Wednesday 18th of November | २०८३ मङ्सिर २ बुधबार

न्यूज अभियान
हरेक खबर विशेष खबर

सरकार ! जनता तपाईंका हुन् कि केवल मतदाता ?

न्यूजअभियान | प्रकाशित मिति : २०८३ भदौ २५ बिहीबार | छायाचन्द्र भण्डारी
newsabhiyan

पुरानालाई गाली गरेर नयाँ शासन बन्दैन : प्रधानमन्त्रीदेखि मन्त्रीसम्मलाई जनताको सीधा प्रश्न—‘परिवर्तन आखिर कहाँ छ ?’

काठमाडौं । समाज कता जाँदैछ ? सरकार के सोचिरहेको छ ? राजनीतिक नेतृत्व कुन दिशातिर हिँडिरहेको छ ? नागरिकको मनमा उठिरहेका यी प्रश्न अब सामान्य असन्तुष्टि मात्र रहेनन् । यी प्रश्न राज्यप्रतिको विश्वाससँग जोडिएका छन् ।

निर्वाचनमा नागरिकले मत दिए । नयाँ अनुहारलाई अवसर दिए । पुराना राजनीतिक दल र तिनका नेतृत्वप्रति असन्तुष्टि व्यक्त गरे । परिवर्तनको आशा गरे । अब नागरिकको प्रश्न स्वाभाविक छ—“हामीले तपाईंलाई मत दिएको पुरानालाई गाली गर्न कि आफूले भोग्दै आएको समस्या समाधान गर्न ?”

यो प्रश्न प्रधानमन्त्री वालेन्द्र शाहदेखि सरकारका प्रत्येक मन्त्री र सत्तारुढ राजनीतिक नेतृत्वसम्म पुग्नुपर्छ । किनकि सरकार बदलिएको छ भने नागरिकको जीवनमा पनि परिवर्तन देखिनुपर्छ । सिंहदरबारका कुर्सी फेरिएर मात्र परिवर्तन हुँदैन । कुर्सीमा बस्ने मान्छे फेरिएर मात्र शासनको चरित्र फेरिँदैन ।

व्यवहार, निर्णय, सेवा प्रवाह र जवाफदेहिता फेरिनुपर्छ । आज नागरिक ग्यासको सिलिन्डर बोकेर लाइनमा छन् । किसान मलका लागि भौँतारिरहेका छन् । बिरामी उपचारका लागि लाइनमा छन् । विद्यार्थी शिक्षा र भविष्यको चिन्तामा छन् । युवा रोजगारी खोज्दै विदेशको बाटो हेर्न बाध्य छन् ।

अनि सरकार के गरिरहेको छ ?
निर्वाचनमार्फत नागरिकले नयाँ नेतृत्वलाई अवसर दिए । पुराना दलप्रतिको असन्तुष्टि व्यक्त गर्दै उनीहरूले शासनशैली, सेवा प्रवाह र राजनीतिक संस्कारमा परिवर्तनको अपेक्षा गरेका हुन् । त्यसैले अहिले सरकारसँग जनताको सीधा प्रश्न छ—मत पुरानालाई गाली गर्न दिइएको हो कि नागरिकका वास्तविक समस्या समाधान गर्न ?

सरकार परिवर्तनको अर्थ केवल सिंहदरबारका कुर्सी फेरिनु होइन । नागरिकको दैनिकीमा सुधार आउनु, प्रशासनिक व्यवहार बदलिनु, भ्रष्टाचार नियन्त्रण हुनु र सार्वजनिक सेवा सहज बन्नु नै परिवर्तनको वास्तविक मापदण्ड हो ।

ग्यासका लागि लाइन, मलका लागि किसानको भौँतारिनु, अस्पतालमा उपचारको प्रतीक्षा र रोजगारीका लागि विदेशिनुपर्ने बाध्यता अझै कायम छ भने सरकारको उपलब्धि भाषणमा मात्र सीमित देखिन्छ । भोटेकोशी बाढी उद्धारमा सरकारमाथी प्रश्न उठाएकाछन् । अघिल्ला सरकारका कमजोरी गन्नु सजिलो छ, तर वर्तमान सरकारले आफ्नो जिम्मेवारीबाट उम्किन पाउँदैन ।

