्धि गर्न मन्त्री श्रेष्ठको जोड

न्यूजअभियान | प्रकाशित मिति : २०८३ भदौ ६ शनिबार | (रासस)

काठमाडौँ, ६ भदौः ऊर्जा, जलस्रोत तथा सिँचाइमन्त्री विराजभक्त श्रेष्ठले कोशी प्रदेशको विद्युत् आपूर्ति प्रणालीलाई थप व्यवस्थित, भरपर्दो र प्रभावकारी बनाउँदै विद्युत् खपत वृद्धि गर्न विशेष ध्यान दिनुपर्ने बताउनुभएको छ ।

    कोशी प्रदेशको भ्रमणका क्रममा नेपाल विद्युत् प्राधिकरणका प्रादेशिक तथा वितरण कार्यालयका प्रमुख, कर्मचारी, जनप्रतिनिधिलगायत सरोकार भएका निकायका प्रतिनिधिसँग आज छलफल गर्दै उहाँले विद्युत् आपूर्तिमा देखिएका समस्या, स्थानीयवासीका गुनासा र कर्मचारीका समस्या पहिचान गरी तत्काल समाधान गर्न निर्देशन दिनुभएको मन्त्री श्रेष्ठको सचिवालयले जनाएको छ ।

    प्रदेशको विद्युत् वितरण प्रणालीको वर्तमान अवस्था, उपलब्धि र आगामी कार्यदिशाबारे आयोजित अन्तरक्रियामा मन्त्री श्रेष्ठले नागरिकले नियमित, गुणस्तरीय र भरपर्दो विद्युत् सेवा पाउने वातावरण बनाउन प्राधिकरणका कर्मचारीले विगतभन्दा अझ बढी मेहनत गर्नुपर्ने बताउनुभयो । विद्युत् आपूर्तिमा समस्या देखिएलगत्तै समाधान गर्ने र गुनासो प्राप्त भएपछि ढिलाइ नगरी सम्बोधन गर्ने प्रणाली विकास गर्न निर्देशन दिँदै उहाँले समयमै सूचना प्रवाह र प्रभावकारी गुनासो व्यवस्थापनले नागरिकको विश्वास बढाउने बताउनुभयो ।

    मन्त्री श्रेष्ठले वितरण केन्द्रले स्थानीय आवश्यकता र समस्याका आधारमा अघि सारेका रचनात्मक योजना तथा प्रस्तावलाई प्रादेशिक कार्यालयमार्फत प्रभावकारी रूपमा अगाडि बढाउनुपर्नेमा जोड दिनुभयो । योजना, बजेट र पूर्वाधार निर्माणको उपलब्धिभन्दा नागरिकले प्राप्त गरेको सेवाको गुणस्तरलाई कामको वास्तविक मूल्याङ्कनको आधार बनाउनुपर्ने उहाँको भनाइ छ ।

    सरकारले चालु आर्थिक वर्षमा प्रसारण तथा वितरण प्रणाली सुधारका लागि पर्याप्त बजेट विनियोजन गरेको उल्लेख गर्दै मन्त्री श्रेष्ठले बजेट कार्यान्वयनका लागि सुरुदेखि स्पष्ट योजना बनाएर काम अघि बढाउन निर्देशन दिनुभयो । आर्थिक वर्षको अन्त्यमा मात्रै प्रगति खोज्नेभन्दा अहिलेबाटै आयोजना तथा कार्यक्रम कार्यान्वयनलाई गति दिनुपर्ने उहाँले बताउनुभएको सचिवालयले जनाएको छ ।

