तीन दिनपछि खुल्यो बेँसीसहर–चामे सडक
लमजुङ, २ असोजः पहिरोले बुधबार बिहानदेखि अवरुद्ध बनाएको बेँसीसहर–चामे सडक तीन दिनपछि सञ्चालनमा आएको छ ।
यस सडकअन्तर्गत मनाङको नासोँ गाउँपालिका–३ खोत्रेमा गएको पहिरो नेपाली सेनाले बम विस्फोट गराएर ढुङ्गा तथा पहिरो हटाएसँगै आज बिहानदेखि सडक सञ्चालनमा आएको डुम्रे–बेँसीसहर–चामे सडक आयोजनाका सूचना अधिकारी नवीन विष्टले जानकारी दिनुभयो ।
उहाँका अनुसार खोत्रेमा पहिरोसँगै ठूलाठूला ढुङ्गा खसेका थिए । तीमध्ये एउटा ढुङ्गा निकै ठूलो थियो । सडक अवरुद्ध भएपछि उक्त ढुङ्गा हटाउन बिहीबार पनि बम विस्फोट गराइएको थियो ।
पहिलो पटकको विस्फोटबाट ढुङ्गा पूर्ण रूपमा नफुटेपछि आज पुनः विस्फोट गराई ढुङ्गा फुटाएर पहिरो पन्छाइएको उहाँले बताउनुभयो ।
सडक खुलेसँगै साना सवारीसाधन सञ्चालनमा आएका छन् । सडक सञ्चालनमा आएपछि मनाङतर्फ आवतजावत गर्ने यात्रुलाई सहज भएको छ ।
ठूला सवारीसाधन सञ्चालनमा ल्याउन भने अझै केही समय लाग्ने सूचना अधिकारी विष्टले बताउनुभयो । करिब ६५ किलोमिटर लामो बेँसीसहर–चामे सडक मनाङलाई राष्ट्रिय सडक सञ्जालसँग जोड्ने मुख्य मार्ग हो ।
मनाङवासीको आवतजावतसँगै दैनिक उपभोग्य वस्तु तथा निर्माण सामग्रीको ढुवानी र पर्यटकीय आवागमनका लागि यो सडक महत्वपूर्ण मानिन्छ ।
