प्रदेश प्रमुख भट्टसमक्ष अख्तियार दुरूपयोग अनुसन्धान आयोगको प्रतिवेदन पेस
गण्डकी, १९ असोजः गण्डकी प्रदेशका प्रदेश प्रमुख डिल्लीराज भट्टसमक्ष अख्तियार दुरूपयोग अनुसन्धान आयोगको कार्यालय, पोखराले आर्थिक वर्ष २०८२/८३ को वार्षिक प्रतिवेदन आज पेस गरेको छ । आयोगको पोखरा कार्यालय प्रमुख नारायणप्रसाद सापकोटाले संविधानको धारा २९४ को उपधारा (३) को व्यवस्था बमोजिम प्रदेश प्रमुखसमक्ष आयोगको ३६औँ वार्षिक प्रतिवेदन पेस गर्नुभएको हो ।
सो अवसरमा प्रदेश प्रमुख भट्टले आर्थिक अनियमितता अन्त्य र भ्रष्टाचार नियन्त्रणको काम चुनौतीपूर्ण रहेको बताउँदै मुलुकमा सुशासन स्थापना गर्न, लोकतान्त्रिक व्यवस्थालाई बलियो बनाउन र प्रणाली बसाउन आयोग क्रियाशील रहेकामा खुसी व्यक्त गर्नुभयो ।
मुलुकको विकासको बाधक नै भ्रष्टाचार भएकाले यसलाई निर्मूल पार्न सामान्य व्यक्तिदेखि राज्यको उपल्लो ओहदामा बसेका पदाधिकारीसम्मले नैतिक आचरण सुधार गर्नुपर्नेमा उहाँले जोड दिनुभयो । “राज्य संयन्त्रको तल्लो तहदेखि उपल्लो तहसम्मका कर्मचारी तथा जिम्मेवार व्यक्तिहरूको नैतिक आचरण शुद्ध र कामप्रति जवाफदेहिता हुनुपर्छ”, उहाँले भन्नुभयो ।
