Tuesday 13th of October | २०८३ असोज २७ मंगलबार

न्यूज अभियान
हरेक खबर विशेष खबर

अमेरिका–मेक्सिको–क्यानडा व्यापार सम्झौता कायमै

न्यूजअभियान | प्रकाशित मिति : २०८३ असोज २७ मंगलबार | (रासस/सिन्ह्वा)

मेक्सिको सिटी,२७ असोज : मेक्सिकोकी राष्ट्रपति क्लाउडिया शेनबामले अमेरिका, मेक्सिको र क्यानडाबीचको व्यापार सम्झौता (यूएसएमसीए) अझै वैध तथा कार्यान्वयनमा रहेको स्पष्ट पार्नुभएको छ ।

उहाँले सम्झौताको नियमित समीक्षा भइरहेको भए पनि त्यसलाई अन्त्य गर्ने वा खारेज गर्ने प्रक्रिया सुरु भएको अर्थमा बुझ्न नहुने बताउनुभएको छ ।

अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले उक्त सम्झौता खारेज गर्न वा त्यसको स्थानमा नयाँ सम्झौता ल्याउन सकिने संकेत दिँदै आएका बेला शेनबामको यो भनाइ सार्वजनिक भएको हो ।

शेनबामका अनुसार यूएसएमसीएको व्यवस्थाअनुसार सम्झौता लागू भएको छ वर्षपछि यसको कार्यान्वयन, प्रभावकारिता तथा आवश्यक सुधारका विषयमा समीक्षा गरिन्छ ।

उक्त प्रक्रियाले सम्झौतालाई थप १६ वर्षका लागि विस्तार गर्न तीनै देश सहमत छन् वा छैनन् भन्ने विषयको समेत टुंगो लगाउनेछ । मेक्सिको र क्यानडाले सम्झौतालाई थप १६ वर्षका लागि विस्तार गर्न प्रस्ताव गरेका छन् भने अमेरिकाले आगामी १० वर्षसम्मको संरचना कायम राख्दै प्रत्येक वर्ष समीक्षा गर्ने प्रस्ताव अघि सारेको छ ।

यस विषयमा तीनै देशबीच छलफल जारी रहे पनि हालसम्म अन्तिम सहमति जुट्न सकेको छैन ।

मेक्सिकोका लागि यस समीक्षाको प्रमुख प्राथमिकता अमेरिकामा निर्यात हुने आफ्ना सवारीसाधन, स्टिल र आल्मुनियममा लगाइएका भन्सार शुल्क घटाउनुका साथै समीक्षा अवधिमा थप नयाँ शुल्क लगाउनबाट रोक्नु रहेको राष्ट्रपति शेनबामले बताउनुभएको छ ।

अमेरिकाले सम्झौतालाई स्वतः विस्तार नगर्ने निर्णय गरेपछि गत जुलाई १ देखि समीक्षा प्रक्रिया सुरु भएको हो। यस प्रक्रियाले उत्तर अमेरिकी क्षेत्रको व्यापार सम्बन्ध, औद्योगिक उत्पादन तथा तीनै देशबीचको आर्थिक सहकार्यको आगामी दिशालाई प्रभाव पार्न सक्नेछ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

न्यूज अभियान डट कमको एन्ड्रोइड एपका लागि यहाँ क्लिक गर्नुहोस् । हरेक खबर विशेष खबरका लागि अफिसियल फेसबुक र ट्वीटर मार्फत जोडिनुहोस् ।


न्यूज अभियान TV - ग्यालेरी

View All
newsabhiyan
newsabhiyan
newsabhiyan
newsabhiyan
newsabhiyan
newsabhiyan
newsabhiyan
newsabhiyan
newsabhiyan
newsabhiyan