    औद्योगिक तथा व्यावसायिक गतिविधिका दृष्टिले महत्वपूर्ण कोशी प्रदेशमा विद्युत् खपत बढाउने पर्याप्त सम्भावना रहेकाले उद्योग, व्यवसाय तथा अन्य क्षेत्रमा विद्युत् उपयोग विस्तारका लागि विशेष कार्यक्रम बनाउनुपर्ने ऊर्जामन्त्री श्रेष्ठको भनाइ छ । कोशीमा विद्युत् चुहावट नियन्त्रणमा भएको प्रगतिलाई सकारात्मक उपलब्धिका रूपमा उल्लेख गर्दै उहाँले प्रसारण तथा वितरण पूर्वाधारसँग सम्बन्धित समस्या समाधानका लागि जनप्रतिनिधि र स्थानीय तहसँग सहकार्य बढाउनुपर्ने सुझाव दिनुभयो ।

    प्राधिकरणमा बजेट तथा कार्यक्रम कार्यान्वयनमा विकेन्द्रीकरणको अभ्यास सुरु गरिएको उल्लेख गर्दै मन्त्री श्रेष्ठले प्रादेशिक कार्यालयले प्राप्त अधिकार, जिम्मेवारी र स्रोतको अधिकतम उपयोग गर्नुपर्ने बताउनुभयो । अधिकारसँगै जिम्मेवारी पनि बढेकाले त्यसको परिणाम नागरिकले महसुस गर्ने गरी काम गर्नुपर्नेमा उहाँले जोड दिनुभयो ।

    छलफलमा ऊर्जा, जलस्रोत तथा सिँचाइ मन्त्रालयका सचिव सरिता दवाडीले वितरण प्रणालीमा लक्षित सुधार गर्न सके दिगो र गुणस्तरीय विद्युत् सेवा प्रवाहमा उल्लेख्य परिणाम हासिल गर्न सकिने बताउनुभयो । चुहावट नियन्त्रणमा कोशी प्रदेशले गरेको सुधारलाई सेवा प्रवाहमा समेत रूपान्तरण गर्नुपर्ने उहाँले बताउनुभयो ।

    नेपाल विद्युत् प्राधिकरणका कामु कार्यकारी निर्देशक दीर्घायुकुमार श्रेष्ठले नागरिकको अपेक्षा उच्च रहेकाले प्राधिकरणले कार्यसम्पादनको स्तर अझमाथि उठाउनुपर्ने बताउनुभयो । नागरिकले सेवा प्रवाहलाई विद्युत् कटौती र आपूर्तिको नियमितताका आधारमा मूल्याङ्कन गर्ने भएकाले तत्कालीन, मध्यकालीन र दीर्घकालीन योजना बनाएर अघि बढ्नुपर्ने उहाँले सुझाव दिनुभयो । 

    प्राधिकरणका उपकार्यकारी निर्देशक एवं वितरण तथा ग्राहक सेवा निर्देशनालयका प्रमुख राजन ढकालले वितरण पूर्वाधार विस्तारसँगै नागरिकले प्राप्त गर्ने सेवाको गुणस्तरलाई केन्द्रमा राख्नुपर्ने बताउनुभयो । औद्योगिक तथा घरायसी क्षेत्रमा उच्च विद्युत् खपत गर्ने प्रदेश भए पनि कोशीमा विद्युत् खपत अझै बढाउन सकिने सम्भावना रहेको उहाँले बताउनुभयो ।

    प्राधिकरणको कोशी प्रादेशिक कार्यालयका प्रमुख कमल आचार्यका अनुसार प्रदेशका १४ जिल्लाका २४ वितरण शाखामार्फत ११ लाख ३७ हजारभन्दा बढी ग्राहकलाई विद्युत् सेवा उपलब्ध गराइएको छ । गत आर्थिक वर्षमा प्रदेशमा दुई हजार ४८ दशमलव ४१ गिगावाट घण्टा विद्युत् बिक्री गरिएकामा रु १९ अर्ब २१ करोड आम्दानी भएको उहाँले जानकारी दिनुभयो । प्रदेशमा विद्युत् चुहावट ११ दशमलव २१ प्रतिशतमा झरेको उहाँले जानकारी दिनुभयो ।

