रसुवा बाढी : २६९७ जनाको उद्धार, ८ हजार ३ सयभन्दा बढी सेना मैदानमा (अपडेट)
हेलिकप्टरले आकाशबाट जीवन खोज्दै, सुरुङभित्र हराएका संरचनाको खोजी रातभर जारी
काठमाडौं । रसुवामा आएको विनाशकारी बाढीपछि उद्धार अभियानले गति लिएको छ। बाढीबाट प्रभावित टिमुरे, स्याफ्रुवेशी, धुन्चे र मैलुङलगायतका क्षेत्रमा नेपाली सेनाले हवाई तथा स्थल माध्यमबाट हालसम्म २ हजार ६ सय ९७ जनाको उद्धार गरेको छ।
नेपाली सेनाका अनुसार २०८३ भदौ १४ गते बिहान ७ बजेसम्म हवाई साधनमार्फत २ हजार ४ सय ९७ जना तथा स्थलमार्गबाट २ सय जना गरी जम्मा २ हजार ६ सय ९७ जनाको उद्धार गरिएको हो।
उद्धार गरिएकामध्ये २१६ जना विदेशी नागरिक रहेका छन्। उद्धार गरिएका विदेशीमध्ये १२१ भारतीय, ४ जर्मन, ७२ चिनियाँ, २ अमेरिकी, २ इटालियन, १ ओमानी र १५ जना कोरियाली नागरिक रहेको नेपाली सेनाले जनाएको छ।
बाढीले बाटो, पुल र संरचना बगाएपछि सडकमार्गबाट उद्धार चुनौतीपूर्ण बनेको अवस्थामा सेनाका हेलिकप्टरहरू प्रभावित क्षेत्रमा निरन्तर परिचालन भइरहेका छन्। जहाँ सडक पुगेन, त्यहाँ आकाश उद्धारको बाटो बनेको छ।
यसैबीच, प्रभावित जिल्लाहरूमा नेपाली सेनाका ८ हजार ३ सयभन्दा बढी सैनिक परिचालन गरी खोज, उद्धार तथा राहतका कामलाई समन्वयात्मक रूपमा अगाडि बढाइएको छ।
सुरुङको मुख खोज्दै सेना, पानीले फेरि रोक्यो अभियान
बाढीको सतहमा मात्र होइन, भूमिगत संरचनामा पनि उद्धारको चुनौती थपिएको छ। विभिन्न उपकरणको प्रयोग गरी हाइड्रोपावरका टनेलहरूको प्रवेशद्वार पत्ता लगाउने अभियान जारी छ।
विशेषगरी त्रिशूली हाइड्रोपावरको 3A टनेलको प्रवेशद्वार खोज्ने कार्य रातभर सञ्चालन गरिएको थियो। तर राति करिब २ बजेपछि ठूलो वर्षा भएपछि खोलाको सतह बढ्नुका साथै खाडलहरूमा समेत पानी भरिएपछि खोजी कार्य केही समयका लागि रोकिएको नेपाली सेनाले जनाएको छ।
बाढीले सतहका संरचना तहसनहस बनाइरहेका बेला सुरुङभित्रको अवस्था पत्ता लगाउनु अर्को कठिन परीक्षा बनेको छ। पानीको बहाव, वर्षा र जोखिमबीच सुरुङको प्रवेशद्वार खोज्ने प्रयास जारी छ।
एकातिर आकाशबाट नागरिकको उद्धार भइरहेको छ, अर्कोतिर जमिनमुनि हराएका संरचनाको खोजी भइरहेको छ।
रसुवाको विपद्ले राज्यको उद्धार क्षमताको मात्र होइन, विपत्तिसँग जुध्ने धैर्य र समन्वयको पनि परीक्षा लिइरहेको छ।
नेपाली सेनाले प्रभावित क्षेत्रमा उपलब्ध स्रोत–साधनको अधिकतम प्रयोग गर्दै खोज, उद्धार र राहतलाई निरन्तरता दिएको जनाएको छ।