प्रधानमन्त्री र मन्त्रीहरूले अब बहाना होइन, परिणाम देखाउनुपर्छ । नयाँ राजनीतिक शक्तिले पनि पुरानाको असफलतालाई आफ्नो सफलताको प्रमाण मान्नु हुँदैन । जनताले तुलना होइन, ठोस काम खोजेका छन् ।

नागरिक कुनै दलको स्थायी सम्पत्ति होइनन् । उनीहरू कर तिर्ने, देश धान्ने र अधिकार भएका नागरिक हुन् । त्यसैले राज्यले उनीहरूलाई मतदाता मात्र होइन, सम्मानित सेवाग्राहीका रूपमा व्यवहार गर्नुपर्छ ।

यही प्रश्न हो । प्रधानमन्त्री शाहलाई प्रश्न : पुरानालाई गाली गरेर नयाँ शासन प्रमाणित हुन्छ ? प्रधानमन्त्रीज्यू, तपाईंले पुराना राजनीतिक दलको कमजोरी देखाउन पाउनुपर्छ । त्यो लोकतान्त्रिक अधिकार हो । तर एउटा कुरा बिर्सन मिल्दैन—पुरानाको असफलता तपाईंको सफलताको प्रमाणपत्र होइन ।

हिजोका सरकार असफल थिए भने नागरिकले नयाँलाई अवसर किन दिए ?  हिजो भ्रष्टाचार थियो भने आज भ्रष्टाचार नियन्त्रणको ठोस परिणाम कहाँ छ ? हिजो सुशासन थिएन भने आज सरकारी कार्यालयमा नागरिकले फरक व्यवहार कहिले पाउने ?

हिजो बिचौलिया थियो भने आज निर्णय प्रक्रियाबाट बिचौलिया कति हटे ? हिजो स्वास्थ्यमा समस्या थियो भने आज सर्वसाधारणले सहज उपचार कहाँ पाएका छन् ? हिजो ग्यासको समस्या थियो भने आज खाली सिलिन्डर बोकेर नागरिक किन लाइनमा छन् ? पुरानो सरकारको गल्ती गनेर नयाँ सरकारको हिसाब बुझिँदैन । जनताले नयाँ सरकारलाई पुरानाको इतिहास पढाउन होइन, आफ्नो भविष्य बनाउन मत दिएका हुन् ।

प्रधानमन्त्रीज्यू, जनताले तपाईंको भाषण होइन, भान्साको आगो खोजेका छन् सिंहदरबारमा नीति बन्छ । मन्त्रालयमा बैठक हुन्छ । विज्ञ बोलाइन्छन् । निर्णय हुन्छन् । प्रेस विज्ञप्ति आउँछन् । तर अन्तिम परीक्षा कहाँ हुन्छ ?

नागरिकको घरमा । ग्यास नआएको घरमा । अस्पतालको लाइनमा । किसानको खेतमा । विद्यालयको कक्षाकोठामा । रोजगारी खोज्दै हिँडेको युवाको जीवनमा ।

प्रधानमन्त्रीज्यू, एउटा परिवारले खाली सिलिन्डर बोकेर घण्टौँ लाइनमा बस्दा त्यसलाई प्रशासनिक समस्या भनेर फाइलमा बन्द गर्न सकिएला । तर त्यो परिवारका लागि त्यो दिनको खाना, बालबालिकाको पढाइ र घरको दैनिकीसँग जोडिएको संकट हो ।

सरकारले नागरिकलाई भन्नुपर्छ—ग्यासको समस्या किन आयो ? कसको कमजोरीले आयो ? समाधान कहिले हुन्छ ? दोष कसको भनेर खोज्नु गलत होइन । तर दोष खोज्दै गर्दा जिम्मेवारी कसले लिने ? भन्ने प्रश्न पनि त्यत्तिकै महत्वपूर्ण छ ।