    कोशी प्रादेशिक कार्यालयअन्तर्गत तीन महत्वपूर्ण सबस्टेसन निर्माणाधीन रहेको बताउँदै प्रमुख आचार्यले मोरङको लेटाङमा पोलमाउन्टेन प्रविधिको सबस्टेसन निर्माण सम्पन्न भएको जानकारी दिनुभयो ।

    छलफलमा मोरङ र सुनसरीबाट प्रतिनिधित्व गर्ने सांसद दीपक साह, सिर्जना श्रेष्ठ, रुबिना आचार्यलगायतले जनअपेक्षाअनुसार विद्युत् सेवा प्रवाहमा सुधार गर्न सुझाव दिनुभयो । उहाँहरूले स्थानीयस्तरमा देखिएका विद्युत् आपूर्ति तथा पूर्वाधारसम्बन्धी समस्या तत्काल सम्बोधन गर्दै नागरिकलाई सहज, सुलभ, नियमित र भरपर्दो विद्युत् सेवा उपलब्ध गराउनुपर्नेमा जोड दिनुभयो ।

    यसैबीच, ऊर्जा, जलस्रोत तथा सिँचाइमन्त्री श्रेष्ठले सुनसरी-मोरङ औद्योगिक करिडोरमा विद्युत् आपूर्ति सहज बनाइने बताउनुभएको छ । शुक्रबार इनरुवास्थित ४०० केभी भोक्राहा सबस्टेसनको निरीक्षण गर्दै उहाँले विद्युत् उत्पादनसँगै आन्तरिक खपत कसरी वृद्धि गर्ने भन्ने विषयमा योजनाबद्ध काम गर्नुपर्ने आवश्यकता औँल्याउनुभयो ।

    मन्त्री श्रेष्ठले चर्चामा रहेको इनरुवालाई विद्युतको ‘हब’का रूपमा विकास गर्न सकिने उल्लेख गर्दै पूर्वी क्षेत्रमा देखिएका विद्युत् समस्या समाधान तथा प्रसारण प्रणालीमा सुधार गरिने जानकारी दिनुभयो । उहाँले विद्युत् निर्यातसँगै देशभित्रै खपत बढाउने वातावरण निर्माण गर्नुपर्नेमा जोड दिनुभयो ।

    सुनसरी-मोरङ औद्योगिक करिडोरमा विद्युत् आपूर्ति सहज बनाउनुका साथै सुनसरी खोलाबाट हुने बाढीको जोखिम न्यूनीकरण र विद्युत् भारत निर्यातका लागि आवश्यक पूर्वाधार विकासमा समेत सरकारले काम गरिरहेको उहाँको भनाइ छ । भोक्राहा सबस्टेसन तथा सुनसरी खोलाको स्थलगत निरीक्षणका क्रममा उहाँले पूर्वी क्षेत्रमा विद्युत् आपूर्ति, प्रसारण लाइन तथा अन्य विद्युत् पूर्वाधारको अवस्थाबारे जानकारी लिनुभएको थियो ।

    मन्त्री श्रेष्ठले भन्नुभयो, “विद्युत् आपूर्तिमा देखिएका समस्यालाई प्राथमिकताका आधारमा क्रमशः समाधान गर्दै लगिनुका साथै आवश्यक रणनीति निर्माण गर्नु जरुरी छ । साथै नीतिगत सुधार गर्नुपर्ने भएमा सोका लागि प्रभावकारी रूपमा पहल गर्दै जानेछौँ ।”
 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

न्यूज अभियान डट कमको एन्ड्रोइड एपका लागि यहाँ क्लिक गर्नुहोस् । हरेक खबर विशेष खबरका लागि अफिसियल फेसबुकट्वीटर मार्फत जोडिनुहोस् ।


न्यूज अभियान TV - ग्यालेरी

View All
newsabhiyan
newsabhiyan
newsabhiyan
newsabhiyan
newsabhiyan
newsabhiyan
newsabhiyan
newsabhiyan
newsabhiyan
newsabhiyan