Friday 18th of September | २०८३ असोज २ शुक्रबार

न्यूज अभियान
हरेक खबर विशेष खबर

‘मदिराको हानिकारक प्रयोग नियन्त्रणमा गम्भीर बनौँ’

न्यूजअभियान | प्रकाशित मिति : २०८३ असोज १ बिहीबार | (रासस)

सुदूरपश्चिम, १ असोजः मदिराको हानिकारक प्रयोगबाट व्यक्ति, परिवार र समाजमा पर्ने असर न्यूनीकरणका लागि सबै सरोकार  निकाय गम्भीर बन्नुपर्नेमा जोड दिइएको छ ।

नेपाल बालमजदूर सरोकार केन्द्र (सिविन) नेपालले आज धनगढीमा आयोजना गरेको मदिरा नियमन तथा नियन्त्रणमा सञ्चारको     भूमिकासम्बन्धी कार्यक्रममा वक्ताहरुले मदिरा नियन्त्रणलाई सार्वजनिक स्वास्थ्य, उपभोक्ता अधिकार, बाल संरक्षण, राजस्व प्रशासन र जिम्मेवार सञ्चारसँग जोडेर हेर्नुपर्ने बताएका हुन् ।

मदिरा सेवनका कारण हुने घरेलु हिंसाले बालबालिकाको शारीरिक, मानसिक, सामाजिक तथा शैक्षिक विकासमा समेत असर पार्ने भएकाले राज्यले प्रमाणमा आधारित नीति, कानुन तथा कार्यक्रम निर्माण गरी कार्यान्वयन गर्नुपर्नेमा वक्ताहरूले जोड दिएका थिए ।

मदिरा नियन्त्रणलाई कानुनी कारबाहीमा मात्र सीमित नगरी स्वास्थ्य सेवा, जनचेतना, पारिवारिक संरक्षण, परामर्श तथा सामाजिक सुरक्षाका कार्यक्रमसँग जोड्नुपर्ने वक्ताहरुको भनाइ थियो । 

मदिराको बिक्री–वितरण, सेवन र प्रयोगबाट उत्पन्न जोखिम न्यूनीकरणका लागि तीनै तहका सरकारबीच प्रभावकारी समन्वय आवश्यक रहेको बताइएको थियो ।

कार्यक्रममा सिविन नेपाल, काठमाडौँका प्रतिनिधि सागर भण्डारीले मदिराको नियमन र नियन्त्रणसम्बन्धी राष्ट्रिय कानुन, नीति र अन्तरराष्ट्रिय प्रतिबद्धताबारे जानकारी गराउँदै यस विषयमा आमनागरिकलाई जानकारी र सचेत बनाउन सञ्चारकर्मीको भूमिका महत्वपूर्ण हुने बताउनुभयो । 

उहाँले संयुक्त राष्ट्रसङ्घको दिगो विकास लक्ष्यअन्तर्गत लक्ष्य ३ को उपलक्ष्य ३.५ ले मदिरा तथा अन्य लागुपदार्थको हानिकारक प्रयोगको रोकथाम र उपचारलाई प्राथमिकता दिएको स्मरण गराउँदै नेपालले अन्तरराष्ट्रिय प्रतिबद्धता र विद्यमान कानुनी व्यवस्थालाई व्यवहारमा कार्यान्वयन गर्नुपर्ने विषयमा कलम चलाउन आग्रह गर्नुभयो ।
 
सिविन नेपालका भगवती श्रेष्ठले पत्रकारले मदिराको उपभोगको अवस्था, स्वास्थ्यमा परेको असर, घरेलु हिंसा, बालबालिकामाथिको प्रभाव, कानुन कार्यान्वयन र सरकारी कार्यक्रमको प्रभावकारिताबारे निरन्तर प्रश्न उठाउनुपर्नेमा जोड दिनुभएको थियो ।

नेपाल पत्रकार महासङ्घ सुदूरपश्चिम प्रदेश समितिका पूर्वअध्यक्ष अर्जुन शाहले मदिरा नियमन तथा नियन्त्रणका लागि तीनै तहका सरकारका निकाय, स्वास्थ्य क्षेत्र, सञ्चारमाध्यम, नागरिक समाज र समुदायबीच सहकार्य आवश्यक रहेकाले त्यसका लागि नियमित सहजीकरणको आवश्यकता रहेको बताउनुभएको थियो ।
 
नेपाल पत्रकार महासङ्घका अध्यक्ष श्रवण देउवा, उपाध्यक्ष भावना जोशी, सञ्चारकर्मी भानुभक्त आचार्य, विराज रोश्यारा, भीम चौधरी, सीताराम ओझालगायतले मदिरा सेवनका कारण हुने स्वास्थ्य तथा सामाजिक क्षतिबारे नियमित, तथ्यमा आधारित र विषयगत समाचार सामग्री उत्पादनका लागि लेखनवृत्तिमा आधाति लगानी आवश्यक रहेकामा ध्यानाकर्षण गराएका थिए । 

साथै, मदिरा ऐन, २०३१ को समयसापेक्ष सुधार गरी कानुनले दायित्व सिर्जना गरेका निकायले त्यसको अक्षरशः पालना गर्नुपर्नेमा जोड दिइएको थियो । 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

न्यूज अभियान डट कमको एन्ड्रोइड एपका लागि यहाँ क्लिक गर्नुहोस् । हरेक खबर विशेष खबरका लागि अफिसियल फेसबुकट्वीटर मार्फत जोडिनुहोस् ।


न्यूज अभियान TV - ग्यालेरी

View All
newsabhiyan
newsabhiyan
newsabhiyan
newsabhiyan
newsabhiyan
newsabhiyan
newsabhiyan
newsabhiyan
newsabhiyan
newsabhiyan