मन्त्रीहरूलाई प्रश्न : ‘गर्न सकिनँ’ भनेपछि कुर्सी किन ?
आज राजनीतिमा एउटा नयाँ शैली स्थापित हुँदै गएको देखिन्छ—गल्ती स्वीकार गर, तर जिम्मेवारी नछोड । ‘हामीबाट भएन ।’ ‘समय लाग्यो ।’ ‘प्रणाली पुरानो छ ।’‘समस्या गम्भीर छ ।’ ‘अघिल्लो सरकारले बिगारेको हो ।’

यी सबै तर्क हुन सक्छन् । तर जनताको प्रश्न सरल छ “त्यसो भए तपाईंको जिम्मेवारी के हो ?”मन्त्री पद उपलब्धि देखाउने ठाउँ हो, असफलताको बहाना प्रस्तुत गर्ने मञ्च होइन । कुनै मन्त्रीले आफ्नो मन्त्रालयको मुख्य जिम्मेवारी पूरा गर्न नसकेको अवस्थामा राजनीतिक नैतिकताको प्रश्न उठ्नु स्वाभाविक हो । पदमा बस्नु नै उपलब्धि होइन ।

पदमा बसेर परिणाम दिनु उपलब्धि हो । प्रधानमन्त्रीज्यू, तपाईंको मन्त्रिपरिषद्का सदस्यहरूलाई एउटा सामान्य मापदण्डमा जाँच्नुस्—कसले परिणाम दियो ? कसले दिएन ? कसले निर्णय गर्न सक्यो ? कसले फाइल घुमायो ?किनकि जनताले मन्त्रीको कुर्सी गन्न मत दिएका होइनन्, काम गन्न मत दिएका हुन् ।

रास्वपालाई प्रश्न : परिवर्तनको नारा अब व्यवहारमा कहिले देखिन्छ ?
नयाँ राजनीतिक शक्तिलाई नागरिकले ठूलो आशा दिएका छन् । यही आशा नै सबैभन्दा ठूलो राजनीतिक पूँजी हो । तर आशा धेरै ठूलो भएपछि अपेक्षा पनि ठूलो हुन्छ । त्यसैले रास्वपाको नेतृत्वलाई पनि प्रश्न गर्नैपर्छ,
तपाईंहरू पुरानाभन्दा फरक कसरी ? पुरानाले परिवारवाद गरेनन् भनेर तपाईंहरू सफल हुनुहुन्न । पुरानाले भ्रष्टाचार गरे भनेर तपाईंहरू स्वतः इमानदार प्रमाणित हुनुहुन्न ।

पुराना नेताले जनताको आवाज सुनेनन् भनेर तपाईंहरू जनताको आवाज सुन्ने सरकार स्वतः बन्नुहुन्न । तुलना होइन, प्रमाण चाहिन्छ । जनताले अब भन्न थालेका छन्—‘ठीक छ, पुराना खराब थिए । तर नयाँले के राम्रो गरे ?’ यही प्रश्नको जवाफ कामबाट दिनुपर्छ ।

राजनीतिक नेतृत्वलाई अर्को प्रश्न : सत्ता पाएपछि सडक किन सुनसान ?
हिजो प्रतिपक्ष सडकमा हुन्थ्यो । विद्यार्थी जनताका मुद्दामा आन्दोलन गर्थे । नागरिक अधिकारका विषयमा आवाज उठ्थ्यो । कतिपय व्यक्ति आफ्नै ज्यान जोखिममा राखेर अनशन बस्ने गर्थे । नेताहरू सत्ताको विरोध गर्दा नैतिकताको भाषा बोल्थे ।

आज सत्ता बदलिएको छ । तर सडकको प्रश्न हराएको छ कि प्रश्न गर्नेहरू नै सत्ताको वरिपरि पुगे ? यो प्रश्न केवल प्रतिपक्षलाई होइन, सत्तापक्षलाई पनि हो । हिजो सडकमा हुँदा नागरिकको पीडा देखिन्थ्यो, आज सिंहदरबार पुगेपछि किन देखिँदैन ? राजनीतिको चरित्र यहीँबाट परीक्षण हुन्छ । सत्तामा हुँदा पनि जनताको आवाज सुन्न सक्ने नेतृत्व नै लोकतान्त्रिक नेतृत्व हो ।

