Saturday 10th of October | २०८३ असोज २४ शनिबार

न्यूज अभियान
हरेक खबर विशेष खबर

वरिष्ठ मूर्तिकार कुमालेलाई मरणोपरान्त ‘ग्लोबल अवार्ड’ प्रदान गरिने

न्यूजअभियान | प्रकाशित मिति : २०८३ असोज २४ शनिबार |

ललितपुर, २४ असोजः नेपाली परम्परागत मूर्तिकलाका वरिष्ठ कलाकार, नेपालका प्रथम ललितकला उपाधिप्राप्त कलाकार तथा ‘क्रोधकला शिरोमणि’ स्व कालु कुमालेलाई मरणोपरान्त ‘ग्लोबल अवार्ड’ प्रदान गरिने भएको छ । 

ललितपुरमा आज आयोजित कुमालेको श्रद्धाञ्जलीसभाका अवसरमा इन्फिनिटी सर्भिस संस्थाकातर्फबाट उक्त जानकारी दिइएको हो । कार्यक्रम आगामी नोभेम्बर १ तारिखमा हुनेछ ।

विसं १९९० जेठ २७ गते ललितपुरको ऐतिहासिक ओकुबाहलमा जन्मनुभएका कालु कुमालेको ९४ वर्षको उमेरमा यही असोज ६ गते निधन भएको थियो । स्वभावले अत्यन्त शान्त भए पनि रौद्ररूपी क्रोधमुद्राका मूर्ति निर्माणमा सिद्धहस्त उहाँले नेपाली परम्परागत मूर्तिकलालाई विश्वमञ्चमा चिनाउन ऐतिहासिक भूमिका निर्वाह गर्नुभएको थियो ।

विसं २०१८ मै उहाँका कलाकृति बेलायतस्थित विश्वप्रसिद्ध ‘भिक्टोरिया एण्ड अल्बर्ट म्युजियम’ मा पुगेका थिए । आफ्नो जीवनकालमा ६०० भन्दाबढी उत्कृष्ट मूर्ति सिर्जना गर्नुभएका उहाँका कलाकृति विश्वका ५५ भन्दाबढी राष्ट्रमा पुगेका छन् ।

कुमालेका सिर्जनामा चतुर्भुज भैरव, बाराही, गणेश भैरव, अष्टमातृकागण, वज्र तथा नागदेवताका विभिन्न प्रतिष्ठित मन्दिरमा स्थापित मूर्ति रहेका छन् । अर्घौं दरबारमा रहेको २१ फिट अग्लो भगवतीको मूर्ति र पाटन दरबार सङ्ग्रहालयमा रहेको साढे छ फिट अग्लो बाराही जोगिनीको मूर्ति उहाँका उत्कृष्ट कलाकृतिका रूपमा परिचित छन् । उहाँको कलात्मक उचाइको चर्चा गर्दै विसं २०३० मै विश्वविख्यात लेखकद्वय इयान इसप र जिल्लि काल्र्टनले त्रिभुवन विश्वविद्यालयबाट प्रकाशित मुखपत्रमा विशेष लेख प्रकाशन गर्नुभएको थियो ।

इन्ष्टिच्युट फर सोसियो एण्ड एनालासिस संस्थाद्वारा लिखित तथा २०७९ सालमा प्रकाशित उहाँको जीवनीमा आधारित पुस्तक ‘देउता बनाउने मान्छे’ उपराष्ट्रपति रामसहायप्रसाद यादवबाट विमोचन भएको थियो ।

स्व कुमालेको आत्मवृत्तान्त समेटिएको उक्त पुस्तकमा उहाँले निष्ठा, धैर्य र इमानदारीलाई सफलताको मूल मन्त्र मान्ने गरेको उल्लेख छ । “हातमा काम लिइ भगवान्को नाम जप्दै मर्न पाउनु, मानिसले आफ्ना कुकृत्य अरूबाट लुकाए पनि मनबाट कहिल्यै लुकाउन नसक्ने र मरेर लैजाने भनेको कुशल तथा अकुशल कर्म मात्र हो”, भन्ने जीवनदर्शन उहाँले अगाल्नुभएको थियो ।

नेपाल ललितकला प्रज्ञा–प्रतिष्ठान, बागमती प्रदेश हस्तकला सङ्घ, नेपाल व्यावसायिक कलाकार सङ्घ, पाटन सङ्ग्रहालय विकास समिति, नेपाल कलापरिषद्, ज्यापू समाज ललितपुर र नेपाल सम्पदा सङ्घको संयुक्त आयोजनामा शोकसभा सम्पन्न भएको थियो । शोकसभामा स्व कुमालेको तस्वीरमा माल्यार्पण गर्नुका साथै दिवङ्गत आत्माको चिरशान्तिको कामना गर्दै मौनधारण गरिएको थियो ।

शोकसभामा ललितपुर महानगरपालिकाकी उपप्रमुख मञ्जली शाक्य आस्था, नेपाल ललितकला प्रज्ञा–प्रतिष्ठानकी कुलपति एरिना ताम्राकार, कमर्शियल आर्टिस्ट एशोसिएसन नेपालका अध्यक्ष प्रेम श्रेष्ठ, पाटन सङ्ग्रहालयका कार्यकारी निर्देशक रमेशराज पौडेल, नेपाल सम्पदा सङ्घका अध्यक्ष धर्मराज शाक्य, ज्यापू समाज ललितपुरका अध्यक्ष सन्तमान महर्जन तथा स्व कुमालेका निकट सहयोगी एवं साइला छोरा मूर्तिकार राकेश अवालेले मन्तव्य व्यक्त गर्नुभएको थियो ।    उहाँहरूले वरिष्ठ मूर्तिकार कुमालेले नेपाली परम्परागत कला र धातु मूर्तिकलामा पु¥याउनुभएको अतुलनीय योगदानको स्मरण गर्नुभयो ।

कार्यक्रममा स्व कुमालेका छोरा राजेश अवाले तथा छोरीहरू पुनमाया र शोभासहित परिवारका सदस्य, बागमती प्रदेश हस्तकला सङ्घका अध्यक्ष नवीन शाक्य, ललितकलामा कार्यरत विभिन्न व्यक्तित्व, कलाप्रेमी तथा अन्य प्रतिष्ठित व्यक्तिहरूको उपस्थिति रहेको थियो । कार्यक्रममा लोककवि जकःमिले कुमालेको योगदानबारे नेपाल भाषामा कविता प्रस्तुत गर्नुभएको थियो ।
 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

न्यूज अभियान डट कमको एन्ड्रोइड एपका लागि यहाँ क्लिक गर्नुहोस् । हरेक खबर विशेष खबरका लागि अफिसियल फेसबुक र ट्वीटर मार्फत जोडिनुहोस् ।


न्यूज अभियान TV - ग्यालेरी

View All
newsabhiyan
newsabhiyan
newsabhiyan
newsabhiyan
newsabhiyan
newsabhiyan
newsabhiyan
newsabhiyan
newsabhiyan
newsabhiyan