Wednesday 7th of October | २०८३ असोज २१ बुधबार

न्यूज अभियान
हरेक खबर विशेष खबर

जीप सफारीमार्फत पर्यटकीय गन्तव्य जोड्ने तयारी

न्यूजअभियान | प्रकाशित मिति : २०८३ असोज २१ बुधबार | रासस
newsabhiyan

 

दमौली (तनहुँ), २१ असोजः तनहुँका प्रमुख पर्यटकीय तथा धार्मिक गन्तव्यलाई एउटै पर्यटन सर्किटमा जोड्ने तयारी गरिएको छ । जिल्लामा पछिल्लो समय बढ्दै गएको आन्तरिक पर्यटनलाई लक्षित गर्दै बन्दीपुर र आँबुखैरेनीमा सञ्चालन हुँदै आएको जीप सफारीलाई अन्य पर्यटकीय गन्तव्यसँग जोड्ने योजना अघि सारिएको हो ।

 

बन्दीपुर भिलेज सफारीका सञ्चालक वसन्त पौडेलका अनुसार बन्दीपुर र आँबुखैरेनी क्षेत्रमा जीप सफारी सञ्चालन भइरहेको छ । पर्यटकलाई सडकमार्ग हुँदै गाउँ, पहाड, धार्मिकस्थल तथा प्राकृतिक गन्तव्यको अवलोकन गराउने उद्देश्यले जीप सफारी सञ्चालन गरिएको उहाँले बताउनुभयो ।

 

जीप सफारीलाई थप विस्तार गर्दै दमौली–मानुङकोट, छाब्दी, छिम्केश्वरी र आँधीमूललाई समेटेर धार्मिक तथा पर्यटकीय सर्किट विकास गर्ने तयारी गरिएको पौडेलले जानकारी दिनुभयो । “बन्दीपुर र आँबुखैरेनीमा जीप सफारी भइरहेको छ । अब यसलाई अन्य पर्यटकीय गन्तव्यसँग जोडेर पर्यटन सर्किटका रूपमा विकास गर्ने तयारी गरेका छौँ,” पौडेलले भन्नुभयो ।

 

उहाँका अनुसार तनहुँमा धार्मिक, प्राकृतिक र ग्रामीण पर्यटनका लागि पर्याप्त सम्भावना भए पनि गन्तव्यबीचको सम्बन्ध र पर्यटकीय प्याकेजको विकासमा अझै ध्यान पुग्न सकेको छैन । एउटै यात्रामा विभिन्न गन्तव्यको भ्रमण गर्न सकिने गरी सफारी सञ्चालन गर्न सके पर्यटकको बसाइ अवधि बढाउन पनि सहयोग पुग्ने उहाँको भनाइ छ ।

 

मानुङकोट सूर्योदय तथा हिमशृङ्खला अवलोकनका लागि चर्चित गन्तव्यका रूपमा विकास भएको छ । त्यससँगै छाब्दी धार्मिक तथा प्राकृतिक आकर्षण बोकेको स्थल हो । छिम्केश्वरी तनहुँको उच्च पहाडी क्षेत्रको महत्वपूर्ण धार्मिक तथा पर्यटकीय गन्तव्य हो भने आँधीमूल पनि धार्मिक पर्यटनका दृष्टिले महत्वपूर्ण स्थलका रूपमा परिचित छ ।

 

यी गन्तव्यलाई सडकमार्गमार्फत जोडेर जीप सफारी सञ्चालन गर्न सके पर्यटकलाई एउटै प्याकेजमा फरक–फरक प्रकृतिका गन्तव्यको अनुभव गराउन सकिने पौडेल बताउनुहुन्छ ।

 

जीप सफारीले पर्यटकलाई मुख्य बजार क्षेत्रबाट गाउँ तथा पहाडी बस्ती हुँदै गन्तव्यसम्म पु¥याउने भएकाले यसबाट ग्रामीण क्षेत्रमा समेत पर्यटनको लाभ पुग्ने अपेक्षा गरिएको छ । पर्यटकको आवागमन बढेमा स्थानीय होटल, होमस्टे, रेस्टुरेन्ट, कृषि उपज तथा स्थानीय उत्पादनको बजार विस्तारमा पनि सहयोग पुग्ने व्यवसायीको विश्वास छ ।

 

बन्दीपुर यसअघि नै नेपालको प्रमुख पहाडी पर्यटकीय गन्तव्यका रूपमा स्थापित छ । यहाँ आउने पर्यटकलाई आसपासका ग्रामीण तथा धार्मिक क्षेत्रसम्म पु¥याउन सके बन्दीपुरमा केन्द्रित पर्यटनलाई जिल्लाका अन्य क्षेत्रमा विस्तार गर्न सकिने देखिन्छ ।

 

आँबुखैरेनी पनि प्राकृतिक सौन्दर्य, धार्मिकस्थल तथा ग्रामीण परिवेशका कारण पर्यटकीय सम्भावना बोकेको क्षेत्र हो । जीप सफारीमार्फत यी क्षेत्रलाई जोड्दा सडकमार्गबाट सहजै घुम्न चाहने पर्यटकका लागि नयाँ विकल्प थपिने उहाँले बताउनुभयो ।

पर्यटन व्यवसायी पौडेलले पर्यटकलाई केवल एउटा गन्तव्य देखाएर फर्काउनेभन्दा गन्तव्यको समूह बनाएर प्याकेज तयार गर्नु अहिलेको आवश्यकता भएको बताउनुभयो । त्यसका लागि स्थानीय तह, पर्यटन व्यवसायी र स्थानीय समुदायबीच सहकार्य आवश्यक रहेको उहाँ बताउनुहुन्छ ।

 

“एउटा गन्तव्यमा पुगेपछि अर्को गन्तव्यसम्म जाने वातावरण बनाउन सकियो भने पर्यटकको बसाइ र खर्च दुवै बढाउन सकिन्छ,” पौडेलले भन्नुभयो । धार्मिक तथा पर्यटकीय सर्किट निर्माणसँगै स्थानीय समुदायलाई पर्यटनसँग जोड्ने योजना पनि महत्वपूर्ण हुने उहाँको भनाइ छ । 

 

पर्यटक आउने क्षेत्रका स्थानीयले घरबास (होमस्टे) सञ्चालन, स्थानीय खाना, हस्तकला, कृषि उपज तथा सांस्कृतिक गतिविधिमार्फत आम्दानी गर्न सक्ने भएकाले पर्यटनबाट प्रत्यक्ष लाभ लिन सक्ने वातावरण बनाउनुपर्नेमा उहाँले जोड दिनुभयो ।

 

तनहुँका विभिन्न क्षेत्रमा रहेका पर्यटकीय गन्तव्यबीच यातायातको सहज पहुँच, पूर्वाधार विकास र प्रचारप्रसारलाई एकीकृत गर्न सके जिल्लालाई लामो दूरीको पर्यटन गन्तव्यका रूपमा विकास गर्न सकिने व्यवसायीको विश्वास छ ।

––

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

न्यूज अभियान डट कमको एन्ड्रोइड एपका लागि यहाँ क्लिक गर्नुहोस् । हरेक खबर विशेष खबरका लागि अफिसियल फेसबुक र ट्वीटर मार्फत जोडिनुहोस् ।


न्यूज अभियान TV - ग्यालेरी

View All
newsabhiyan
newsabhiyan
newsabhiyan
newsabhiyan
newsabhiyan
newsabhiyan
newsabhiyan
newsabhiyan
newsabhiyan
newsabhiyan