गगन थापादेखि देउवासम्म, ओलीदेखि प्रचण्डसम्म—प्रश्न सबैलाई
नेपालको राजनीतिक नेतृत्वले एउटा कुरा आत्मसात् गर्नैपर्छ—जनता कुनै दलको स्थायी सम्पत्ति होइनन् । नेपाली कांग्रेसलाई मत दिने नागरिक सधैँ कांग्रेसका हुँदैनन् । एमाले समर्थक नागरिक सधैँ एमालेका हुँदैनन् । माओवादीलाई मत दिने नागरिक सधैँ माओवादीका हुँदैनन् ।

रास्वपालाई मत दिने नागरिक पनि सधैँ रास्वपाकै हुँदैनन् । नागरिक विचारका हुन्, विवेकका हुन्, आफ्नै भविष्यका हुन् । त्यसैले गगन थापालाई प्रश्न छ,प्रतिपक्ष वा राजनीतिक नेतृत्वको भूमिका भाषण र वक्तव्यमा सीमित हुने कि जनताका दैनिक समस्यामा वैकल्पिक समाधान प्रस्तुत गर्ने ?

शेरबहादुर देउवालाई प्रश्न छ—दशकौँको राजनीतिक अनुभवपछि पनि नेपाली नागरिकले उही पुराना समस्याको भारी कहिलेसम्म बोक्ने ? केपी शर्मा ओलीलाई प्रश्न छ—विकासका ठूला सपना देखाउने राजनीतिक नेतृत्वले नागरिकको सानोभन्दा सानो दैनिक समस्या समाधान गर्न नसक्दा ती सपनाको अर्थ के रहन्छ ?

प्रचण्डलाई प्रश्न छ—परिवर्तनको नाममा दशकौँ राजनीति गरिसकेपछि पनि नागरिकले आधारभूत सेवा लिन लाइन बस्नुपर्ने अवस्थालाई परिवर्तनको उपलब्धि कसरी मान्ने ? र प्रधानमन्त्री शाहलाई सबैभन्दा ठूलो प्रश्न“तपाईंहरू सबैभन्दा फरक के गर्दै हुनुहुन्छ ?”

नागरिकलाई ‘आफ्ना’ सम्झिने कि ‘मतदाता’ मात्र ?
राजनीतिक दलहरू निर्वाचनको समयमा नागरिकको घरदैलोमा पुग्छन् । हात जोड्छन् । भोट माग्छन् । आफ्नो बनाउँछन् । तर निर्वाचन सकिएपछि त्यही नागरिक सरकारी कार्यालयमा पुग्दा फाइल बोकेर धाउनुपर्छ भने राजनीतिको आत्मा कहाँ छ ?

मत माग्दा नागरिक ‘आफ्ना’ हुने र समस्या लिएर आउँदा ‘झन्झट’ बन्ने हो भने त्यो राजनीति होइन, मतको मौसममा गरिएको सम्बन्धको व्यापार हो । उखान छ—‘काम पर्दा आमाको पनि मुख नहेर्ने।’ राजनीतिले नागरिकलाई त्यस्तो अवस्थामा पुर्‍याउनु हुँदैन ।

नागरिक पाँच वर्षमा एकपटक मत हाल्ने मेसिन होइन । ऊ कर तिर्छ । नियम पालना गर्छ । देश चलाउँछ । अर्थतन्त्र धान्छ । संकटमा सुरक्षा निकायसँग उभिन्छ । विपद्मा सहयोग गर्छ । त्यसैले राज्यले पनि उसको जीवनमा उभिनुपर्छ ।

खाली सिलिन्डर, खाली बोरा र अस्पतालको लाइन—यी सरकारका ऐना हुन्
सरकारले आफ्ना उपलब्धि गन्नुअघि तीन ठाउँ हेर्नुपर्छ । पहिलो—ग्यासको लाइन। नागरिक कति समय उभिएको छ ? दोस्रो—मलको लाइन। किसान कति दिन भौँतारिएको छ ? तेस्रो, अस्पतालको लाइन। बिरामीले उपचार पाउन कति समय कुर्नुपरेको छ ?

