नयाँ नोट वितरणका लागि राष्ट्र बैंकद्वारा ज्येष्ठ नागरिक र अपाङ्गतामैत्री छुट्टै काउन्टर, डिजिटल भुक्तानी माध्यम प्रयोग गर्न आग्रह
वीरगंज २६ असोज । बडा दशैंलाई लक्षित गर्दै नेपाल राष्ट्र बैंक, वीरगंजले सर्वसाधारणका लागि नयाँ नोट वितरण सुरु गरेको छ । दशैंमा दक्षिणाका रूपमा नयाँ नोट प्रयोग गर्ने परम्परालाई ध्यानमा राख्दै बैंकले प्रतिव्यक्ति १८ हजार ५०० रुपैयाँका दरले नयाँ नोट साट्ने व्यवस्था मिलाएको हो ।
नयाँ नोट साट्न आउने सेवाग्राहीको चापलाई मध्यनजर गर्दै बैंकले ज्येष्ठ नागरिक तथा अपाङ्गता भएका व्यक्तिहरूलाई सहज सेवा प्रदान गर्न नियमित काउन्टरका अतिरिक्त छुट्टै तीनवटा काउन्टर सञ्चालनमा ल्याएको छ ।
नेपाल राष्ट्र बैंक, वीरगंजका प्रमुख सञ्जीव झाले सेवाग्राहीलाई सहज, व्यवस्थित र छिटो सेवा उपलब्ध गराउने उद्देश्यले विशेष काउन्टरको व्यवस्था गरिएको जानकारी दिनुभयो । उहाँका अनुसार नयाँ नोट साट्न आउने सेवाग्राहीको चाप बढ्दै गएमा आवश्यकता अनुसार थप काउन्टर सञ्चालन गरिनेछ ।
दशैंमा टीका लगाउँदा दक्षिणाका रूपमा नयाँ नोट दिने प्रचलन रहेकाले हरेक वर्ष यस समयमा नयाँ नोट साट्ने सर्वसाधारणको चाप बढ्ने गर्दछ । यसलाई ध्यानमा राख्दै बैंकले सेवाग्राहीको सुविधालाई प्राथमिकतामा राखेर नोट वितरण प्रक्रियालाई थप व्यवस्थित बनाउने प्रयास गरेको छ ।
यसैबीच, दशैंका अवसरमा हुने किनमेल, यात्रा तथा दैनिक कारोबारलाई सुरक्षित, सहज र पारदर्शी बनाउन सम्भव भएसम्म डिजिटल भुक्तानीका माध्यम प्रयोग गर्न सर्वसाधारणलाई प्रोत्साहित गरिएको छ ।
क्यूआर कोड, मोबाइल बैंकिङ तथा अन्य सुरक्षित डिजिटल भुक्तानी प्रणालीको प्रयोगले कारोबारलाई छिटो र सहज बनाउनुका साथै नगद बोक्नुपर्ने आवश्यकता कम गर्न सहयोग पु¥याउँछ ।
विशेषगरी दशैंका बेला बजारमा हुने किनमेल तथा आर्थिक कारोबारमा डिजिटल भुक्तानीको प्रयोग बढाउन सके नगद व्यवस्थापनसमेत सहज हुने अपेक्षा गरिएको छ ।
त्यसैगरी, नगद प्रयोग गर्दा आवश्यकताअनुसार मात्र रकम बोक्न, नगद तथा व्यक्तिगत सामान सुरक्षित राख्न र कारोबारका क्रममा रकम राम्ररी जाँच गर्न सुझाव दिइएको छ ।
डिजिटल भुक्तानी गर्दा आफ्नो गोप्य पिन, ओटीपी तथा पासवर्ड अरूलाई नदिन र कारोबार पूरा गर्नुअघि भुक्तानीसम्बन्धी विवरण राम्ररी पुष्टि गर्न पनि सर्वसाधारणलाई सचेत गराइएको छ ।
बडा दशैंका लागि नयाँ नोट वितरणसँगै सुरक्षित र आधुनिक भुक्तानी प्रणालीको प्रयोगमा जोड दिइएकाले यसले सर्वसाधारणलाई चाडपर्वको आर्थिक कारोबार सहज, सुरक्षित र व्यवस्थित बनाउन सहयोग पुग्ने अपेक्षा गरिएको छ ।
