Monday 12th of October | २०८३ असोज २६ सोमबार

न्यूज अभियान
हरेक खबर विशेष खबर

अमेरिकी प्रस्तावबारे समीक्षा गर्दै इरान, जवाफ दिने तयारी

न्यूजअभियान | प्रकाशित मिति : २०८३ असोज २६ सोमबार | (रासस/सिन्ह्वा)

इरानले आफ्नो अडानको जवाफमा अमेरिकाले अघि सारेका पछिल्ला बुँदाको समीक्षा गरिरहेको जनाएको छ । समीक्षा पूरा भएपछि मध्यस्थकर्तामार्फत आफ्नो धारणा सार्वजनिक गरिने इरानी विदेश मन्त्रालयका प्रवक्ता इस्माइल बाघाईले सोमबार बताउनुभएको छ ।

    तेहरानमा आयोजित साप्ताहिक पत्रकार सम्मेलनमा बाघाईले मध्यस्थकर्तामार्फत इरानलाई प्राप्त अमेरिकी जवाफबारे जानकारी दिनुभएको थियो । उक्त जवाफ इरानको ‘सातदिने योजना’सँग सम्बन्धित रहेको उहाँले बताउनुभयो । सो योजनाले इरानका ‘वैधानिक अधिकार’ पुनःस्थापित गर्नुपर्ने माग गरेको उहाँको भनाइ थियो ।

    इरानले संयुक्त राष्ट्रसङ्घको महासभाको ८१औँ सत्रका क्रममा न्युयोर्कमा मध्यस्थकर्तामार्फत अमेरिकासमक्ष शत्रुतापूर्ण गतिविधि अन्त्य गर्ने र होर्मुज जलसन्धि पुनः खोल्ने प्रस्ताव प्रस्तुत गरेको थियो । उक्त प्रस्तावलाई पछि ‘सातदिने योजना’का रूपमा चिनिएको हो ।

    बाघाईले होर्मुज जलसन्धि पुनः खोल्न इरानले केही सर्त अघि सारेको बताउनुभयो । ती सर्तमा अमेरिकी नौसैनिक नाकाबन्दी हटाउनुपर्ने, सबै मोर्चामा युद्ध अन्त्य गर्नुपर्ने र रोक्का गरिएका इरानी सम्पत्ति फुकुवा गर्नुपर्ने विषय समावेश छन् । उहाँका अनुसार यी सर्त जुन महिनामा तेहरान र वासिङ्टनबीच हस्ताक्षर भएको शान्तिसम्बन्धी समझदारीपत्र (एमओयू)मा पनि उल्लेख गरिएका थिए ।

    इरानले आफ्ना सर्तमा कुनै परिवर्तन नगरेको र राष्ट्रिय अधिकारका विषयमा लचकता नअपनाउने बाघाईले स्पष्ट पार्नुभयो । अमेरिकाले यसअघि नै आफ्ना माग अघि सारेको र इरानको आणविक कार्यक्रम नै आफ्नो मुख्य चासोको विषय रहेको बताउँदै आएको पनि उहाँले उल्लेख गर्नुभयो ।

    यसैबीच, इरानको सर्वोच्च राष्ट्रिय सुरक्षा परिषद्का सचिव मोहसेन रेजाईले आइतबार अमेरिकाले होर्मुज जलसन्धि पुनः खोल्नेसम्बन्धी इरानका सात सर्तमध्ये केही स्वीकार गरेको बताउनुभएको थियो । यद्यपि, इरानका अन्य सर्तबारे अझै अनिश्चितता कायम रहेको उहाँको भनाइ थियो ।

    यसअघि फेब्रुअरी २८मा इजरायल र अमेरिकाले तेहरानसहित इरानका विभिन्न सहरमा संयुक्त आक्रमण गरेका थिए । त्यसको जवाफमा इरानले यस क्षेत्रका इजरायली तथा अमेरिकी सैन्य आधार र सम्पत्तिलाई लक्षित गर्दै क्षेप्यास्त्र तथा ड्रोन आक्रमण गरेको थियो । साथै, उसले होर्मुज जलसन्धिमाथिको नियन्त्रण थप कडा बनाएको थियो ।

    समाचारमा उल्लेख भएअनुसार, अप्रिल ८ मा युद्धरत पक्षबीच युद्धविराम भएको थियो । त्यसपछि जुन १८ मा इरान र अमेरिकाले यस क्षेत्रमा जारी युद्ध सबै मोर्चामा अन्त्य गर्ने विषयमा समझदारीपत्रमा हस्ताक्षर गरेका थिए ।

    उक्त समझदारीअनुसार इरानको आणविक कार्यक्रम र प्रतिबन्ध हटाउने विषयमा अन्तिम सम्झौतामा पुग्न दुवै देशले ६० दिनभित्र अर्थात् अगस्ट १७ सम्म वार्ता गर्ने तय गरेका थिए । तर, बढ्दो तनावका कारण वार्तामा अपेक्षित प्रगति हुन सकेन ।
 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

न्यूज अभियान डट कमको एन्ड्रोइड एपका लागि यहाँ क्लिक गर्नुहोस् । हरेक खबर विशेष खबरका लागि अफिसियल फेसबुक र ट्वीटर मार्फत जोडिनुहोस् ।


न्यूज अभियान TV - ग्यालेरी

View All
newsabhiyan
newsabhiyan
newsabhiyan
newsabhiyan
newsabhiyan
newsabhiyan
newsabhiyan
newsabhiyan
newsabhiyan
newsabhiyan