यी तीनवटा लाइन घटे भने सरकार सफलताको बाटोमा छ । यी तीनवटा लाइन बढे भने जतिसुकै ठूलो भाषण गरे पनि नागरिकको जीवनमा सरकारको उपस्थिति कमजोर छ । सरकारको रिपोर्ट कार्ड मन्त्रालयको वेबसाइटमा होइन, नागरिकको अनुहारमा पढिन्छ ।

शक्तिले मानिसलाई अन्धो नबनाओस्
सत्ताको वरिपरि बसेर आफू कस्तो देखिन्छु भनेर बुझ्न कठिन हुन्छ । वरिपरि प्रशंसा हुन्छ । फूलमाला हुन्छ । जयजयकार हुन्छ । सुरक्षा घेरा हुन्छ । प्रोटोकल हुन्छ । तर नागरिकको वास्तविक आवाज त्यहाँसम्म पुग्दैन ।

त्यसैले शक्तिमा भएकाहरूले कहिलेकाहीँ आफ्नो वरिपरिको घेरा तोडेर सडकतिर हेर्नुपर्छ । अस्पतालतिर हेर्नुपर्छ । बजारतिर हेर्नुपर्छ । गाउँतिर हेर्नुपर्छ । किसानको खेततिर हेर्नुपर्छ । युवाको आँखातिर हेर्नुपर्छ ।
सिंहदरबारको झ्यालबाट देश सुन्दर देखिन सक्छ, तर देश बुझ्न सिंहदरबारबाहिर निस्कनुपर्छ ।

सरकार ! आलोचक शत्रु होइन
सरकारले पत्रकारको प्रश्नलाई दुश्मनी नठानोस् । नागरिकको आलोचनालाई षड्यन्त्र नठानोस् । सामाजिक सञ्जालको असन्तुष्टिलाई सबै ‘पुरानो शक्तिको चलखेल’ भनेर पन्छाउन खोज्नु पनि समस्याको समाधान होइन ।

कहिलेकाहीँ आलोचना साँच्चै आलोचना हुन्छ । कहिलेकाहीँ विरोधभित्र नागरिकको पीडा हुन्छ । कहिलेकाहीँ कठोर शब्दभित्र सत्य लुकेको हुन्छ । ऐना फुटाएर अनुहार सुन्दर हुँदैन । आलोचक हटाउँदैमा कमजोरी हट्दैन ।
प्रश्न दबाउँदैमा समस्या हराउँदैन । नागरिकको असन्तुष्टिलाई विज्ञप्तिले सधैँ थाम्न सकिँदैन ।

अब प्रश्नको समय हो
प्रधानमन्त्रीज्यू, तपाईंको सरकार नागरिकका लागि हो कि सत्ता सञ्चालनका लागि ? मन्त्रीज्यूहरू, तपाईंको कुर्सी जिम्मेवारी हो कि सुविधा ? सत्तारुढ दलका नेताहरू,पुरानालाई गाली गर्नुबाहेक नयाँ के गर्दै हुनुहुन्छ ?
प्रतिपक्षका नेताहरू,सत्तालाई प्रश्न गर्नु मात्रै पर्याप्त छ कि वैकल्पिक समाधान पनि दिनुहुन्छ ?  राजनीतिक दलहरू, जनताको मतलाई विश्वास मान्नुहुन्छ कि पाँच वर्षका लागि लिइएको अनुमति ? प्रशासन, नागरिकलाई सेवाग्राही मान्छौ कि झन्झट ? र हामी नागरिक के हामी पनि नेताको झन्डामा आफ्नो विवेक बाँधिरहने ?

