जापानिज भिक्षुको ऐतिहासिक घर
मुस्ताङ, २८ असोजः मार्फा गाउँ धार्मिक तथा सांस्कृतिक एवं परम्परागत संस्कृतिले प्रख्यात छ । मुस्ताङको घरपझोङ गाउँपालिका–२ ढुङ्गा र माटोले बनेका सदियौँ वर्ष पुराना एकआपसमा गुजमुच्च जोडिएको प्राचीनशैलीका घर र त्यहाँको ढुङ्गा बिच्छ्याइएका साँघुरो गल्लीको आकर्षकले मुस्ताङ भ्रमण गर्ने जो–कोही पर्यटक मोहित नहुने कुरै भएन ।
मार्फाको यही साँघुरो गल्लीभित्रको भिरालो पाखोसँगै जोडिएको प्राचीन शैलीको दुईतले घर छ, जुन अहिले पनि विदेशी पर्यटकका लागि निकै आकर्षक केन्द्र बनेको छ ।
म्याग्दीको बेनी हुँदा मुस्ताङ आएका पर्यटकले मार्फाको पहिलो गेट कटेपछि १०० मिटरजतिको दूरीमा उक्त घर पुगिन्छ । जुन घरमा बौद्धधर्मका अध्यता तथा अन्वेषक जापानिज भिक्षु इकाई कावागुची तीन महिनासम्म बसेका थिए ।
सन् १८९९ मा जापानिज भिक्षु इकाइ कावागुची भारत हुँदै बौद्ध धर्मको अध्ययन तथा अन्वेषणका लागि तिब्बत जाने क्रममा नेपाल प्रवेश गरेका थिए । बौद्ध धर्मका अध्यतासमेत रहेको जापानिज भिक्षु तिब्बती भाषा र लिपिका लागि भारत हुँदै नेपाल पसेका थिए । झन्डै १२६ वर्ष पहिले जापानिज भिक्षु कावागुची बौद्ध दर्शनका लागि तिब्बती भाषा र लिपिको ज्ञान आर्जन गर्न जापानबाट भारतको कोलकात्ता पुगेका थिए ।
त्यहाँ केही समय बसेपछि भिक्षु कावागुची दार्जलिङ पुगे । भारतको दार्जलिङमा तिब्बती भाषा अध्ययन गर्दै बसेका भिक्षु कावागुची त्यहाँ एक वर्ष बसेपछि तिब्बत जाने क्रममा नेपाल पसेको मार्फास्थित सम्तेन छयोलिङ गुम्बाका लामा नीरज लालचन बताउनु हुन्छ । मुस्ताङको मार्फामा रहेको इकाइ कावागुची बस्नुभएको उक्त घर लामा लालचन परिवारकै स्वामित्वमा छ । तत्कालीन राणा प्रधानमन्त्री जुद्ध शमशेरको पालामा जापानिज बौद्ध भिक्षु कावागुची भारतबाट नेपाल प्रवेश गरेका थिए ।
तत्कालीन राणा सरकारको समन्वयमा सरकारी कागजपत्र मिलाएर विदेशी भिसा लिएर भिक्षु इकाइ कावागुची नेपाल प्रवेश गर्नुभएको गुम्बाका लामा निरज लालचनले उल्लेख गर्नुभयो ।
बौद्ध धर्मका अध्ययता तथा अन्वेषक भिक्षु कावागुची त्यससमय पैदल हिँडेर तिब्बत जाने क्रममा जोमसोम हुँदै उपल्लो मुस्ताङ पुग्नुभयो ।
हिउँदयामको समय थियो । हिमपात र अत्यधिक चिसो याममा उपल्लो मुस्ताङ पुगेका जापानिज भिक्षुको भेट मुस्ताङको मार्फा गाउँका अधम नारायण लालचन (सुब्बासँग) भेट भयो ।