समय बदलिएको छ । नागरिक पनि बदलिएका छन् । अब उनीहरू भाषण सुनेर मात्र विश्वास गर्ने अवस्थामा छैनन् । सामाजिक सञ्जाल, सञ्चारमाध्यम र प्रत्यक्ष अनुभवबाट उनीहरूले सरकारको काम हेर्छन् ।

अब पुरानो दललाई गाली गरेर नयाँ राजनीति चल्दैन । नयाँ अनुहार देखाएर मात्र नयाँ संस्कार स्थापित हुँदैन । नयाँ राजनीति भनेको नयाँ अनुहार होइन, नयाँ जवाफदेहिता हो ।

सरकार ! नागरिकलाई दया नदेखाऊ, अधिकार देऊ । आश्वासन नदेऊ, परिणाम देऊ । पुरानाको कमजोरी नदेखाऊ मात्र, आफ्नो सफलता देखाऊ । आलोचकलाई शत्रु नबनाऊ, ऐना बनाऊ । मन्त्रीको कुर्सी जोगाउने होइन, जनताको विश्वास जोगाउने राजनीति गर ।

किनकि इतिहासले एउटा दिन सबैसँग हिसाब माग्छ । त्यो दिन प्रधानमन्त्रीको भाषण, मन्त्रीको प्रेस विज्ञप्ति र दलको घोषणापत्र होइन—नागरिकको जीवनमा के परिवर्तन भयो ? भन्ने प्रश्न मात्र बाँकी रहनेछ ।

अन्ततः सरकारलाई खबरदारी जनता तपाईंका होइनन् । तपाईंहरू जनताका प्रतिनिधि हुनुहुन्छ । आज नागरिकले ग्यासको खाली सिलिन्डर, मलको खाली बोरा र अस्पतालको लामो लाइनबाट एउटै सन्देश दिइरहेका छन्, “हामीले तपाईंलाई मत दिएका हौँ, विवेक बुझाएका होइनौँ ।” त्यसैले अझै समय छ । सत्ताको ऐना हेर । जनताको अनुहार पढ । गल्ती सच्याऊ । जिम्मेवारी पूरा गर ।

सरकारको वास्तविक रिपोर्ट कार्ड मन्त्रालयका विज्ञप्तिमा होइन, नागरिकको भान्सा, खेत, अस्पताल र रोजगारीमा देखिन्छ । पुराना अनुहार हटाएर मात्र नयाँ राजनीति बन्दैन; जवाफदेहिता, पारदर्शिता र परिणाममुखी शासन आवश्यक छ ।

नत्र इतिहासको फैसला निकै कठोर हुन्छ, ‘पुराना गए, नयाँ आए; तर जनताको दुःख जहाँको तहीँ रह्यो।’त्यो वाक्य कुनै पनि नयाँ सरकारका लागि सबैभन्दा ठूलो राजनीतिक पराजय हुनेछ ।

यो पनि पढ्नुहोस् :
बाढीपीडितका नाममा सुरक्षाकर्मीको तलब कटौती : उद्धार गर्ने हातबाटै राहत उठाउने राज्यको नीति कति न्यायोचित ?

भोटेकोशीको बाढी : सरकार ! प्रश्नहरूको बेग्रल्ती वर्षा,सुरक्षा निकायलाई तीन गुणा सक्षम बनाऔँ

‘मुखले स्याबासी होइन, तलब बढाऊ सरकार’—विपद्मा ज्यान हत्केलामा राख्ने सुरक्षाकर्मीको तलब फिर्ता गर

बाढीले देश डुबायो, राज्यको संवेदना कहाँ हरायो ? भोटेकोशी–त्रिशूली विपत्तिपछि बालेन सरकारमाथि पाँच गम्भीर प्रश्न

विपद्को पीडामाथि राजनीतिक पसल नथापौं, अवाञ्छित यात्रा नगरौं

नौ सयभन्दा बढीको मृत्यु, हजारौं बेपत्ता, राज्यको उद्धार क्षमतामाथि गम्भीर प्रश्न

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

न्यूज अभियान डट कमको एन्ड्रोइड एपका लागि यहाँ क्लिक गर्नुहोस् । हरेक खबर विशेष खबरका लागि अफिसियल फेसबुक र ट्वीटर मार्फत जोडिनुहोस् ।


न्यूज अभियान TV - ग्यालेरी

View All
newsabhiyan
newsabhiyan
newsabhiyan
newsabhiyan
newsabhiyan
newsabhiyan
newsabhiyan
newsabhiyan
newsabhiyan
newsabhiyan