भिक्षु र अधम नारायणबीच केही कुराकानी भयो । मार्फाका स्थानीय अधम नारायण त्यसबेला तिब्बतको व्यापार गर्ने गर्थे । यसैले उहाँलाई तिब्बत यात्राबारे धेरै कुरा थाहा थियो । उपल्लो मुस्ताङमा भेट भएका जापानिज भिक्षुसँगको कुराकानीकाबारेमा अधम नारायणले धेरै कुरा जानकारी गराए ।
भिक्षुको तिब्बत यात्रा गर्ने योजना सुनिसकेपछि अधम नारायणले हिउँदयामको मौसम भएकाले तत्काल तिब्बत यात्रा गर्न कठिनाइ र जोखिम हुने कुरा सुनाउनुभयो । अधमले तत्काल तिब्बत नजान र मौसम अनुकूल भएपछि मात्रै जान भिक्षु कावागुचीलाई सुझाउनुभयो ।
अधम नारायणले हिउँदयाममा हिमपात र चिसोको जोखिम हुने भएकाले तीन महिना रोकिन अनुरोध गर्नुभयो । त्यसबेला अधमले भनेका थिए, “मार्फामा मेरो घर छ, तपाई त्यही बस्नुहोस्, गर्मी लागेपछि मात्रै तिब्बत जानुहोला ।”
अधमका कुरा सुुनिसकेपछि जापानिज भिक्षु कावागुचीले आफ्नो यात्रा त्यही रोकेर अधम नारायणसँगै मार्फा फर्किए । यसरी फर्किएका भिक्षु अधम नारायणको घरमा तीन महिनासम्म तिब्बतीयन भाषाको पुस्तक पढ्ने र ध्यान साधनागरी बसेका थिए ।
मार्फामा इकाइ कावागुची बसेको घरका धनी अधम नारायणका पाँचौँ पुस्ताका हुनुहुन्छ मार्फास्थित सम्तेन छयोलिङ गुम्बाका लामा निरज लालचन ।
अधम नारायणका पाँचाँै पुस्ताका सन्तति रहेका लामाले जापानिज भिक्षु इकाइ कागागुची तिब्बत जाने क्रममा आफ्नो घरमा तीन महिना बसेको बताउनुभयो । त्यससमय मार्फामा विदेशी आउँदा गाउँलेहरुले त्यति राम्रो मान्दैनथे । यसै कारण भिक्षुलाई पनि गाउँलेहरुले नराम्रो दृष्टिकोणले हेर्ने गर्थे । गाउँलेले गलत रुपले हेर्न थालेपछि कावागुची र अधम नारायणले गुम्बामा कसम खाएर मित लगाएको उहाँको भनाइ छ ।
अधम नारायणको घरमा रहँदा इकाइ कावागुचीले आफँै पकाएर खाने, ध्यानसाधना गर्ने र अधम नारायणको घरमा रहेको तिब्बती पुस्तक पढ्ने आदि गर्ने गरेको लामा लालचनको भनाइ छ ।
अधम नारायणको घरमा तीन महिना बिताएका जापानिज भिक्षु इकाइ कावागुची मुस्ताङको साङ्ताको बाटो हुँदै डोल्पाबाट तिब्बत प्रस्थान गरेका थिए । तर, तिब्बत पुगेर फर्किंदा भिक्षु कावागुची मुस्ताङ नआइ अन्य मार्ग हुँदै बाहिरिएको लाम लालचनले बताउँनुभयो । मार्फामा जापानिज भिक्षु बसेको घर विषेशगरी जापानिज पर्यटकका लागि निकै महत्वपूर्ण गन्तव्य बनेको छ ।
मुस्ताङ भ्रमणमा आएका जापानिज पर्यटकले मार्फामा इकाइ कावागुची बसेको घर अवलोकन गरी फर्किने गरेको लामा नीरज लालचनको भनाइ छ ।
यसैगरी, उक्त घरको बाहिर कावागुचीको मुस्ताङ भ्रमण र घरकाबारेमा पर्यटकलाई जानकारी दिन सूचना बोर्ड राखिएको छ ।

